२२ फागुन, काठमाडौं । चारपटक प्रधानमन्त्री बनिसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फराकिलो अन्तरले पछाडि परेका छन् । चुनावी नतिजाको प्रवृत्ति हेर्दा उनले जित्ने स्थिति देखिँदैन ।
अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनले ओलीलाई उनकै निर्वाचन क्षेत्र झापा–५ बाट हराउँदैछन् । ओली मात्र होइन, उनको दल एमालेले समेत सर्मनाक पराजय बेहोर्दैछ ।
सार्वजनिक नतिजाको रुझान हेर्दा रास्वपाले सहज बहुमत पाउँदैछ, र बालेन लगभग प्रधानमन्त्री बन्दैछन् । काठमाडौं महानगरका मेयरबाट राजीनामा दिएर राजनीतिमा होमिएका बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ ।
भावी प्रधानमन्त्रीका उम्मेदवार बनेरै बालेनले देश दौडाहा गरेका थिए भने ओलीलाई हराउने भनेरै झापा–५ गएका थिए । बालेन झापा जाँदा ओली निर्वाचन अघि नै रक्षात्मक देखिएका थिए ।
तर पनि एमालेले ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएको थियो । नतिजामा भने इतिहासमै कमजोर अवस्थामा एमाले पुग्ने देखिन्छ ।
प्राध्यापक कृष्ण खनाल, ओलीले आफैले नबुझेपछि जनताले जबर्जस्त फालिदिएको बताउँछन् । ‘ओलीले जेनजी आन्दोलनको विपक्षमा मत लिन खोज्नुभयो, कांग्रेस र नेकपाका उम्मेदवारहरूले पनि त्यही गरे, अहिलेको परिणाम त्यही हो,’ खनालको विश्लेषण छ, ‘यो नतिजा उत्तरदायी राजनीति नगर्नुको परिणाम पनि हो । यसलाई मैले स्वभाविक रूपमा लिएको छु ।’

जेनजी आन्दोलनलाई ओलीले अस्वीकार गरेका थिए । ‘देश जलाउने र देश बनाउने’ बीचको लडाइँ भनेर एमालेले जेनजी आन्दोलनको विपक्षमा उभ्याएको थियो । जेनजी आन्दोलन दबाउने सरकारमा प्रधानमन्त्री रहेका ओलीले जेनजी आन्दोलनको विपक्षमा पार्टीलाई उभ्याउनुको पछाडि उनले राजनीतिमा आफ्नो औचित्य कायम राख्न खोजेको प्रष्ट थियो ।
पार्टी विधान नै बदलेर तेस्रोपटक एमाले अध्यक्ष बन्न पनि ओलीले जेनजी विद्रोहलाई ‘विदेशी षडयन्त्र’ भन्ने भाष्य स्थापित गरेका थिए । एमालेमा ओलीको विकल्प खोज्नेहरूलाई नराम्रोगरी पराजित गरेर सिंगो पार्टीलाई जेनजी आन्दोलनको विपक्षमा उभ्याउने वातावरण निर्माण गरिएको थियो ।
पार्टीभित्र स्थापित गरेको भाष्य सहित निर्वाचनमा होमिएका ओलीले जेनजी आन्दोलनका शहीदका परिवार र घाइतेप्रति सामान्य सम्बोधन समेत जरुरी ठानेका थिएनन् । बरू अरु दलका नेतहरुलाई समेत जेनजी आन्दोलनका विरुद्ध उभिने वातावरण निर्माण गरेका थिए । निर्वाचनको नतिजा जेनजी आन्दोलनको पक्षमा आउँदैछ ।
प्राध्यापक डा. खड्क केसी यो निर्वाचनले २३–२४ भदौको जेनजी आन्दोलनलाई अनुमोदन गरेको बताउँछन् । लगातार राज्यसत्ताको नेतृत्वमा बसेका दलका शीर्ष नेताहरूले आफूले पाएको मतको दुरूपयोग गर्दा आजको परिणाम आएको र यो स्वाभाविक भएको उनी बताउँछन् ।

