+
+
विचार :

विश्व मञ्चमा पूँजीवादको जुत्ता, समाजवादको भाषण

अर्को विश्व सम्भव छ भन्ने अभियन्ताहरूको यो मञ्चको नेपाली संस्करण पूँजीवादको जुत्ता लगाएर समाजवादको भाषण छाँट्ने पाखण्डीहरूबाट बिटुलिएको छ भन्न कुनै अप्ठेरो मान्नुपर्दैन ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८० फागुन ११ गते ८:३४

हाम्रो जीवन असुरक्षा र त्रासले उकुसमुकुस भएको छ । यस्तो किन भइरहेको छ ? धेरैलाई थाहा छैन, थाहा पाउने र केही गर्न सक्नेहरू विभिन्न स्वार्थमा विभाजित छन्, केही थाहा पाउनेहरू उदास र व्यग्र छन् ।

मान्छे मात्रको विकास केन्द्रित उत्ताउलो व्यवहारले बितेका कैयौं दशकदेखि सम्पूर्ण प्रकृतिको लय खलबलिंदै आएको छ । बितेका केही दशकमा यो क्रम झनै तीव्र गतिमा बढिरहेको छ ।

श्रम विनाको मुनाफा कमाउने दलाल र तिनैको खटनमा स्थापित हुँदै गएको विश्व व्यवस्थाको नेतृत्व प्रकृति र श्रमिकको दोहन गर्न विश्वव्यापी रूपमै उन्मादी प्रतिस्पर्धा गरिरहेको छ । उपनिवेशी औद्योगिक विकासको ढाँचाले यस पृथ्वीका सबैखाले विविधता तहसनहस गरिरहेको छ । सबैखाले स्रोतमाथि मुठ्ठीभरको एकाधिकारले सबै तहमा विभेद र थिचोमिचो बढाइरहेको छ ।

विश्वभरका सीमान्तकृत श्रमजीवी समुदायहरू रातोदिन जीवनमरणको कठिन संघर्ष गर्न बाध्य छन् । मानिस आफैंले विकास गरेको प्रविधिको उन्नति र भइरहेको भूमण्डलीकरणसँगै यस्तो उत्ताउलो विकास विषवृक्षको रूप लिएर सबैतिर झाँगिंदै गएको छ । यसको जरामा पानी हाल्न सबैखाले भुईंफुट्टा ठगहरू लामबद्ध छन् ।

अपवाद बाहेक; बजार, राज्य र नागरिक समाजको अगुवा दस्ता पनि यिनैका पछि गोलचक्कर लगाइरहेको छ । फलस्वरूप सीमान्तीकृत वर्ग, लिङ्ग, समुदाय र भूगोल आन्तरिक तथा बाह्य उपनिवेशी थिचोमिचोबाट आक्रान्त छन् । यसले सबैतिर संस्थागत हिंसा बढिरहेको छ ।

यी कुराको प्रतिरोध विगतमा विल्कुलै नभएको भने होइन । यस्तो प्रतिरोध औपनिवेशिक कालदेखि विश्वस्तरमा त्यसभन्दा अघिपछि र स–साना समूह र व्यक्तिगत स्तरमा सबैतिर र सधंै भइरहेका छन् । उदाहरणका लागि, ६० को दशकमा भएको वातावरणीय आन्दोलनले उठाएका सवालहरूलाई संयुक्त राष्ट्रसंघको हस्तक्षेपसँगै विकास र वातावरण सँगसँगै भन्ने नारा बन्यो । यसलाई उपनिवेशी साम्राज्यले विश्व आर्थिक मञ्च बनाएर अपहरण गरियो । यो कुरालाई नजिकबाट हेरेका सामाजिक तथा वातावरणीय अभियन्ताहरूले २००१ मा फेरि सबैखाले वातावरणीय र सामाजिक विभेद, अन्याय, उत्पीडन भन्दा पर अर्को विश्व सम्भव छ भन्दै सुरु गरिएको सामाजिक तथा वातावरणीय आन्दोलनको यो मञ्च दोस्रो संस्करण हो ।

