+
+
चितवनको होस्टेलमा छात्रा मृत्यु प्रकरण :

पारिवारिक विखण्डनको मारमा शालिन

शालिन तीन वर्षको छँदा नै उनका आमा-बुवाको सम्बन्ध बिच्छेद भएको थियो । आमा-बुवा बीच सम्वन्ध बिच्छेद भएपछि उनी कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् ।

सुवास पण्डित सुवास पण्डित
२०८० फागुन १९ गते २३:४१

१९ फागुन, चितवन । चितवनको रत्ननगर नगरपालिका (रनपा) वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा यही फागुन १२ गते कक्षा ८ मा अध्ययनरत एक छात्रा शालिन पोखरेल मृत अवस्थामा भेटिइन् । घटना भएको एक साता बित्दा पनि उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने विवरण आधिकारिक रुपमा सार्वजनिक भएको छैन ।

सो घटना भएको थाहा पाउनेवित्तिकै इलाका प्रहरी कार्यालय टाँडीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले होस्टेल भित्रको कोठामा स्काउटको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फागुन १२ गते शनिबार बिहान १०.३० बजे शालिनलाई मृत फेला पारेको थियो । शनिवारको दिन भएकाले विद्यालयको नियमित पठनपाठन थिएन ।

विगत दुई वर्षदेखि विद्यालयको होस्टलमा बस्दै आएकी शालिनले आत्महत्या गरेकी हुन् वा हत्या गरिएको हो भन्ने विषयको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ ।

रनपा–१५ माधवपुरमा रहेका मावलीले शालिनलाई विद्यालयको होस्टेलमा राखिदिएका थिए । उनका बुवा दीपेन्द्र पोखरेल र आमा सगुन पोखरलले बीच सम्वन्ध बिच्छेद भैसकेपछि शालिन मामा घरकी हजुरआमाको संरक्षणमा थिइन् ।

घटना पछि प्रहरीले सुरुमा जाहेरीको भाषा नमिलेको भन्दै लिन अस्वीकार गरेर फर्काएको थियो । प्रहरीले घटनाको तीन दिन पछि मात्रै जाहेरी लिएपछि चितवन प्रहरी र अस्पतालप्रति विश्वास नभएको भन्दै शालिनका बुवाले भरतपुर अस्पतालमा पोष्टमार्टम गर्नसमेत नदिई शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याएका थिए ।

शालिनको शवको पोष्टमार्टम रिपोर्ट पाइनसकेको चितवन प्रहरीले जनाएको छ । आइतबार वा सोमबारसम्म पोष्टमार्टमको रिपोर्ट चितवन पठाउने तयारी गरिएको स्रोतले जनाएको छ ।

परिवारका सदस्यले होस्टल भित्रै उनीमाथि बलात्कारपछि हत्या गरिएको दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृतहरुले भने प्रारम्भिक अनुसन्धानमा बालिकाले आत्महत्या गरेको तर्फ संकेत गरेका छन् ।

शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ । घाँटीमा डोरीको डाम छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा शरीरका अन्य भागमा कुनै बाहिरी चोटपटक नभेटेको बताएको छ ।

प्रहरीले शालिनको शवसँगै उनको सुसाइड नोटसमेत भेटेको थियो । सुसाइड नोटमा सबैसँग माफ मागेको भाव झल्किने गरी लेखेको प्रहरीले जनाएको छ । प्रहरीले सुसाइड नोटका अक्षरसँग उनले यसअघि लेखेका कपीका अक्षरहरुसमेत दाँजेर अनुसन्धान थालेको जनाएको छ । सो नोट उनले नै लेखेको हो वा होइन भन्ने विषयमा थप अनुसन्धान गर्न त्यसलाई प्रहरीको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउने तयारी छ । प्रहरीले विद्यालयको सीसी टिभीको फुटेजसमेत ल्याएर अनुसन्धान गरिरहेको छ ।

शालिनसँगै छात्रावासको एउटै कोठामा तीन जना साथीहरु बस्थे । उनीहरुसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।

