+
+

रुस युक्रेन युद्ध अन्त्यका लागि कुटनीतिक दौडधुपमा व्यस्त चीन

एजेन्सी एजेन्सी
२०८० फागुन २९ गते १६:२०

२९ फागुन । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि चीनले पहल अघि बढाएको छ । युद्धमा होमिएका रुस र युक्रेनसहित युरोपेली अन्य साझेदारसँग चीनले दोस्रो चरणमा छलफल अघि बढाएको ग्लोबल टाइम्सले जनाएको छ ।

युरोप तथा एशियाका लागि चीनका विशेष प्रतिनिधि ली ह्वीले वार्ता अघि बढाइरहेका हुन् । दुई मुलुकबीचको युद्ध अन्त्य गरी शान्तिका लागि सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले चीनले पहलकदमी लिइरहेको ग्लोबल टाइम्सको समाचार छ ।

युद्ध अन्त्यसम्बन्धी वार्ताका लागि गत साता रुस, युरोपेली युनियनको मुख्यालय, पोल्याण्ड, युक्रेन र जर्मनी पुगेका ली हाल फ्रान्समा रहेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले पत्रकार सम्मेलनमा भनेका छन्, ‘रुस युक्रेन युद्धको राजनीतिक समाधानका लागि लीले युरोपेली मुलुकका सरकारसँग नियमित वार्ता र संवाद गर्दै स्वीटजरल्याण्डको विदेश मन्त्रालयसँग प्राप्त उपलब्धिबारे छलफल गरेका छन्’, उनले भने ।

गत साता स्वीजरल्याण्ड आएर युक्रेनले युद्ध अन्त्यका लागि चिनियाँ मध्यस्थता खोजेको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले पनि युद्धको राजनीतिक समाधानका निम्ति चीनले रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् ।

‘अन्तर्राष्ट्रिय शान्ति सम्मेलन हुन गइरहेको परिस्थितिमा रुस र युक्रेन दुबैको सहभागिता सुनिचित गर्न र निष्पक्ष रुपमा शान्तिका कार्ययोजनाबारे छलफलका लागि वातावरण बनाउने काममा हामी सहयोग गर्न तयार छौँ । यस युद्धको राजनीतिक समाधानका लागि रचनात्मक सहयोग गर्न चीन सधैँ तत्पर छ’, वाङले भनेका छन् ।

युद्ध अन्त्यका लागि विभिन्न पक्षसँग संवाद र छलफलको सुरुवात बेइजिङले सन् २०२३ को मेबाट सुरु गरेको थियो ।  अहिले चीन ‘सटल डिप्लोमेसी’मा व्यस्त छ । विभिन्न ठाउँ पुगेर  सम्वद्ध पक्षसँग छलफल गर्नुलाई कुटनीतिमा सटल डिप्लोमेसी भनिन्छ । गत बिहीबार रेलमार्फत किभ पुगेका लीले त्यहाँको उपलब्धि पोल्याण्ड, फ्रान्स, जर्मनी र युरोपेली युनियनको मुख्यालयमा गएर सुनाएका छन् । रुससँग बाक्लो छलफल गरेर सबै पक्षधर यस  युद्धको राजनीतिक समाधानतर्फ अग्रसर हुनुपर्ने सन्देश उनले प्रवाह गरिरहेका छन् ।

युद्धका सरोकारवाला पक्षधरहरुबीच संवादहीनता रहेको अवस्थामा लीको दौडाहले सूचना संकलन, मध्यस्थताको वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा बेइजिङले राखेको छ । लीको दौडाहाले कुटनीतिक ‘ब्रेक थ्रु’ हुनसक्ने विश्वास चीनको छ । विदेश मन्त्री वाङ् यीले पत्रकार सम्मेलनमा भनेका छन्, ‘युरोपेली महादेशमा यथाशीघ्र शान्ति छाओस् भन्ने पक्षमा चीन छ । यसका निम्ति चीन सधैँ सहयोगी बन्न चाहन्छ ।’

वार्तामा सक्रिय ली को हुन्  ?