यो सुरु भएको २४ वर्षमा यसको १६औं संस्करणको मञ्चन फागुन ३ देखि काठमाडौंको केन्द्र भृकुटीमण्डपमा सुरु भएको विश्व सामाजिक मञ्च ५ दिनसम्म चल्यो । यसमा विश्वका ६ महादेशका ९८ राष्ट्र संलग्न थिए भने यो मञ्चमा १३ वटा विषयगत क्षेत्रमा छलफल भएको थियो ।

अपहरणमा परेको वातावरणीय आन्दोलन जस्तै यो मञ्च पनि विकासेको अपहरणमा परेको छ । यसका बारेमा बेला–बेलामा प्रश्नहरू समेत उठ्ने गरेका छन् । यो मञ्चको नेपाल संस्करणमा भने अर्को विश्व सम्भव छ भन्ने नारालाई नै गिज्याउने गरी भद्दा भयो भन्दा अतिशयोक्ति हुँदैन ।

अहिलेकै तरिकामा कुनै पनि सार्वजनिक बहसको आयोजकले यस्तो बहस कस्तो हुन्छ भन्ने कुराको सीमा र ढाँचा बनाउँछ । यो ढाँचाले नै आम मानिसको यसलाई हेर्ने सामाजिक मनोविज्ञान प्रभावित पार्छ । यस अर्थमा यो सामाजिक अभियन्त्रणको महत्वपूर्ण पक्ष हो । जानेर वा नजानेर यसले विचारको वर्गीय पक्षधरतालाई प्रभावित पार्छ ।

अवसरवादी र पाखण्डीहरूको जमात यस्तो मञ्च हत्याउन हरसम्भव हत्कण्डा अपनाउँछन् । किनकि यो नै पाखण्डपनको मूल चरित्र हो । बाहिरबाट हेर्दा ठाउँ खाली भएपछि जो–कसैले पनि ठाउँ लिन्छ भन्ने धेरै हुन्छन् । तर भित्री मनसायको चिरफार ग¥यो भने यसलाई हत्याएर यथास्थिति कायम गरेर खाई–पाई आएको आफ्नो वैभव जोगाउने कुत्सित मनसायबाट यो सधैं प्रेरित हुन्छ ।

एकातिर, यो कुराको भेद नपाउने असल मानिसहरू यसमा हस्तक्षेप नगरेकोमा वास्तविक कर्ताहरू प्रति उल्टै प्रश्न उठाउँछन् । तर उनीहरूले यथास्थितिवादी र अवसरवादीहरूले कसरी थुनछेक र तारबार गर्छन् भन्ने पत्तै पाउँदैनन् । अर्कोतिर यस्तै अवसरवादीको बाटो समात्नेहरू उनीहरूका सबै कुरामा अन्धभक्त ताली बजाउँछन् । यसमा यो सामाजिक मञ्च अपवाद हुन सक्दैनथ्यो, त्यसैले भएन पनि ।

यस अर्थमा, अहिलेकै विश्व व्यवस्थालाई टालटुल पारेर जोगाइराख्ने भुइँफुट्टाको वर्चस्व देखियो । यो मञ्चका अधिकांश गतिविधिमा पशुपतिको मेलामा सिद्राको व्यापार भइरहेको प्रतीत हुन्थ्यो । आयोजकमध्ये यसको नेपाली आयोजकका एक सक्रिय सदस्यले सार्वजनिक रूपमै उद्घाटन स्थलको पछाडि रहेको युएस एडको विज्ञापन स्टल र मञ्चमा विश्व बैंक परियोजनाका हर्ताकर्ताको चुरीफुरी र अहिलेकै व्यवस्थाबाट समृद्धि भित्र्याउन प्रतिबद्ध सत्ताधारी अभियन्ताहरूको यस मञ्चको उपदेशात्मक स्यालहुइयाँ कुनै संयोग मात्र थिएन ।

यो विश्व मञ्चको खिल्ली उडाउने पाखण्डपन थियो भनेबाट पनि प्रष्ट हुन्छ । यो सुरुवातदेखि नै विवादित थियो । यसको सचिवालय र संयोजक धेरै पछिसम्म अन्योलमै थियो । यसको मूल कारण यसका हर्ताकर्ता विश्व सामाजिक मञ्चको आधारभूत मर्मभन्दा पर कि त कुनै अमूक पार्टीका गैरसरकारी कारिन्दा थिए कि यही विश्व कायम गर्न नाइटाको बल लगाएका बिचौलिया ?

