+
+

रुससँगको युद्ध अन्त्यमा युक्रेनले गर्‍यो चीनको खोजी, गाजा युद्धमा छ बेइजिङको व्यस्तता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते ६:४८

रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै शान्तिका लागि युक्रेनले चीनको खोजी गरेको छ ।  रुसको  सबैभन्दा शक्तिशाली सहयोगी चीनलाई युक्रेनले शान्तिका लागि पहल गर्न फेरि आग्रह गरेको हो ।

युक्रेनी र चिनियाँ अधिकारीबीच यसै  साता स्विट्जरल्याण्डको डाभोसमा कुराकानी भएको समाचार सिएनएनले प्रकाशित गरेको छ ।

त्यस वार्तामा युक्रेनका तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र उनका  विदेशमन्त्री दिमित्रो कुल्लेबा सहभागी थिए भने चीनबाट विदेशमन्त्रालयका प्रतिनिधि सहभागी रहेको सिएनएनले उल्लेख गरेको छ ।

वार्तापछि सञ्चारकर्मीसँग जेलेनेस्कीले दिएको प्रतिक्रिया उद्दृत गर्दै सिएनएनले लेखेको छ, ‘युक्रेनको शान्ति योजनामा चीनको संलग्न हुन चाहान्छ ।’

यस्तै विदेशमन्त्री दिमित्रोले चीनसँग अझै घनिभूत छलफल हुने  बताएका छन् । ‘हामीले अझै उच्च तहमा छलफल गर्न चाहेका छौं । सम्पर्क स्थापति गरेर शान्ति प्रस्तावबारे चिनियाँ पक्षसँग सबै तहमा संवाद हुनेछ,’ उनले भनेका छन् ।

यता, यसै साता विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले जेलेनेस्कीसँग कुनै भेट गरेनन् । यस्तै २५ मिनेटको सम्बोधनमा उनले विश्व युद्ध परिवेशबारे कुनै पनि धारणा राखेनन् । उनले चीनको अर्थतन्त्र सम्हालिने स्थितिमा रहेको भन्दै सबैलाइ आश्वस्त बनाइरहे ।

गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङले युक्रेनी समकक्षी जेलेनेस्कीसँग भेट गरेर शान्तिका लागि पहल गर्ने बताएका थिए ।

विश्लेषक यु सुनले सिएनएनसँग भनेका छन्, ‘रुस युक्रेनको युद्ध अन्त्य गर्दै शान्ति स्थापना गर्ने सवालमा आफूले निकै काम गरेको चीनको मान्यता छ । तर शान्तिको चिनियाँ संस्करणमा चित्त बुझाउने पक्षमा जेलेनेस्की छैनन् ।’

गत वर्ष चीनले शान्तिका लागि पहल गर्ने भन्दै आफ्नै तरिकाको प्रस्ताव अघि सारेको थियो । युक्रेनी भुभागमा रहेका रुसी सेना फिर्ता विनै युद्धविरामको प्रस्ताव आएपछि युक्रेनले त्यसलाई स्वीकार गरेको  थिएन ।

डाभोसको वार्तापछि चीनले अघि सार्ने प्रस्तावमा सबैको नजर रहेको विश्लेषकहरु बताउँछन् । ‘रुसले धेरै क्षति भोग्न नपरोस् भनेर चीनले पहिले शान्तिका लागि मध्यस्थता गर्न चाहेको थियो । तर अहिले चीनलाई त्यतापट्टि कम चासो छ । अहिले शान्ति वार्ताको जग कसरी बसाउने भन्नेतर्फ चीनको ध्यान छ । अहिले अमेरिकाले सम्पूर्ण शक्ति गाजातर्फ केन्द्रित गरेकाले  स्थिति रुसको पक्षमा पुगेको छ । पश्चिमा र युक्रेनको वकालतझैं चीनले निष्पक्ष शान्तिलाई अघि बढाउनुपर्ने कारण पनि निकै न्युन छ,’ उनले सिएनएनसँग भनेकी छिन् ।

युक्रेनले युद्ध अन्त्यका लागि पहल गरोस् भन्ने चाहाना राखिरहँदा चीनले मध्यपूर्वको युद्धमा बढी चासो राखेको अवस्था छ । कायरोमा पुगेर चिनियाँ विदेश मन्त्री वाङ यीले अरबलिगसँग संयुक्त वक्तव्य जारी गरे । जसमा भनिएको छ, ‘तत्कालै त्यहाँ युद्ध विराम गरेर वृहत शान्ति सम्झौता हुनैपर्छ ।’

विश्व शान्तिका लागि चीनले  वृहत शान्ति सम्मेलन गर्दै इजरायल र प्यालेस्टाइन दुई छुट्टै राज्यको अवधारणा कार्यान्वयनका निम्ति समयसीमा तोक्न प्रभावकारी कदम चालिने वाङ्ले बताएका छन् ।

