+
+
Shares

कैलाली-५ : उम्मेदवार नयाँ, एजेन्डा पुरानै

कैलाली–५ मा मुख्य प्रतिस्पर्धी ठानिएका दलले प्रत्यक्षतर्फ नयाँ उम्मेदवार अघि सारेपनि उनीहरूका एजेन्डा भने पुरानै देखिएका छन् । पुराना मात्रै होइन, लगभग मिल्दाजुल्दा पनि छन् ।

जनक विष्ट जनक विष्ट
२०८२ माघ १७ गते ११:०८

१७ माघ, धनगढी । संघीयतापछि भएका दुई निर्वाचनमा कैलाली–५ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भयो । यीमध्ये पहिलो निर्वाचन(२०७४ को प्रतिनिधिसभा) मा कांग्रेसबाट पार्टीबाट डा. आरजु राणा देउवा र एमालेबाट नारदमुनि राना प्रतिस्पर्धामा थिए ।

जसमा एमालेका रानाले कांग्रेसकी देउवालाई पाँच हजार मतान्तरले पराजित गरेका थिए । बामगठबन्धनका उम्मेदवार रहेका रानाले २७ हजार २०२ मत पाएर जित निकाल्दा देउवाले २२ हजार ३२२ मत पाएकी थिइन् । छ हजार ७४७ मत पाएर राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मण चौधरी तेस्रो भएका थिए ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाकी धर्मपत्नीसमेत रहेकी आरजु २०७९ को निर्वाचनमा कैलाली–५ बाटै फेरि उम्मेदवार बन्न चाहान्थिन । तर, पार्टीको आन्तरिक द्वन्द्वका कारण जित्ने अवस्था नदेखेपछि देउवाले उनलाई समानुपातिक सूचीमा राखे । कांग्रेसले डिल्लीराज पन्तलाई उम्मेदवार बनायो । एमालेले भने रानालाई नै मैदानमा उतारेको थियो ।

कांग्रेसका पन्तले २१ हजार ३९२ मतका ल्याएर जित निकाल्दा रानाले २० हजार ३१८ मतमा चित्त बुझाए । पन्तविरुद्ध बागी उठेका कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझा आठ हजार ३४९ मत ल्याएर तेस्रो भए ।

कैलाली–५ मा यसपटक २०७४ र २०७९ मा प्रतिस्पर्धामा रहेका कुनै पनि नेता अहिले उम्मेदवार छैनन् । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । सबै प्रमुख राजनीतिक दलले नयाँ नेतालाई उम्मेदवार उठाएको छ ।

कांग्रेसले नरनारायण शाह(मनु), एमालेले यज्ञराज ढुंगाना, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले प्रेमबहादुर आले र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ । यिनै चार जनाबिच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

प्रमुख प्रतिस्पर्धी चार दलले अघि सारेकामध्ये कांग्रेसका शाह र एमालेका ढुंगाना धनगढीकै बासिन्दा हुन् । नेकपाका आले डोटी र रास्वपाका चन्द बैतडी स्थायी ठेगाना भएर चुनाव लड्न धनगढी झरेका नेता हुन् ।

नयाँ अनुहार, मुद्दा पुरानै

कैलाली–५ मा मुख्य प्रतिस्पर्धी ठानिएका दलले प्रत्यक्षतर्फ नयाँ उम्मेदवार अघि सारेपनि उनीहरूका एजेन्डा भने पुरानै देखिएका छन् । पुराना मात्रै होइन, लगभग मिल्दाजुल्दा पनि छन् ।

६ माघमा मनोनयन दर्ता गरेपछि मतदाता भेटघाट थालेका उम्मेदवार उस्ताउस्तै वाचा र प्रतिबद्धता बोकेर जनतामाझ पुगेका छन् । जुन एजेन्डा यसअघिका उम्मेदवारले उठाए पनि, पूरा गर्न ध्यान दिएका थिएनन् ।

