+
+
ब्लग :

मानसिकता परिवर्तनको पर्खाइमा दलित समुदाय

करिब १३ प्रतिशत जनसंख्या भएको दलित समुदायको आत्मसम्मानमा अविच्छिन्न प्रहारलाई नदेखे झैं गरी हिंड्ने दुस्साहस गरियो भने जात व्यवस्था झन् मौलाएर जानेछ र कैयौं कोशिलाको ज्यान असुरक्षित भई आगामी पुस्ताले समेत माफ गर्नेवाला छैन ।

गोविन्द विक गोविन्द विक
२०८० फागुन १६ गते १६:१०

सदियौंदेखि जातीय अपमानको शिकार हुँदै आएका दलित समुदाय जातीय विभेदको कुरामा मानसिकता परिवर्तनको पर्खाइमा छन् । नेपाली समाजलाई जात व्यवस्थाले नराम्ररी गाँजेको छ । जात व्यवस्थाको जरो गाडिएको नेपाली समाजभित्र दलित समुदायको आत्मसम्मान मात्रै निमोठिएको छैन बाँच्न पाउने अधिकार पनि खोसिइराखेको छ । जात व्यवस्थाभित्रको कुरुप र कहालीलाग्दो अभ्यासको चरम शिकार दलित समुदाय बनिरहेका छन् ।

कुनै न कुनै रूपमा जात व्यवस्थाको कुरुप अभ्यास नेपाली समाजमा जीवितै छ । दलित समुदायप्रतिको विभेद र अपमानका घटनामा मूकदर्शक बनिरहेको राज्यसत्ताको प्रत्येक बोलीमा दलितमाथिको विभेद अपराध हो, यसको अन्त्य गर्नुपर्छ भन्ने सुनिन्छ तर व्यवहारमा दलितमैत्री कहिल्यै देखिएन र देखिने प्रयास गरेको पनि छैन ।

सामन्ती अतिवादको खोल ओढेर न्यायको वकालत गर्ने जात व्यवस्था पक्षधरहरूको भीड समाजमा रहुन्जेल दलित समुदायले भोगिरहेको जातीय अपमान अन्त्य नहुने पक्का नै छ । जात व्यवस्थालाई जरैदेखि उखेलेर फाल्ने हिम्मत राज्यसत्ता सञ्चालन गर्नेहरूले न हिजो गरे न आज गरेका छन् । समाज रूपान्तरणको कुरा जति फलाके पनि समाजको पिंधमा पारिएको दलित समुदायलाई समाज रूपान्तरणको छायाँले कहिल्यै छोएन ।

अजित मिजार, नवराज विक, संगम ठटाल र सरस्वती खड्काको प्रेमलाई पनि जात व्यवस्थाले नै निमोठ्यो र परिवारको इज्जतलाई सामाजिक प्रतिष्ठासँग जोड्यो । जातलाई परिवारको सामाजिक प्रतिष्ठाकै विषय बनाउँदा रूपन्देहीकी अंगिरा पासीले मृत्युको बाटो रोज्न बाध्य भइन् ।

जात व्यवस्थाको पछिल्लो कुरुप रूप कोशिलाको हत्या देखियो । बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी टोलका हरिन्द्र महतोले दलित किशोरसँग प्रेम गरेको भन्दै आफ्नै छोरी कोशिलाकुमारी महतोको हत्या गरे । दलितसँग प्रेम गरेकै कारण आफ्नै बाबुले यसरी छोरीको बीभत्स हत्या गर्छन् भनेर कसले कल्पना गर्छ ?

परिवारको प्रतिष्ठालाई समाजको व्यवहारसँग तुलना गर्ने परिपाटी कसरी विकसित भयो ? जातभन्दा टाढा सामाजिक व्यवहारलाई किन राख्न सकिएन ? जात व्यवस्थाकै कारण दलित समुदायका कलिला मुनाहरूको अस्तित्व मेटिने दिनको अन्त्य कहिले हुन्छ ? दलितलाई हेर्ने नजरमा कहिले परिवर्तन होला ? विभेद गर्ने मानसिकता परिवर्तनको पर्खाइमा दलित समुदायहरू कहिलेसम्म तड्पिने ?

करिब २६०० वर्षअघि नेपालमा भित्रिएको जात व्यवस्थाले आजपर्यन्त दलितहरूलाई अछूतको शिकार बनाइरहेको छ । १९०३ देखि २००७ सम्म पनि जात व्यवस्थाले नेपालमा दलितलाई थिचिरह्यो । २००७ सालदेखि आए÷भएका परिवर्तनहरूमा थुप्रै सामाजिक कुरीति, कुसंस्कारहरू फेरिए, परिवर्तन भए तर जात व्यवस्था परिवर्तन भएन । पछिल्लो समय नेपालमा जात व्यवस्था झन् गहिरो गरी झाँगिइरहेको शृङ्खलाबद्ध रूपमा दलितमाथि हुने गरेका हत्या र हिंसाका घटनाहरूले पुष्टि गरिरहेका छन् ।

सती प्रथा उहिल्यै हट्यो, हलिया प्रथा पनि हट्यो, कमैया प्रथा पनि हट्यो तर जात प्रथा हटेन । जात व्यवस्था नेपाली समाजमा हिन्दु आदर्शवादी शोषणको विकराल रूपमा उदाइरहेको तथ्यहरूले देखाइरहेको छ । जातकै कारण आज कैयौं अन्तरजातीय विवाह भएका परिवारहरू खण्डित भएका छन् ।

जातलाई सामाजिक प्रतिष्ठाको विषय बनाउँदा अन्तरजातीय विवाहबाट जन्मिएका कैयौं बालबालिका परिवारबाट टाढिएका छन्, विचल्लीमा परेका छन् । विवाह हुन्छ, परिवारले स्वीकार्छ तर समाजमा स्वीकार्न सक्दैन । समाजले के भन्ला ? दलित समुदायसँग जोडिएको विवाहको नाताबाट आफूलाई समाजको आँखामा कसरी देखाउने ? समाजले काट्ने कुराको सामना कसरी गर्ने ?