चीनले प्यालेस्टाइनलाई छुट्टै राज्य बनाउने अडान अझै कसरी दरिलो बनाउनेछ भन्नेबारे केही बताएको छैन । यद्यपि सन् १९८० देखिनै उसले प्यालेस्टाइनलाई सार्वभौम र ज्य मानिरहेको छ र लामो समयदेखि उसले दुई राज्यको अवधारणाको विकालत गरिरहेको छ।

मध्यपूर्वको यो युद्ध चीनको लागि वैकल्पिक अन्तर्राष्ट्रिय नेता बन्ने मौका रहेकाले बेइजिङले गाजा युद्धमा बढी अडान राखिरहेको विश्लेषण भइरहेको छ ।

विश्लेषक एलेक्स जहेबले सिएनएनसँग भनेका छन्, ‘अमेरिकी नीतिले विश्वको स्थायित्वमा असर पुगिरहेको मत हाबी भइरहेको समयमा गाजा युद्धले विश्वमा अमेरिकाप्रति अर्को आक्रोश जन्माइरहेको छ । यस्तो अवस्थामा कूटनीतिक बलमार्फत नतिजा निकाल्नका निम्ति बेइजिङले अडानसँगसँगै पहल पनि गरिरहेको छ।’

गाजाको युद्धमा पश्चिमा शक्ति पनि विभिक्त रहेकाले चीनले त्यसलाई गतिलो मौकाका रुपमा लिएको  एलेक्स बताउँछन् । ‘ग्लोबल साउथ राष्ट्रहरुले इजरायलको दमन र ज्यादतीको कडा विरोध गरिरहेका छन् । यस्तो अवस्थामा ग्लोबल साउथ राष्ट्रहरुप्रति सद्धभाव राख्दै शान्तिको मध्यस्थता गरेर चीनले लाभ लिन खोजेको छ,’ उनले भने ।

शान्ति सम्मेलन

निकटै भविष्यमै शान्ति सम्मेलनको आयोजना हुन लागेको स्विट्जरल्याण्डले जनाएको छ । जेलेनस्कीको आग्रहमा हुन लागेको यस सम्मेलनको मिति तोकिएको छैन ।

ग्लोबल साउथ राष्ट्रहरुसँगै बसेर युक्रेनबारे सम्मेलनमा चीनले राख्ने प्रस्तावलेनै उसको प्राथामिकताको परीक्षण हुनेछ । यस सम्मेलनबारे जेलेनेस्कीले भनेका छन्, ‘युक्रेनको भौगोलिक अखण्डताको सम्मान गर्ने सबै मुलुकलाई त्यहाँ स्वागत गरिनेछ ।’

यस सम्मेलनमा आमन्त्रण भए नभएको र भएको अवस्थामा चीनले राख्ने प्रस्तावबारे सिएनएनले विदेशमन्त्री वाङसँग चासो राखेको थियो । सिएनएनको चासोलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘वार्ता र संवाद मार्फत शान्तिको प्रवर्द्धन गर्ने हाम्रो अडान कायमै छ । शान्तिका लागि हामी जुनसुकै हदको पहलमार्फत मध्यस्थता गर्नेछौं ।’

विश्लेषकहरुका अनुसार त्यस सम्मेलनमा युक्रेनको विचारधारा अनुसार मात्रै छलफल हुने देखिन्छ । अहिलेसम्को चारवटा छलफलमा रुसलाई कही स्थान दिइएको छ ।

तीनवटा सम्मेलनमा सहभागी नभएको चीन साउदी अरबको आयोजनामा भएको छलफलमा भए सामेल भएको थियो ।

पश्चिमाविरुद्ध जुद्धनका निम्ति बेइजिङले मस्कोको साथलाई अपरिहार्य मानेको छ । त्यसैले युद्धमा पश्चिमा प्रतिबन्धले रुस अप्ठ्यारोमा नपरोस् भन्नका निम्ति उसले सहयोग जारी राखेको छ । ‘रुसले स्वीकार गर्न नसक्ने प्रस्तावमा चीनले सहमति जनाउँदैन,’ सुनले भनिन् ।

किएभ र मस्कोबीचको मिलन विन्दु नपहिल्याउँदासम्म बेइजिङ यस्ता सम्मेलनको साक्षी मात्रै हुन चाहेको छ । त्यहाँ हुने छलफल र बहसबाट उसले पृथक प्रस्ताव तयार गर्ने सोचेको छ ।

गाजामा शान्ति कायमका सवालमा पनि उसले मध्यस्थतकर्ता हुन चाहेको सुनको बुझाइछ । दुवैतिरको शान्तिका लागि प्रस्ताव तयार गर्न लागिपरेको चीनको ध्यान तत्कालका लागि गाजामै केन्द्रित रहेको सुनले सिएनएनसँग बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?