+
+

चीनमा किन बढिरहेको छ पुरुषले मेकअप गर्ने ट्रेण्ड ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १४:०२

महिलाहरुको मेकअप गर्ने तथा मेकओभरका बारेमा सबैलाई थाहै छ । महिला श्रृंगारको विश्व बजार पनि उल्लेखनीय नै छ ।

विश्वभरका महिलाहरुले आफूलाई सुन्दर देखाउनका लागि मेकअपका अलावा प्लास्टिक सर्जरीसम्मको उपयोग गर्ने गर्छन् । तर, एउटा देशमा अवस्था निकै धेरै बदलिंदै गरेको देखिन्छ । त्यहाँ पुरुषहरुमा मेकअप गर्ने ट्रेण्ड तीव्र रुपमा बढिरहेको छ ।

पुरुषहरु श्रृंगारपटारमा यति बिघ्न लिप्त भैरहेका छन् कि उनीहरुले महिलालाई नै पछि पारेका छन् ।

वास्तवमा महिलाहरुलाई आफूप्रति आकर्षित गर्नका लागि त्यहाँका पुरुषहरुले मेकअपको सहारा लिन थालेको बताइन्छ ।

यस्तो मेकअपबाट रोमान्टिक पार्टनर आफूतर्फ आकर्षित हुने सम्भावना बढ्ने आशाले पुरुषहरुले मेकअप गर्ने गरेको दाबी गरिएको छ ।

पुरुषहरुमा मेकअपको ट्रेण्ड अचाक्ली बढिरहेको देश अरु कुनै होइन, छिमेकी मुलुक चीन हो । समाचार अनुसार चीनमा अविवाहित पुरुषहरुले डेटिंगमा जानुभन्दा अगाडि मेकअप तथा मेकओभर गर्ने चलन बढेको छ ।

साउथ चानइना मर्निङ पोष्टमा प्रकाशित रिपोर्टमा Toutiao न्यूजलाई उधृत गर्दै लेखिएको छ कि चिनियाँ पुरुषहरुको युवापुस्ताले पछिल्लो समयमा आफ्नो अनुहार राम्रो देखाउनमा निकै ध्यान दिन थालेका छन् । त्यसैले कुनै केटीसँग डेटमा जानुअघि मेकअप गर्ने गर्छन्, उनीहरु ।

चीनमा चन्द्रमास अनुसारको नयाँ वर्षलाई ब्लाइन्ड डेटका लागि निकै उत्तम समय मानिन्छ । त्यसैले यही बेला त्यहाँ पुरुषको मेकअप गरिदिने व्यवसाय निकै चम्किएको छ ।

सिचुआन प्रान्तमा बस्ने मेकअप आर्टिस्ट जियाओदानका अनुसार परामर्श सेवाको शुल्क मात्रै २ सय युआनसम्म बढेको छ । त्यो कुनैबेला ६० युआनसम्म हुने गर्दथ्यो ।

रोचक त के भने पुरुषमा मेकअप सर्भिसको सर्वाधिक माग ग्रामीण क्षेत्रमा हुने गरेको छ । खासगरी जियांग्सी प्रान्तमा । त्यहाँ घरमा पाका मानिसहरुले घरका अविवाहित पुरुष सदस्यका लागि एक दिनमै एकभन्दा धेरै ब्लाइन्ड डेटको व्यवस्था गरिदिने गरेका छन् ।

मेकअप आर्टिस्ट जियाओदान भन्छन्- पहिलो पटक देख्दा मनमा पर्ने छापको बारेमा कसलाई पो थाहा छैन र ? आजकल अधिकांश पुरुषहरु मेकअप गर्न रुचाउँछन् । चन्द्रमास नयाँ वर्षको हप्तामा हुने लामो छुट्टीका क्रममा पुरुष मेकअपको लागि मेरो सबै समय बुक भएको थियो । मैले दैनिक कम्तिमा २ जना पुरुषलाई सेवा दिनुपर्छ ।

गुआंगडोंग प्रान्तका मेकअप आर्टिस्ट कोकोले समेत आफ्नो समयतालिका निकै व्यस्त रहेको बताउँछन् । गत महिना उनले ३६ जना पुरुषहरुको मेकअप गरिदिए । यो फेब्रुअरी महिनामा पनि उनको बुकिंग भरिएको छ ।

उनका अनुसार अहिले पुरुषहरु पनि आफ्नो रंग तथा आँखीभौंलाई लिएर सजग बन्दैछन् । कसैले कपाललाई दोहोराएर स्टाइलिस गराउन भन्छन् । मेकअप गर्दा पुरुषहरुको आत्मविश्वास बढ्ने उनी बताउँछन् ।

चीनको सरकारी तथ्यांक अनुसार सन् २०१८ मा चीनमा २४ करोड एकल व्यक्तिहरु छन् । २० देखि ४९ वर्षका एकल व्यक्तिहरुमा महिलाको तुलनामा एकल पुरुषहरुको संख्या अधिक थियो ।

चाइना तथ्यांक वर्ष पुस्तक २०२२ का अनुसार सन् २०२२ मा चीनमा बिहे गर्नेको संख्या घटेर ६८ लाख ३० हजार भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८ लाख ३ हजार कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?