यी र यस्ता भ्रमित प्रश्नहरूले गर्दा दलित र गैरदलितबीच भएको विवाह अन्ततः कुनै गोरेटोमा पुगेर छुट्टिएको छ वा मृत्युको सुरुङतिर गएको छ । जसका कारण समाज भित्रभित्रै खोक्रो बनिरहेको कसैलाई पत्तै छैन । कानुनतः कसैलाई जातसँग जोडेर व्यवहार गर्न पाइन्न र पाउनु पनि हँुदैन तर सामाजिक व्यवहारमा बहुमतले जातलाई जोड्ने गरेको ताजा अभ्यासहरू जीवितै छन् । त्यसको शिकार आम दलित समुदाय बनिरहेका छन्, बनाइएको छ ।

जात व्यवस्थाका मतियार हरिन्द्रहरूका कारण नै आज नेपाली समाज दलितमैत्री रूपान्तरणमा जान सकिरहेको छैन । चुलोदेखि चौकासम्म दलितलाई जातसँग जोडेर व्यवहार गर्नेहरूको घुइँचो समाजमा छँदैछ । शिक्षाले पनि जात व्यवस्थालाई रूपान्तरण गर्न सकेन । सामाजिक जागरणले पनि जात व्यवस्थालाई रूपान्तरण गर्न सकेन राज्य व्यवस्था सञ्चालनमा दलितको सहभागिताले पनि जात व्यवस्थालाई रूपान्तरण गर्न सकेन ।

दलित समुदायको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक पक्षमा भएको सुधारहरूले पनि जात व्यवस्थालाई रूपान्तरण गर्न सकेन आखिरी जात व्यवस्थामा के त्यस्तो तत्व छ जसलाई उखेल्ने हिम्मत कसैमा देखिंदैन ? राज्य व्यवस्था सञ्चालन गर्नेहरूले जात व्यवस्था उखेल्ने हिम्मत नदेखाउनुमा यसको सबैभन्दा धेरै पीडाको हिस्सा दलित समुदायमा छ । जात व्यवस्थाको शिकार सबैभन्दा धेरै दलित भएका छन् किनभने दलितमैत्री राज्य व्यवस्था हिजो पनि थिएन र आज पनि छैन । जातकै कारण अपहरित कोशिलाकुमारीहरूको आत्माले कसैलाई शान्ति दिंदैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले वडा समितिको काम, कर्तव्य, अधिकारमा वडामा रहेका कुप्रथा, कुसंस्कृति, जातीय विभेद जस्ता कुराहरू हटाउन सक्ने भनेको छ । स्थानीय तह अलिक चनाखो हुने र आफ्नो अधिकार, जिम्मेवारी इमानदारीका साथ कार्यान्वयन गर्ने हो भने जात व्यवस्थाका मतियार हरिन्द्रहरूले मौका पाउने थिएनन् ।

समाजलाई समयसापेक्ष रूपान्तरणको मार्गमा लैजाने जिम्मेवारी सबै पक्षको त हो तर अलिक धेरै चाहिं जिम्मेवार निकायमा बस्नेहरूको हुन्छ । बहुआयामिक विशेषता बोकेको जातीय विविधतायुक्त समाजमा पछाडि पारिएको, परेकाहरूलाई जहाँको त्यहीं छोडेर उनीहरूको पीडालाई बेवास्ता गरेर उनीहरूले भोगेका अमानवीय अभ्यासलाई नजरअन्दाज गर्दै विकास र रूपान्तरणको मन्त्र फलाकेर मात्र हामी कहीं पुग्दैनौं । साँच्चै रूपान्तरणको मार्गमा यो राज्य छ भने पछाडिपरेका दलित सीमान्तकृत वर्ग मैत्री सुशासनको प्रत्याभूति पहिलो शर्त हुनुपर्छ ।

भौतिक संरचना विकास मात्रै समृद्धिको सूचक हैन सीमान्तकृत वर्ग दलित वर्ग मैत्री सुशासन पनि समृद्धिको सूचक हो त्यसैले विशेषगरी स्थानीय तहहरूले सामाजिक अभ्यासमा आएका गलत र मानवअधिकार विरोधी हर्कतहरूलाई रोक्ने अभियान चलाउनुपर्दछ ।

करिब १३ प्रतिशत जनसंख्या भएको दलित समुदायको आत्मसम्मानमा अविच्छिन्न प्रहारलाई नदेखे झैं गरी हिंड्ने दुस्साहस गरियो भने जात व्यवस्था झन् मौलाएर जानेछ र कैयौं कोशिलाहरूको ज्यान असुरक्षित भई आगामी पुस्ताले समेत माफ गर्नेवाला छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?