७१ वर्षीय ली कुटनीतिक मामिलामा राम्रो दख्खल राख्ने व्यक्ति हुन् । काजगिस्तानबाट चिनियाँ राजदूतको करियर सुरू गरेका उनले करिब एक दशक रुसका लागि चिनियाँ राजदूतको भूमिका निर्वाह गरे । रुसका लागि उनी सन् २००९ देखि २०१९ सम्म राजदूत रहे । त्यसअघि उनलाई उपविदेशमन्त्रीको जिम्मेवारी तोकिएको थियो । ‘समसामयिक मामिलामा राम्रो ज्ञान भएका उनी शान्ति मध्यस्थकर्ताका लागि निकै सक्षम छन्’, चिनियाँ विदेश मन्त्रालयले उनको बारेमा भनेको छ ।

१० वर्ष मस्कोमा बिताउँदा उनले दुई मुलुकको आपसी सम्बन्ध सुधारमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । कुनै बेलाका कट्टर दुश्मन दुई मुलुकबीच सुमधुर दौत्य सम्बन्ध स्थापना गर्न पहल गरे ।

उनकै पालामा चिनियाँ राष्ट्रपति सी जिनपिङले मस्कोको ८ पटक भ्रमण गरे भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन १० पटक बेइजिङ पुगेका थिए । लीले चीन र  मस्कोबीच व्यापार अभिवृद्धिमा समेत काम गरेका थिए । सन् २००९ मा चीन र रुसको व्यापार ३८.१४ अर्ब अमेरिकी डलर रहेकामा सन् २०१८ मा उनको मध्यस्थकर्तामा व्यापार १०८.२८ अर्ब अमेरिकी डलर बराबरको भएको थियो ।

लीले सन् १९७५ बाट चिनियाँ विदेश मन्त्रायलयको विभागमा कामको सुरुवात गरेका थिए । त्यसबेला बेइजिङ र मस्कोबीच निकै तनावपूर्णसम्बन्धी थियो । तनावपूर्ण सम्बन्ध सुधारदेखि सांघाइ कर्पोरेशनमा रुसलाई सदस्य बनाउनेसम्ममा उनको भूमिका रहेको छ ।

ली रुसी भाषामा निकै पोख्त छन् र रूसी साहित्यबारे पनि राम्रो जानकार छन् । अलेक्जेण्डर पुस्किन, मिखाइल लेमोन्तोभ, लीयो टोलस्टोय उनका मन पर्ने साहित्यकार हुन् ।

मस्कोसँगको उनको सम्बन्ध कस्तो छ भने रुसले उनलाई राजदूतबाट बिदा हुने क्रममा निकै सम्मान समेत गरेका थिए। मैत्रीपूर्ण मेडल पहिर्‍याएर लीलाई पुटिनले मस्कोबाट बिदाइ गरेका थिए ।

मस्को र रुसबीचको सम्बन्ध निकै बलियो बनाउनुपर्ने अवधारणामा ली दृढ छन् । सन् २०२० मा उनले लेखेका थिए, ‘काँधमा काँध र धाप मात्रै पश्चिमाहरुको धम्की र आधिपत्यविरुद्ध हाम्रो सहकार्य थप बलियो हुनेछ ।‘

उनले थप लेखेका थिए, ‘राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा तथा नयाँ सुरक्षा चुनौतीहरुको सामानाका लागि दुई मुलुकले थप सहकार्य गर्नेछन् ।’

मस्कोसँग गहिरो समबन्धका बाबजुद कुटनीतिक मर्यादा र कुटनीतिक कदममा व्यवहारिक लीले रुसको पक्षमा मात्रै वकालत नगर्ने कतिपय पर्यवेक्षकहरुको विश्वास छ।

वार्तामा व्यस्त लीले परिणाम निकालेरै छोड्ने विश्वास बेइजिङको छ । उनले द्वन्द्वको अन्त्य र शान्तिकर्ताका रुपमा चीनको छवि स्थापित गर्ने विश्वास बेइजिङले लिएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?