यो मञ्चको भद्दा चरित्र आयोजकमा मात्र सीमित थिएन मञ्चमा प्रस्तुत गरेका कतिपय कार्यक्रममा समेत प्रष्ट थियो । तिनका केही झलक हेरौं ।

पहिलो, पत्रकार सम्मेलनमा भएको पत्रकारहरूको न्यून उपस्थिति, सञ्चारमाध्यममा यसको प्राथमिकता नपर्नु आम नागरिकको अनुपस्थिति कुनै सञ्जोग मात्र थिएन, सामाजिक आन्दोलनको यो स्वरूपमा आम नागरिकको वितृष्णा थियो । सोह्रश्राद्धका पण्डितहरूको जस्तो विकासे विज्ञको दौडधुप माहोल हेर्नलायक थियो । कतिपय ठाउँमा सुन्ने भन्दा भन्ने धेरै थिए ।

मञ्चमा गजधम्म अतिथि, विकासे पण्डित र भाडामा आएका अभियन्ताहरू कसैलाई कसैको कुरा सुन्ने फुर्सद थिएन । यो विश्व व्यवस्थाको विरुद्ध भएको सामाजिक आन्दोलनको मञ्चमा अहिलेकै विश्व व्यवस्थाका पक्षपाती हर्ताकर्ताले कब्जा गरेको दृश्य पर्यटन बोर्डको सभा हलदेखि भृकुटीमण्डपभरि यत्रतत्र छरपष्ट थियो । यो सामाजिक मञ्चमा आयोजनाका हर्ताकर्ताले भित्र्याएको अर्को पाखण्ड थियोे ।

दोस्रो, यसका केही आयोजक सदस्यहरूका अनुसार, कार्यक्रममा बोल्ने अतिथिहरूको नाम अन्तिमसम्म सार्वजनिक गरिएन । नेपालका मुख्य मुद्दा भन्दा पनि व्यक्तिको प्रचारमा मञ्चको दुरुपयोग भयो । विषय विधालाई न्याय गर्न नसक्नु यो मञ्चका प्रमुख कमजोरी हुन् । साथै, यसको आयोजनाको हिसाब पारदर्शी नभएको गुनासो चर्को थियो ।

अर्को विश्व बनाउन भन्दै नेतृत्व गरेर हिंडेको जमातले यही व्यवस्थाको अति सामान्य मूल्यमान्यता समेत पालना नगर्नु पाखण्डपनको हद थियो । यो पंक्तिकारले थाहा पाएसम्म आजका मितिसम्म पनि हिसाब पारदर्शी हुनुपर्ने प्रश्न आयोजक समितिभित्रै उठिरहेको छ ।

तेस्रो, सचिवालयको गठन आफूखुसी गरेको र यसका अगुवाहरूले नियतवश नै दलित, महिला आदिवासी जनजाति र सीमान्तकृतका आवाजमा ताला लगाउन खोजेको जस्ता आवाज यो मञ्चभरि सुनिइरह्यो । कतिसम्म भने यो आवाज उठेसँगै यो मञ्च र आयोजक नेपालको ह्वाट्स एपको पहुँच नै यसका सञ्चालकले बन्द गरेर उर्दी दिन पाउने बनाइएको छ ।

