+
+
बागमती प्रदेशसभा :

शुभकामना दिन उभिएका नेताहरुले पोखे आक्रोश

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो दिन नेकपा एमाले र राप्रपाका नेताहरुले सरकारप्रति आक्रोश पोखेका छन् । उनीहरुले सहमति अनुसार आफूहरुको योजनामा बजेट नदिए प्रदेशसभा चल्न नदिने चेतावनी दिएका छन् ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० फागुन १५ गते २१:२९

१५ फागुन, हेटौंडा । बागमती प्रदेशसभाको बैठक १४० दिनपछि मंगलबार बसेको छ, तर अधिवेशनको पहिलो दिन नै प्रदेशसभा बैठक सहज सञ्चालन नहुने संकेत देखिएको छ ।

गत १८ असारमा बजेट पास गर्ने क्रममा भएको सहमति कार्यान्वयन नगरेर सरकारले बेइमानी गरेको विपक्षी नेकपा एमाले र राप्रपाको आरोप छ । साथै सहमति कार्यान्वयनका लागि बाध्य बनाउने बताएका छन् । तर सत्तारुढ दलका नेताहरुले भने घुमाउरो भाषामा सहमति कार्यान्वयन नहुने संकेत गरेका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १ असारमा ६२ अर्ब ७० करोडको बजेटमा ल्याएको थियो । तर बजेटमा सत्तारुढ र विपक्षी सांसदहरुबीच विभेद गरेको, प्रभावशाली नेताहरुले गृह जिल्लामा मात्र बजेट थुपारेको भनेर विपक्षी दलहरुले प्रदेशसभा अवरुद्ध गरेपछि सरकारले नेकपा एमाले र राप्रपाका सांसदहरुको छुटेका योजना समेट्ने सहमति गरेको थियो ।

तर सहमति कार्यान्वयन नभएको भन्दै दुबै दलले विरोध गरेपछि २२ असोजको बैठक स्थगित भयो, सरकारले प्रदेशसभा अधिवेशन नै अन्त्य गर्‍यो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले गरेको आह्वानअनुसार प्रदेश सभाको १३ औं अधिवेशनको पहिलो बैठक मंगलबार बसेको थियो । पहिलो बैठकमा सभामुख भुवन पाठकले दलका नेताहरुलाई शुभकामना मन्तव्यका लागि समय दिए । नेताहरु भने आरोप प्रत्यारोप गरे ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संसदमा गरेको सहमति भन्न पनि लाज लाग्ने बेला भएको बताए । आफूहरुले भीख मागेको नभई बजेटमा जथाभावी गर्न पाइन्न, सबै माननीय बराबर हुन् भन्ने आफूहरुको माग भएको उनले बताए ।

त्यसअनुसार सहमति भएको भन्दै उनले भने, ‘यो ६०/७० करोडको कुरा होइन, राजनीतिक इमान्दारिताको कुरा हो । सत्ता पक्षलाई बेइमानी गर्न छुट छैन ।’

प्रदेशसभा बैठक अगाडि भएको सर्वदलीय बैठकमा उपस्थित प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायसहित कानुन र अर्थ सचिवले दलहरुबीच भएको सहमति कार्यान्वयन गर्न अप्ठ्यारो रहेको बताएका थिए । त्यसतर्फ संकेत गर्दै एमाले दल नेता थपलियाले प्रतिपक्षीको सदासयतालाई कमजोरी नठान्न चेतावनी दिए ।

‘राजनीतिक बेइमानी सच्याइयोस्’, उनले भने, ‘यो हुन्छ कि हुन्न हामी सरकारलाई आजै सोध्न चाहख्न्छौं ।’ ऐन कानुन विपरीत जानुस् भनेर आफूहरुले नभनेको भन्दै एमाले संसदीय दलका नेता थपलियाले पूरक बजेट ल्याउन आग्रह गरे ।

उनले जसरी पनि सहमति कार्यान्वयन गराउन प्रयत्न गर्ने बताए । अधिकांश समय सरकारमाथि आक्रोश पोखेका उनले ‘शुभकामनामा आक्रोशका कुरा गर्नु हुँदैनथ्यो, आउने रहेछ …’ भन्दा प्रदेशसभा सभाहलमा हाँसो गुञ्जिएको थियो ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले सहमति कार्यान्वयन नगरेकामा सरकारको आलोचना गरे । १९ असारमा सहमति गर्दा सरकारले सबैलाई समेटेर लैजान खोजेको रहेछ भन्ने लागेको भन्दै उनले भने, ‘कस्तो समेट्याइ रहेछ । सहमति गरेको ८ महिना पुग्दैछ । हामीलाई अन्याय परेन भन्या ?’

प्रदेशसभा अधिवेशन बोलाएपछि सरकारले छलफल थालेर अलमलमा पार्न खोजेको उनले बताए । सिलिङमा फ्यान घुमाए जस्तो आफूहरुलाई घुमाएको भन्दै उनले भने, ‘जसोतसो भयो, नयाँ बजेटमा तपाईंहरुलाई समेटौंला भन्न बाँकी छ ।’

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुरेन्द्रराज गोसाईंले पनि सरकारले बारम्बार झुक्याउने काम गरेको बताए । बेकामे र अराजनीतिक भएर बस्नु भन्दा राजीनामा दिएर घरमा स्वास्थ्यलाभ गर्न मन्त्रीहरुलाई उनले आग्रह गरेका छन् ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बजेट निर्माणका क्रममा कमजोरी भएको स्वीकार गरे । तर विपक्षीसँग भएको सहमतिबारे मौन बसेका उनले प्रदेशसभामा बसेर बजेट माग्ने बेथितीको अन्त्य कहिले हुन्छ भन्दै प्रतिप्रश्न गरे । उनले अगामी वर्षदेखि बजेट वितरणलाई व्यवस्थित गर्न सरकार लागि परेको भन्दै सहयोग गर्न आग्रह गरे ।

सत्तारुढ नेपाली कांग्रेस नेता तथा कार्यबाहक आर्थिक मामिलामन्त्री रामकृष्ण चित्रकारले सहमतिका साथ अघि बढ्नुपर्ने बताए । अर्को सत्तारुढ दल एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनालले सरकारमा रहँदा प्रतिपक्षलाई नसुन्ने, प्रतिपक्षमा पुगेपछि विरोध मात्रै गरिरहने शैली अन्त्य गर्नुपर्ने बताएका छन् ।

प्रदेशसभाको अर्को बैठक बुधबार राखिएको छ । विपक्षी दलहरुका सांसदहले भने सहमति कार्यान्वय नभए प्रदेशसभा बैठक चल्न नसक्ने बताएका छन् ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?