+
+

काठमाडौं महानगरभित्र ५२ अस्पतालमा ३७५ निःशुल्क शय्या तयार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १८:१०
फाइल तस्वीर

११ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ५२ अस्पताल लक्षित वर्गको निःशुल्क उपचार गर्न तयार भएका छन् । महानगरले निःशुल्क उपचारका लागि तयार पारेको प्रणालीमा ती अस्पताल आबद्ध भएका छन् ।

ती अस्पतालमा ३ हजार ७ सय ४४ शय्या छन् । महानगरका अनुसार यसको १० प्रतिशत अर्थात् ३ सय ७५ शय्या  निःशुल्क उपचारका लागि उपलब्ध हुने भएको हो । अस्पताललाई अनलाइन प्रणालीमा विवरण अद्यावधिक गराउन महानगरले युजर नेम र पासवर्ड दिएको छ ।

प्रणालीमा देखिन्छ बिरामी र बेडको अवस्था

महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ, बेड संख्या कति हो, कति बेडमा बिरामीको उपचार भइरहेको छ, कति खाली छन् लगायत विवरण देखाउँछ ।

श्रेष्ठले यस्तो प्रणाली क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौं मोडेल अस्पतालमा परीक्षण भइसकेको बताए ।

‘यसमा कुन रोगको कति जनाले उपचार गराए, कति दिन गराए, को कहिले भर्ना भयो, कहिले डिस्चार्ज भयो, सबै विवरण उपलब्ध हुनेछन्,’ उनले भने ।

प्रणाली चलाउन युजर नेम र पासवर्ड चाहिन्छ । महानगरको स्वास्थ्य विभागले २५–२९ माघसम्म महानगरपालिका क्षेत्रभित्रका सबै निजी अस्पताल प्रमुख र मेडिकल रेकर्डरलाई अभिमुखीकरण प्रदान गरेर आबद्ध भएका अस्पताललाई युजर नेम र पासवर्ड दिएको हो ।

यसरी आबद्ध अस्पतालमध्ये सबैभन्दा धेरै शैय्या हुनेमा काठमाडौं मेडिकल कलेज सिनामंगल र मनमोहन ममोरियल मेडिकल कलेज स्वयम्भू छन् । यी दुई अस्पतालमा ३/३ सय शय्या छन् । सबैभन्दा कम १५ शय्याका अस्पताल पनि छन् । यस्ता अस्पताल संख्या सात छ ।

‘नागरिकले राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले दिएको स्वास्थ्य सम्बन्धी हक प्रत्याभूति गराउन महानगरपालिकाले काम गरिरहेको हो,’ स्वास्थ्य विभाग प्रमुख सजिना महर्जन भन्छिन्, ‘अस्पतालहरूले यसको मर्मअनुसारको सेवा प्रदान गर्नुहुने छ भन्नेमा महानगरले विश्वास लिएको छ ।’

लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे) को निःशुल्क उपचारका लागि महानगरले ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।

यसलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । कार्यविधिले तोकेबमोजिम १ फागुनदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पताललाई पत्राचार गरेको छ ।

लक्षित वर्गले कसरी पाउँछन सेवा ?

यो प्रणाली जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले संयोजन गरिरहेका छन् ।  श्रेष्ठका अनुसार लक्षित वर्गले तीन विधिमध्ये कुनै एकबाट सेवाका लागि जान सक्छन् ।

एक विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ ।

दुई, विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहित कागजपत्र लिएर सेवा लिन सक्छन् ।

तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन् । प्रमाण प्रमाणित हुन सके एकाइले सिफारिस गर्ने छ ।

बेवारिसेका हकमा भने नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसका आधारमा निःशुल्क उपचार प्रदान गरिने महानगरले जनाएको छ ।

जेठदेखि निःशुल्क उपचार अभियान

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ को स्वास्थ्य संस्था नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई दिएको छ ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शैय्या छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

काठमाडौं महानगरपालिकाले ६ जेठ २०८० देखि सार्वजनिक सूचना जारी गरेको थियो । १९ जेठमा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालयबाट गर्ने गराउने निर्णय गरेको थियो ।

२१ जेठमा मन्त्रालयले स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता बिरामीको निःशुल्क उपचार हुने व्यवस्था मिलाउन र त्यसको अनिवार्य अनुगमन गर्न भनेको थियो ।

उक्त निर्णयपछि महानगरपालिकाको स्वास्थ्य विभागले अस्पतालहरूको अनुगमन गर्न थालेको थियो । अहिले महानगरपालिकाले १० प्रतिशत निःशुल्क उपचार व्यवस्थाका लागि काठमाडौंले कार्यान्वयन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?