+
+

धर्म र पुष्प दिल्ली म्याराथन दौडने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १९:०४

११ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौड्ने भएका छन् । फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । दुवैलाई पाटन रनिङ क्लबका अध्यक्ष एवं पूर्व खेलाडी देव महर्जनलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

धर्मले एक महिनाको अवधिमा दौड्न लागेको यो तेश्रो अन्तर्राष्ट्रिय म्याराथन हो । उनले जनवरी २१ तारिखमा टाटा मुम्बइ म्याराथन तथा जनवरी २८ तारिखमा सिक्किममा भएको म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । दुवै म्याराथनमा उनले स्वर्ण जितेका थिए ।

धर्मले मुम्बइमा फुल म्याराथन (४२.१९५ किलोमिटर) तथा सिक्किममा १० किलोमिटर दूरीमा स्वर्ण जितेका हुन् । धर्मसंग विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन, टोकियो म्यारथानलगायत विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाएको अनुभव छ ।

धर्म जापानको किताकामीमा सन् २०१४ मा भएको १८ औं एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेता पनि हुन् । पुष्पले थाइल्यान्ड म्याराथन र जापानको ओसाकामा भएको १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

बिदाइ कार्यक्रममा धर्मले न्यु दिल्ली म्याराथनमा स्वर्ण जित्दै एक महिनाको अवधिमा अन्तर्राष्ट्रिय दौडमा स्वर्णको ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?