‘पुराना दलहरूले राज्य सत्ताको दुरुपयोग गर्दा जनतामा देखिएको असन्तुष्टि र आक्रोशको परिणाम हो, यो,’ डा.केसीले भने, ‘हामीले पहिले विचार प्रधान राजनीति गर्दै आएका थियौं । जनता पनि विचारका आधारमा विभाजित थिए । तर परिस्थिति फेरिएर सहभागितामुलक राजनीतिक संस्कारतिर मुलुक गएको जस्तो देखिन्छ । तर त्यो कुरालाई पुराना पार्टीका नेतृत्वले बुझेनन्, ओलीले बुझ्नुभएन ।’
प्राध्यापक खनाल यो निर्वाचनको नतिजालाई भुईँतहका जनताले गरेको विद्रोह मान्छन् । उनका अनुसार, २०४८ सालमा एमाले र ०६४ सालमा माओवादीलाई सहयोग गरेका सुकुम्बासी, मजदुर, किसान र समाजको भूइँतहका नागरिकले यसपटक रास्वपालाई समर्थन गरे ।
‘यसो हुनुको परिणाम जनतासँग गरेको प्रतिबद्धता दलहरूले पुरा गर्न नसक्नु नै हो, त्यसको नेतृत्वमा केपी शर्मा ओली थिए,’ खनाल भन्छन्, ‘ओली जसरी जान पथ्र्यो, त्यसैगरी गए ।’
अलोकतन्त्र र अहमको शासन
एकपटक प्रमुख पदमा पुगेपछि आजीवन नेतृत्व नछोड्ने नेताहरुको प्रवृत्ति विरुद्ध जनताले विद्रोह गरेको रुपमा पनि यो निर्वाचनलाई बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन् । ‘कार्यकर्ताले निश्चित अवधिका लागि मात्र पठाए पनि नेतृत्वले अधिकतम अधिकार पाउनपर्छ भन्ने कुरालाई नयाँ पुस्ताले उल्टाइदिएका हुन्,’ प्राध्यापक.डा. केसी भन्छन् ।
यो निर्वाचनको प्रमुख एजेण्डा ‘नयाँ भर्सेस पुरानो’ बन्नु र ओली सहितका नेताहरुले आजीवन नेतृत्वमा रहन गरेको अलोकतान्त्रिक गतिविधिहरु हेर्दा पनि विश्लेषक केसीको विश्लेषण पुष्टि हुन्छ ।
कक्षा नदोहोर्याउने, पार्टीको लोकतान्त्रिकरण गर्ने र पुस्तान्तरणको एजेण्डा लिएर एमाले अध्यक्षमा निर्वाचित ओलीले आफू अध्यक्ष रहिरहनु पार्टी विधानकै संशोधन गर्नेदेखि फरक मत राख्ने नेताहरु निस्कासन गर्नेसम्मको नीति अख्तियार गरेका थिए ।
पार्टी संस्थापकहरू झलनाथ खनाल, माधव नेपालदेखि भीम रावल, घनश्याम भूसालहरू समेत एमालेमा रहन नसक्ने परिस्थिति उनीहरुले ओलीलाई गरेको प्रश्नकै कारण सिर्जना भएको थियो ।
पार्टीमा आफ्ना एसम्यान नेताहरुको भीड बढाउँदै लैजाने र फरक मत राख्नेलाई कार्बाही गर्ने प्रवृत्तिले प्रोत्साहन पाउँदा ‘ओलीबिनाको एमाले असंभव’ भन्ने डक्ट्रिन नै सिर्जना गरिंदै थियो ।

‘नेतृत्वबाट भएका गल्तीहरु सच्याउनुपर्छभन्दा ओली बिनाको एमाले असम्भव भन्ने नारा लगाइयो । ओलीका गल्तीहरूलाई नै पार्टीको नीति हो भन्न थालियो,’ एमालेका एक नेता भन्छन्, ‘यस्तो अहंकारयुक्त नेतृत्वविरुद्ध जनताले रेकर्डेड देखाएको रुपमा बुझ्नुपर्छ ।’
२०७२ साल यताको दश वर्षमा चारपटक गरी ओली ६ वर्ष प्रधानमन्त्री भएका थिए । तर कुनैपनि कार्यकाल विवाद रहित थिएन । ओलीले भने आफ्नो सत्तापतनलाई सधैं विदेशीको चलखेल भन्दै आएका छन् ।
कतिसम्म भने २०७४ सालको निर्वाचनबाट प्राप्त दुई तिहाइको सरकार जोगाउन नसक्दा उनले आफ्नै पार्टीका नेताहरुलाई विदेशी एजेन्टको आरोप लगाएका थिए । आन्तरिक विवाद मिलाउन नसकेर नेकपा फट्ने वातावरण ओलीले ५ पुस २०७७ मा असंवैधानिक प्रतिनिधि सभा विघटनको निर्णय लिएकै कारण निर्माण भएको थियो ।
तर, अरू दलहरुले पनि ओलीकै जस्तो गल्ती गरिरहे । सत्ताकै लागि जे पनि गर्ने प्रवृत्ति कांग्रेस, माओवादी लगायत दलहरुमा पनि देखियो । त्यसविरुद्ध मतदातामा आक्रोश देखिन थालेको ०७९ कै निर्वाचनमा हो ।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र एमाले–जसपा–राप्रपा गठबन्धन विरुद्ध रास्वपा सहितका नयाँ शक्तिहरुले अप्रत्यासित मत पाएका थिए । त्यही वर्षको निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएरै काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङ, धनगढीमा गोपी हमालहरुले मेयर जितेका थिए । त्यही निर्वाचनका नयाँ विद्रोही शक्ति यो निर्वाचनमा हाबी भएका छन् ।
एमालेमा यो तहको हविगत हुन सक्छ भन्ने आभास निर्वाचन अघि नै मिलेको एक शीर्ष नेता बताउँछन् । ‘भोट माग्दै जाँदा एक जना पार्टीकै कार्यकर्ताले घण्टीमा भोट दिन्छु भन्नुभयो,’ ती नेताले सम्झिए, ‘मैले त्यसो नगर्नुस् भन्दा उल्टै मलाई सम्झाउँदै उनले भने– विगतमा हलो, रुख र हसिया हडौथामा भोट हाल्न पार्टीले नै निर्देशन गर्थ्यो, यसपटक विवेकले घण्टीमा भोट हाल्दा के को कार्बाही ?’
एमालेका अर्का नेता अब एमाले पुनर्गठनको विकल्प देख्दैनन् । ‘केपी ओलीले जसरी अंहम र अलोकतान्त्रिक बाटो हिँड्नु भएको छ, पार्टी कब्जा कायमै राख्नपनि सक्छन्, तर अब मान्छेले पत्याउनेवाला छैन,’ उनी भन्छन्, ‘मतदाबाट बहिष्कृत नेताले जबर्जस्ती गर्न खोजे त्यसको प्रतिवाद दुखद् हुन सक्छ ।’
तर पार्टी र आन्दोलन जोगाउन पनि पुनर्गठन आवश्यक रहेको उनी बताउँछन् । ‘जुन पार्टी सदस्यलाई आधार मानेर नेता चुनेका थियौ, ती सदस्यहरुले नै आज पार्टीलाई मत दिएनन् भने नेतृत्व पनि पुनर्गठनको माग हो,’ उनी भन्छन् ।
प्रतिक्रिया 4