 
																			१२ फागुन, महेन्द्रनगर (कञ्चनपुर) । कराते खेलाडी रिया पुजाराका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन्, तर उनी भने घरमै छिन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी रियाले स्थानीय डायमण्ड पब्लिक एकेडेमीबाट ‘प्लस टू’ उत्तीर्ण गरिन् । तर ३ कक्षादेखि सो विद्यालयमा पढेकी उनले शुल्क बुझाउन नसक्दा विद्यालयले समयमा प्रमाणपत्र दिएन ।
शैक्षिक प्रमाणपत्रका लागि उनी पटक–पटक विद्यालय धाइन् तर धेरै शुल्क रकम तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन ।
केही दिनअघि करातेका पूर्वप्रशिक्षक मकेन्द्रबहादुर सिंहले रियाको हालसम्मको शुल्क ३ लाख ६१ हजारमध्ये २ लाख ५० हजार रुपैयाँ तिरिदिएपछि प्रमाणपत्र उनको हातमा परेको छ । करातेको अनुशासित र सङ्घर्षशील खेलाडी रियाको विद्यालयको शुल्क तिर्ने समस्या टरेपछि अब भने स्नातक तह कसरी पढ्ने भन्ने समस्या छ ।
उच्च शिक्षा हासिल गर्न उनी आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्ता उनलाई छ ।
अमेरिका बस्दै आएका पूर्वप्रशिक्षक सिंह फागुन पहिलो साता महेन्द्रनगरमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय सितोरियो करातेको दीक्षान्त समारोहमा भाग लिन आएका थिए ।
त्यही क्रममा रियाको सिंहसित भेट भयो । उनको आर्थिक अवस्थाका बारेमा कराते प्रशिक्षक बिमल खडायत, मदन नाथ र दीपक चन्दले कराते महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका सिंहलाई अवगत गराएपछि उनले २ लाख ५० हजार रुपैयाँ तिरिदिएका थिए । बाँकी रकम भने विद्यालयले मिनाहा गरिदिएको थियो ।
२०७४ सालदेखि कराते खेल्न थालेकी १८ वर्षीया रियाले ५० किलोग्राम तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी छन् । उनले हालसम्म ६ वटा पदक जितेकी छन् ।
हाल उनी मधेश प्रदेशको बर्दिबासमा यही फागुन १८ गतेदेखि आयोजना हुने मिथिला राष्ट्रिय कराते प्रतियोगिताको तयारीमा जुटेकी छिन् ।त्यसलगत्तै फागुन २४ गतेदेखि चितवनमा हुने प्रदेशस्तरीय कराते प्रतियोगिताका लागि उनी गड्डाचौकी डोजोमा तयारी गरिरहेकी छिन् ।
रियाका बाबु चञ्चल सिंहको डेढ वर्षअघि मृत्यु भएपछि उनको आर्थिक अवस्था नाजुग छ । उनका बुबा भारतमा सवारी चालक थिए । त्यही बापतको कमाइले चार सन्तानको जीविका चलेको थियो । ‘सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा छ’, रियाले सुनाइन् ।
डायमण्ड पब्लिक एकेडेमीमा कक्षा १२ सम्मको मात्र पठनपाठन हुन्छ । अब उनीसित माथिल्लो कक्षा पढ्न अर्को क्याम्पस भर्ना हुनुको विकल्प छैन । तर उनी भन्छिन्, ‘मसित स्नातक तह पढ्न खर्च छैन ।’
गड्डाचौकी कराते डोजोबाट कराते खेल्दै आएकी रियाले हालसम्म राष्ट्रिय प्रतियोगितामा रजत र कास्य पदक प्राप्त गरेकी छिन् । अब उनको धोको स्वर्ण पदक जित्नेछ ।
बुबा बितेपछि उनले पदक जित्न सकेकी छैनन् । घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र होइन आफ्नो खेल पनि प्रभावित हुने गरेको रिया बताउँछिन् । कराते प्रशिक्षक मदन नाथ र दीपक चन्दको सहयोगले मात्र उनले खेललाई निरन्तरता दिन सकेकी छिन् ।
‘बुबाले किनिदिएको खेल पोसाकका भरमा खेलिरहेकी छु’, रियाले भनिन्, ‘कक्षा ११ र १२ पढाइ साथीभाइहरुसँग पुस्तक मागेरै सिध्याएँ ।’
स्नातक तह पढ्नका लागि पूर्वप्रशिक्षक सिंहले सहयोग गर्ने आश्वासन दिएका छन् । ‘खेल अभ्यास र पढाइ सँगसँगै गर्न सहज हुने क्याम्पसको खोजीमा छु, अहिले नै कहाँ पढ्ने भन्नेबारे सोच्न सकेकी छैन’, रियाले भनिन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4