चौथो, अव्यवस्थित छलफल कक्ष र यसको वितरणका समस्या एकातिर थिए भने यसको व्यवस्था गर्न खटिएका आयोजकको धम्कीपूर्ण निर्देशन र उर्दीले सहआयोजक चकित देखिन्थे । कतिपय स्थलमा कार्यक्रम जुधेर, ठाउँ नपाएर अलपत्र परेका दृश्य यत्रतत्र थिए । अरू यस्ता पाखण्डहरू समयक्रमसँगै बाहिर आउँदै जानेछन् ।

समय र सन्दर्भ फेरिएसँगै यसका पात्र, विषय र प्रक्रिया समेत फेरिंदै जान्छन् । यो सिकाइबाट थप सुझबुझ सहित नयाँ सामाजिक तथा वातावरणीय आन्दोलनको सूत्रपात हुने कुरामा भने शंका गर्नुपर्दैन किनकि यस्तो इतिहासभरि भएको छ र अब पनि हुने नै छ ।

त्यसो त यो मञ्चका सबै कुरा खराब मात्र थिए भन्ने थिएन र यस्तो हुँदैन पनि । पहिलो, आयोजकको रात–दिनको मिहिनेत र ऊर्जा गज्जब थियो । केही सदस्यहरूको यसलाई राम्रो बनाउन गरेको अनवरत प्रयास र संघर्ष मननयोग्य थियो । सँगै, सबैभन्दा भरपर्दो केही थियो भने एकआपसको आदानप्रदान, प्रदर्शनी, आपसी संवाद, साना–साना र भुईंमान्छेले राखेका विकल्पका प्रस्तावहरू, एकआपसको हातेमालो, सहभागीका आपसी सञ्जाल र साना उद्यमीहरूले व्यवस्थित खानपान उत्कृष्ट गरेका थिए ।

दोस्रो, यो मञ्चको उपयोग गर्दै विकल्पका प्रस्ताव, अधिकारका आवाज र आन्दोलनमा ऐक्यबद्धताका झलकहरू प्रशस्तै देखिए र यी उत्साहबद्र्धक थिए । यी झलकहरू विकल्पको खोजी गर्ने क्रान्तिकारी, अभियन्ता र अधिकारका लागि लडिरहेका आन्दोलनकारीहरू हतास छैनन् र बढ्दो कोलाहलका बीच पनि यो विश्वभन्दा पर अर्को विश्व बनाउने आश मारेका छैनन् भन्ने कुराको एउटा बलियो प्रमाण हो ।

समग्रमा, अर्को विश्व सम्भव छ भन्ने अभियन्ताहरूको यो मञ्चको नेपाली संस्करण पूँजीवादको जुत्ता लगाएर समाजवादको भाषण छाँट्ने पाखण्डीहरूबाट बिटुलिएको छ भन्न कुनै अप्ठेरो मान्नुपर्दैन । नेपालमा आयोजना भएको यो मञ्च यसका केही हर्ताकर्ता आयोजकहरूकै कारण बदनाम मात्र भएको छैन हामी नेपाली सबैलाई लज्जाबोध गर्न बाध्य बनाएको छ । यसलाई समय छँदै चोख्याएर फेरि भरोसा दिलाउन र यसप्रति भरोसा हुनेहरूले यी सबै कुरामा प्रष्ट हुँदै विचार र संगठन आवधिक गर्न नसक्ने हो भने यो नै सामाजिक मञ्चको अन्तिम संस्करण हुनेछ । र सायद, यो हुनेछ । यसको अन्त्येष्टिसँगै नेपालले असफलताको पानामा अर्को एक आयाम थपेर बोक्दै हिंड्न बाध्य हुनेछ ।

समय र सन्दर्भ फेरिएसँगै यसका पात्र, विषय र प्रक्रिया समेत फेरिंदै जान्छन् । यो सिकाइबाट थप सुझबुझ सहित नयाँ सामाजिक तथा वातावरणीय आन्दोलनको सूत्रपात हुने कुरामा भने शंका गर्नुपर्दैन किनकि यस्तो इतिहासभरि भएको छ र अब पनि हुने नै छ । किनकि अहिलेको विश्व व्यवस्था नफेरी मानव विश्व समुदायलाई धरै छैन ।

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?