
२१ फागुन, काठमाडौं । सत्तागठबन्धन फेरिएसँगै प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सभामुख देवराज घिमिरेले फागुन २४ गतेसम्मका लागि स्थगित गरेका छन् । योसँगै प्रतिनिधि सभाको कार्यतालिका प्रभावित भएको छ ।
प्रतिनिधि सभाको कार्यतालिका अनुसार सोमबार पि्रबजेट छलफल हुनुपर्ने थियो । बैठक स्थगित भएसँगै यो कार्यतालिका प्रभावित भएको हो ।
यही फागुन १४ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको सिद्धान्त र प्राथमिकता संघीय संसदमा प्रस्तुत गरेका थिए ।
सोमबार प्रिबजेट छलफलको अलावा राजनीतिक दलसम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो ।
मंगलबार शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिने, निर्माणमुखि सामग्री विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्त्ााव प्रस्तुत गर्ने र पि्र बजेट छलफल निरन्तर चलाउने कार्यतालिका थियो ।
बुधबार राष्ट्रिय सभाबाट आएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव, भन्सार विधेयक र विद्युतीय व्यापार विधेयकलाई संसदीय समितिमा दफावार छलफलमा पठाउने र पि्रबजेट छलफल निरन्तर चलाउन कार्यतालिका थियो ।
प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै प्रतिनिधि सभाको यी कार्यतालिकाहरु प्रभावित भएका हुन् ।
संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सूचना निकालेर अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका छन् ।
प्रतिक्रिया 4