बेरोजगारी हल गर्छु : कांग्रेस उम्मेदवार शाह

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री समेत रहेका नरनारायण शाह पहिलोपटक संसदीय चुनाव लड्दैछन् । उम्मेदवारी दर्ताको भोलिपल्टैबाट मतदाता भेटघाट गरिरहेका शाह अझैपनि चुनाव हुनेमा आशंका व्यक्त गर्छन् । तर, उनी बेरोजगारी, दलित, महिला, अल्पसंख्यक र निम्न आय भएका व्यक्तिले भोग्दै आएका समस्या समाधान गर्ने प्रतिबद्धतासहित मत मागिरहेका छन् ।

‘युवाहरूको विदेश पलायन रोकेर उनीहरूलाई स्वदेशमै कसरी रोजगारी दिने भन्ने कुरा सोच्नुपर्ने बेला आएको छ । भदौको आन्दोलन त्यसैको उपज हो,’ शाहले भने, ‘यतिमात्र होइन यहाँका दलित, महिला, अल्पसंख्यक र निम्न आय भएका नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न मेरो उम्मेदवारी हो ।’

कैलाली–५ का मतदाताले पार्टी नभएर व्यक्ति हेरेर मत दिने बताउँछन् । नयाँ दलसँग नभएर पूरानै दलसँग प्रतिस्पर्धा हुने उनले संकेत गरे । ‘नयाँका हकमा बलियो प्रतिस्पर्धी छैनन् । रास्वपाले काठमाडौं बस्ने मान्छे उम्मेदवार बनाएको छ,’ उनले भने, ‘यहाँका मतदाता पार्टीभन्दा पनि काम गर्नसक्ने व्यक्ति हेर्छन् । त्यसको उदाहरण गोपी हमाल हुन् । पूरानो पार्टी भनेर मत दिनेवाला छैनन् ।’

एमालेका ढुंगाना भन्छन्- शिक्षा, स्वास्थ्य र पूर्वाधार पहिलो प्राथमिकता

एमालेका कैलाली अध्यक्षसमेत रहेका यज्ञराज ढुंगाना पहिलोपटक संसदीय चुनाव लडिरहेका छन् । अनेरास्ववियुको राजनीतिबाट उदाएका ढुंगाना पछिल्लो समय पार्टीको जिल्ला नेतृत्व सम्हालिरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर मत मागिरहेका छन् ।

‘शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास नै यहाँको प्रमुख आवश्यकता हो । सेती प्रादेशिक अस्पतालाई प्रदेशकै नमूना र सुविधा सम्पन्न बनाउँछु,’ ढुंगानाले भने, ‘शिक्षा र स्वास्थ्य बाहेक यहाँको खानेपानी, ढल निकास, किसान र मजदुरले भोग्नुपरेका समस्या हल गर्न लाग्छु ।’

विद्यार्थी राजनीतिको अनुभवसँगै देशको बद्लिदो परस्थिति बुझेका कारण निर्वाचित भएपछि जनपक्षीय काम गर्ने उनी बताउँछन् ।

विमानस्थल र प्रादेशिक अस्पताल स्तरोन्नती गर्छु : आले

२०७० सालको दोस्रो संविधान सभाको चुनावदेखि तीनपटक डोटीबाट सांसद जितेका प्रेमबहादुर आले यसपटक कैलाली–५ बाट उम्मेदवार छन् । २०७० र २०७४ मा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवादीबाट चुुनाव जितेका आलेलाई नेकपाले उम्मेदवार बनाएको हो ।

आले पनि ययसअघिका उम्मेदवारले जस्तै धनगढी विमानस्थल र सेती प्रादेशिक अस्पताल स्तरोन्नतीको मुद्दा लिएर मत मागिरहेका छन् ।

‘धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु । फाप्ला रंगशालाको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेछु,’ आलेले भने, ‘धनगढीलाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनुका साथै धनगढी जिरो प्वाइन्टबाट खुटिया, दिपायल हुँदै बझाङको उरै भञ्जाङसम्म सडक निर्माण गर्ने मेरा प्रमुख एजेन्डा हुन् ।’

