+
+

नयाँ गठबन्धनमा चीनको पहिलो प्रतिक्रिया

काठमाडौँको सत्ता समीकरणमा फेरबदल हुँदा प्रायजसो शक्ति राष्ट्रहरू र त्यसमा पनि विशेष गरी छिमेकी मुलुक भारत र चीनमाथि आशंका गर्ने परम्परा छ । सत्ता समीकरणमा बारम्बार भइरहने परिवर्तनले पनि यस्ता आशंकालाई बल पुर्‍याइरहेको हुन्छ ।

दिपेश शाही दिपेश शाही
२०८० फागुन २२ गते २२:१२

२२ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा भएको आकस्मिक फेरबदललाई लिएर छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको प्रतिक्रिया दिइन् ।

नेपालमा विकसित घटनाक्रमलाई जानकारीमा लिएको भन्दै उनले अगाडि भनेकी छन्, ‘हामीले गठबन्धनका सम्बन्धित दलहरू एकताबद्ध भएर नयाँ सरकार गठनसम्बन्धी कामलाई अगाडि बढाउने र राजनीतिक स्थायित्व, आर्थिक वृद्धि तथा जनताको जीविकोपार्जनमा सुधार ल्याउने छन् भन्ने आशा लिएका छौं ।’

उनले चीन छिमेकी मित्र राष्ट्र र सहयोगी साझेदारका रूपमा नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिँदै नयाँ गठबन्धन सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गर्न तत्पर रहेको समेत बताएकी छन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ।

सोमबार नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग मिलेर सरकार पुनर्गठन गरेपछि प्रतिक्रिया जनाउने चीन पहिलो राष्ट्र हो ।

अन्य कुनै पनि मित्र राष्ट्रले नेपालको सत्ता समीकरण परिवर्तन भएपछि प्रतिक्रिया सार्वजनिक नगरेका बेला चीनबाट पहिलो प्रतिक्रिया आउनुलाई गठबन्धन परिवर्तनमा भूमिका खेलेको रूपमा समेत अर्थ्याइएको छ ।

राजनीतिक विश्लेषक तथा अन्तर्राष्ट्रिय मामलाका जानकार गेजा शर्मा वाग्ले छिमेकी वा शक्ति राष्ट्रहरूले आफ्नो अनुकुलको सत्ता समीकरण बन्दा हार्दिकतापूर्वक स्वागत गर्ने परम्परा रहेको बताए ।

‘हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय समुदायबाट प्रतिक्रिया नआएका बेला उत्तरी छिमेकीबाट नयाँ गठबन्धन बनेको प्रति हर्ष व्यक्त गर्दै सहकार्य गर्न आतुर रहेको प्रतिक्रिया आएको छ । यसले उसको केवल शुभेच्छा र सुझाव मात्रै होइन, प्रत्यक्ष वा परोक्ष रूपमा भूमिका समेत रहेको पुष्टि गर्दछ’, वाग्ले भन्छन् ।

नयाँ सरकार गठन हुनासाथ लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरिएबाट पनि यो गठबन्धनमा चिनियाँ भूमिका रहेको आशंकालाई बल मिल्ने उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारले यही २८ र २९ फागुन अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन गर्ने घोषणा गरेको थियो । तर सोमबार सत्ता गठबन्धन परिवर्तन भएसँगै मंगलबार नै ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको उक्त सम्मेलन स्थगित भएको छ । वाग्लेले उक्त सम्मेलनमा चीनको अरूची रहेको चर्चा भइरहँदा सबभन्दा पहिले स्थगित हुनुले पनि चीनको भूमिका शंकास्पद रहेको वाग्लेको तर्क छ ।

मंगलबार बनेको नयाँ गठबन्धनमा रहेको ठूलो दल नेकपा एमालेका नेता विष्णु रिजाल भने चीनको प्रतिक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् । ‘नेपालको उन्नती, प्रगति र हितसँगै देखाएको चासोप्रति हामीले चीनलाई धन्यवाद दिनुपर्छ’, रिजालले भने, ‘हामी हाम्रा सबै छिमेकी र मित्रराष्ट्रसँग मित्रवत, पारस्परिक सम्मानमा आधारित आपसी हितका विषयमा सहकार्य गर्न उत्सुक छौँ र सबैबाट अपेक्षा गर्दछौँ ।’

एमाले नेता रिजाल अहिले नयाँ सरकार गठन नभई अघिल्लो वर्षको १० पुसमा बनेयता ‘आउट अफ ट्र्याक’ भएको सरकारलाई लयमा ल्याएको भन्दै अनावश्यक ढंगले जोड्न आवश्यक नरहेको बताए । ‘चीन, भारत, अमेरिका र यूरोपियन यूनियनलगायत सबैसँग सहकार्य गर्न चाहन्छौँ । हामीले हाम्रो ८ बुँदे सहमतिमा पनि स्पष्ट उल्लेख गरेका छौँ’, रिजालले भने ।

काठमाडौँको सत्ता समीकरणमा फेरबदल हुँदा प्रायजसो शक्ति राष्ट्रहरू र त्यसमा पनि विशेष गरी छिमेकी मुलुक भारत र चीनमाथि आशंका गर्ने परम्परा छ । सत्ता समीकरणमा बारम्बार भइरहने परिवर्तनले पनि यस्ता आशंकालाई बल पुर्‍याइरहेको हुन्छ ।

