+
+

चैत अन्तिम साता स्पोर्ट्स कनेक्ट आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते २२:४०

१७ फागुन, काठमाडौं । नेपाली खेलकुदसँग सम्बन्धित सम्पूर्ण संघ संस्थाहरु एकै ठाउँमा भेला गर्ने लक्ष्यसहित आगामी चैतमा स्पोर्ट्स कनेक्ट हुने भएको छ ।

संयुक्त आयोजकको रुपमा रहेको माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल ईस्पोर्ट्स एसोसिएसन (नेसा) बिहीबार आयोजित पत्रकार सम्मलेन मार्फत स्पोर्ट्स कनेक्ट चैत २२ देखि २४ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरिने जानकारी गराएको हो ।

नेपाल ओलम्पिक कमिटिसहित खेलका विभिन्न संगठन र संस्थाबीच नेटवर्किङ र समन्वय गर्ने यस किसिमको कार्यक्रम पहिलोपल्ट हुन लागेको हो आयोजकले जनाएको छ ।

स्पोर्ट्स कनेक्टम अन्तर्गत तीन कार्यक्रम आयोजना गरिने छ । जसमा चौथो नेपाल ईस्पोर्ट्स च्याम्पियनसिप तथा नेपाल एक्स्पो २०२४, स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो २०२४ र नेपाल स्पोर्ट्स कन्क्लेभ २०२४ रहेको छ ।

यसले खेलका व्यक्तित्व, नीति निर्माता, उद्योगका नेतृत्वकर्ता, खेलप्रति उत्सुक तथा साधारण गरी ठूलो संख्यामा मानिसहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

नेपाल ईस्पोर्ट्स एसोसिएसनको आयोजनामा हुने चौथो नेपाल ईस्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पोमा हाल विश्वमै तीब्र गतिमा फैलिरहेको ईस्पोर्ट्समा सनसनीपूर्ण प्रतियोगिता र प्रदर्शनी हुनेछ ।

पछिल्लो समय नेपालमा पनि ईस्पोर्ट्सको गतिविधिहरु बढ्न थालेको छ । असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा पनि नेपालले ईस्पोर्ट्समा प्रतिस्पर्धा गरेको थियो ।

च्याम्पियनसिपमा लोकप्रिय र फरक गरी ईस्पोट्रसका विभिन्न विधालाई समावेश गरिएको छ । जसमा डोटा २, काउन्टर स्ट्रइक २, पब्जी मोबाइल, एमएलबीबी ओपन, एमएलबीबी वुमेन र ईफुटबलमा खेलाडी तथा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले राष्ट्रिय च्याम्पियनको रुपमा उपाधि, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यो च्याम्पियनसिप इन्टरनेसनल ईस्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले आयोजना गर्ने १६ औं विश्व ईस्पोर्ट्स च्याम्पियनसिप २०२४ को छनोटको रुपमा पनि रहने छ । विश्व च्याम्पियनसिप नोभेम्बर ११ देखि १९, २०२४ मा साउदी अरेबियाको रियादमा हुने छ, जहाँ विश्वकै उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्ने छ ।

यस्तै पहिलो पटक हुन लागेको स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो अर्को कार्यक्रमको रुपमा छ । जसमा खेल सामाग्री उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, क्लब, प्रतियोगिता, च्याम्पियनसिप, खेल संघ, शैक्षिक संस्था, आर्थिक प्रविधि, इन्टरनेट सेवा प्रदायक, ईस्पोर्ट्सका डिभाइस तथा सेवा प्रदायक, स्पोर्ट्स एसेसरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आ–आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन् ।

यसलाई खेल, ईस्पोर्ट्स र फिटनेस क्षेत्रका व्यवसायिक, व्यापारिक नेटवर्क र समन्वयको लागि उपयुक्त कार्यक्रम हुने आयोजकको विश्वास छ ।

यसैगरी तेस्रो कार्यक्रमको रुपमा नेपाल स्पोर्ट्स कन्क्लेभ २०२४ रहनेछ । नेपाल ओलम्पिक कमिटिसँगको समन्वयमा नेपाल स्पोर्ट्स कन्क्लेभ आयोजना गर्न लागिएको हो ।

जसमा नेपाली खेलकुद उद्योगमा नवीनताका लागि संवाद र बृहत् छलफल हुने छ । यसले सरोकारवाला, विज्ञलाई सकारात्मक परिवर्तन र बृद्धि विकासका लागि एउटै स्थानमा भेला गर्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?