शालिन पोखरेलको मृत्यु प्रकरणले सबैजसो सरकार र सबैजसो राजनीतिक दलहरुको ध्यान तानेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फेसबुक पेजमा शालिन पोखरेलको मृत्युले गम्भीर र दुःखी भएको उल्लेख गरका छन् ।

घटनापछि प्रहरीले किटानी जाहेरीका आधारमा विद्यालयका प्रिन्सिल ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षका किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई सोही दिन पक्राउ गरेको थियो । शालिनका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ परेका तीनै जनाविरूद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न चितवन प्रहरीले अदालतबाट सात दिनको म्याद थप लिएको छ ।

लामो समय बुवा–आमाको ममताबाट टाढिएकी थिइन् शालिन

शालिन तीन वर्षको छँदा नै उनका आमा र बुवाको सम्बन्ध बिच्छेद भएको थियो । आमा-बुवा बीच सम्वन्ध बिच्छेद भएपछि उनी कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् ।

शालिनको बुबा दक्षिण अफ्रिकामा र आमा दुवईमा बस्दै आएका थिए । बुवा केही समय अगाडि मात्रै नेपाल आएका हुन् । बुवा र आमा दुवैले विदेशमा अर्को विवाह गरेर बसेका थिए । आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेकी थिइन् भने बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमतीका साथ बसिरहेका छन् ।

उनीहरुले होस्टेलको वार्डेनमार्फत बेलाबखत छोरीसँग फोनमा कुराकानी गर्ने गरेका थिए । लामो समयदेखि बुवा–आमाको ममताबाट टाढिएकी थिइन् शालिन । घटनापछि भने उनका बुवा–आमा दुबै मिलेर पत्रकार सम्मेलनसमेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने– घटनाको निष्पक्ष छानविन हुन्छ

शालिन पोखरेलको मृत्यु प्रकरणले सबैजसो सरकार र सबैजसो राजनीतिक दलहरुको ध्यान तानेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फेसबुक पेजमा शालिन पोखरेलको मृत्युले गम्भीर र दुःखी भएको उल्लेख गरका छन् । उनले घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयलाई निर्देशन दिएको पनि जनाएका छन् । उनले पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको पनि जनाएका छन् ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शालिनको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् । उनले शनिबार फेसबुक पेजमा स्टाटस राख्दै घटनाले आफूलाई बेचैन बनाएको र सत्य तथ्य केहो चाँडो बाहिर ल्याउन माग गरेका हुन् ।

यसैबीच सत्तारूढ दल नेपाली कांग्रेसले पनि घटनाको निष्पक्ष र गहन अनुसन्धान गरी दोषीलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

दबाबमा चितवन प्रहरी

विभिन्न राजनीतिक दलका नेताहरुको अभिव्यक्ति, सामाजिक सञ्जालमा घटनाबारे आएका तर्कवितर्क र युट्युबहरुमा आएका विभिन्नखाले टिकाटिप्पणीले चितवन प्रहरी दबाबमा परेको छ । घटनाको सुरुमा जाहेरी लिन अस्वीकार गरेको भनेर आरोप खेपेको चितवन प्रहरीले शनिवार विज्ञप्ती नै जारी गर्दै अनुसन्धानलाई प्रभावित गर्ने गरी सामाजिक सञ्जालमा विषयहरु सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।

चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले विज्ञप्ती जारी गर्दै घटनाको तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेकाले सार्वजनिक भएका विभिन्न विषयवस्तुप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको भन्दै उनले अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरु हालसम्म प्राप्त नभएको र सो प्राप्त नहुञ्जेल अनुसन्धानलाई प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न विज्ञप्तीमार्फत अपिल गरेका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ सिनियर प्रहरी अधिकृतको कमाण्डमा विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेको र सुक्ष्म अनुसन्धान भैरहेको विज्ञप्तीमा उल्लेख छ । घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र तथ्यपरक तथा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको चितवन प्रहरीको भनाइ छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?