नेपालको आन्तरिक राजनीतिमा शक्ति राष्ट्रहरूको चासो मात्रै नभई प्रत्यक्ष वा परोक्ष भूमिका समेत रहँदै आएको विश्लेषक वाग्लेको भनाइ छ ।

‘सत्तासँग जोडिने घटनाक्रममा कुनै बेला दक्षिणी त कुनै बेला उत्तरी छिमेकीलाई देखाउने प्रचलन नै हो । तथापि, राजनीतिक घटनाहरू दक्षिण अनुकुल मानिँदा दक्षिणले र उत्तर अनुकुल हुँदा उत्तरले पहिले आत्मीयतापूर्वक स्वागत गर्ने क्रम विगत लामो समयदेखि चल्दै आएको हो’, वाग्लेको भनाइ छ ।

चीनले नेपालका वामपन्थी पार्टीबीचको एकता र सहकार्यमा चासो राख्दै गरेको लुकेको छैन । ०७४ सालको आम निर्वाचनपछि एमाले र माओवादीबीच पार्टी एकता हुँदा चिनियाँ पक्षले खेलेको भूमिकाले पनि त्यसलाई पुष्टि गर्छ ।

तर उक्त एकता सफल नभएपछि त्यसयता भने चीनको प्रत्यक्ष भूमिका देखिन छाडेको थियो । अहिले पनि एमाले र माओवादी केन्द्रबीच सहकार्य गराउन चीनले पहल गरिरहेको नेताहरुले बताउने गरेका थिए ।

यद्यपि, पहिले पार्टीहरूबीच कुरा नमिल्दासम्म बाह्य शक्तिले मात्रै चाहेर एक हुने सम्भावना नरहेको उनीहरू नै बताउँथे । सत्तारुढ दल माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार चीनले नेपालमा स्थायी शक्तिका रूपमा वामपन्थी शक्तिबीच एकता होस् भन्ने चाहना व्यक्त गरेको स्वीकार गरेका थिए ।

‘वामपन्थी शक्तिबीच एकता होस् भन्ने चाहना प्रत्यक्ष वा अप्रत्यक्ष हिसाबले आइरहन्छ । तर त्यो अरूको चाहनाले भन्दा पनि हाम्रो परिस्थितिले निर्माण हुने कुरा हो’, उनको भनाइ थियो ।

२०७४ सालमा एमाले र माओवादीबीच एकता हुँदा तत्कालीन चिनियाँ राजदूत हाउ यान्छीले देखाएको सक्रियताले पनि चीनको भूमिकामाथि आशंका भइरहन्छ । तर पहिले कम्युनिस्ट पार्टीहरूसँग मात्रै सम्बन्ध स्थापित गर्ने गरेको चिनियाँ कम्युनिस्ट पार्टीले पछिल्लो नेपाली कांग्रेस रास्वपालगायत दलहरूसँग पनि उस्तै खालको सम्बन्ध कायम गर्ने प्रयास गर्दै आइरहेको छ ।

प्रधानमन्त्रीको गत जेठमा सम्पन्न भारत भ्रमणदेखि पुसमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणसम्मका घटनाक्रम हेर्दा व्यक्तिगत तहमा मात्रै होइन, दुई देशबीचकै सम्बन्धमा समेत सुधार भइरहेको संकेत देखा परेका थिए ।

तर आइतबारयता काठमाडौँमा विकास भइरहेको राजनीतिक घटनाक्रममा भारतीय पक्ष ‘बेखबर’ जस्तै रहेको कूटनीतिक स्रोतको दावी छ ।
‘सत्ता गठबन्धनमा समस्या आएको र त्यसका विषयमा छलफल भइरहेको विषय थाहै नुहने कुरा भएन, तर नयाँ विकसित घटनाक्रम बारे जानकार थिएन’, कूटनीतिक स्रोतले भन्यो, ‘प्रचण्डको स्वाभावअनुसार जतिसुकै बेला पनि गठबन्धन परिवर्तन हुनसक्छ भन्ने आंकलन भने थियो ।’

स्रोतका अनुसार पछिल्लो एक हप्तायता भारतीय राजदूत नविन श्रीवास्तवले भेट्न खोज्दा समेत प्रधानमन्त्री प्रचण्डको समय मिलिरहेको थिएन ।

परराष्ट्रविद चन्द्रदेव भट्ट पछिल्लो समय चीन र भारतले नेपालमा स्थायी शक्तिको खोजी गरिरहेको सत्य भए पनि प्रत्यक्ष भूमिका खेल्छन् भन्ने बुझाइ सही नभएको बताउँछन् ।

‘अहिले गठबन्धन बदलिनुमा आन्तरिक आयमले बढी काम गरेको छ । गठबन्धनभित्र मनमुटाव धेरै अघिदेखि बढिरहेको थियो । कोशी प्रदेशबाट सुरु भयो र कांग्रेसको महासमिति बैठकसम्म आउँदा त्यो थप पेचिलो बन्यो । प्रचण्डले टीआरसीलाई ठूलो समस्याका रूपमा लिइरहेका थिए, त्यो पनि एउटा कारण हो’, उनी भन्छन् ।

विश्लेषक भट्ट भारत र चीन दुवैले सबै दलसँग सम्बन्ध विस्तार गरिरहेका भन्दै यसलाई आशंकाको दृष्टिले भन्दा पनि आन्तरिक कमजोरीलाई सच्याएर राष्ट्रिय हितमा केन्द्रित हुन सक्नु पर्ने बताउँछन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?