उनी कैलालीमा पहिलोपटक चुनाव लडिरहेको भएपनि विगतमा पर्यटन मन्त्री हुने बेला धनगढीसहितका ठाउँमा गरेका विभिन्न कामका कारण यहाँका मतदातासँग आफू परिचित रहेको सुनाउँछन् । खुला सीमाना, लागुऔषध दुर्व्यशनी नियन्त्रण, बेरोजगारी समस्या, किसानका समस्या समाधान गर्न पनि भूमिका खेल्ने उनी बताउँछन् ।

रास्वपा उम्मेदवारका पनि पूरानै एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरेका आनन्द चन्दलाई उम्मेदवार बनाएको छ । चन्द पहिलोपटक संसदीय चुनाव लड्दैछन् । तर उनले पनि अन्य उम्मेदवारले जस्तै सेती प्रादेशिक अस्पताल, फाप्ला क्रिकेट मैदान, गेटा मेडिकल कलेजलाई नै चुनावी मुद्दा बनाएका छन् ।

‘सेती प्रादेशिक अस्पताललाई २०० भन्दा बढी शैयामा बिस्तार गर्दै संघीय अस्पताल बनाउन सकिन्छ । प्रदेशका अस्पतालहरूलाई विशेष खालको सेवा दिने अस्पतालका रुपमा विकास गर्ने कि भन्ने योजना पनि छ,’ चन्दले भने, ‘गेटा मेडिकल कलेज, फाप्ला क्रिकेट स्टेडियमलाई कसरी, कुन मोडलमा बनाउन सकिन्छ ? सिपमा आधारित जनशक्ति उत्पादन गर्नेमा जोड दिनेछु ।’

अहिलेको शिक्षा नीतिलाई समय सान्दर्भिक बनाउने, सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने र जेन–जी आन्दोलनका मुद्दा व्यवस्थापन गर्नेमा आफू बढी केन्द्रित रहने चन्दले बताए । कृषि क्षेत्रमा मल र बीउका मात्र कुरा गर्ने गरिएको बताउँदै उनले मानिसमा आधारित जनशक्ति नभएर कृषिलाई आधुनिकीकरण गर्दै कुल गार्हस्थ उत्पादनमा योगदान बढाउनुपर्ने उनी बताउँछन् ।

अंकगणित

कैलाली–५ मा धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ गरेर २१ वडा पर्छन् । २०७९ को स्थानीय तह निर्वाचनको मत परिणामअनुसार धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले जितेका छन् भने उपमेयरसहित ६ वडा एमालेले जितेको छ ।

कांग्रेसले धनगढीका १२ वडा जितेको छ । ती वडामा वडाध्यक्षले पाएको मत कांग्रेस २० हजार ७ सय २५ रहेको छ भने एमालेका वडाध्यक्षले १५ हजार ४१० मत पाएका छन् । एक वडा जितेको माओवादीका वडाध्यक्षले ८ हजार १७४ र एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरूले दुईहजार ९ मत पाएका छन् ।

कैलाली गाउँपालिका–६ र ९ नम्बर वडामा कांग्रेस वडाध्यक्षका उम्मेदवारले १० हजार ८८७, एमालेका उम्मेदवारले दुई हजार ७५८ र माओवादीका उम्मेदवारले ५ हजार २४५ मत पाएका छन् ।

यस्तै २०७९ को प्रतिनिधिसभाको समानुपातिकतर्फ यो क्षेत्रबाट कांग्रेसले १५ हजार ६१७, एमालेले १४ हजार ३२१, नागरिक उन्मुक्ति पार्टीले ११ हजार ६९७, राप्रपाले ६ हजार ९४७, तत्कालीन नेकपा माओवादी केन्द्रले पाँचहजार ७३६ र रास्वपाले चारहजार ४५५ मत थियो ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?