२१ फागुन, झापा (दमक) । झापा देशैभरि चुनावी उत्सव थियो तर इपिसेन्टर बन्यो, झापा–५ । जहाँ एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको प्रतिस्पर्धाले यो क्षेत्र सबैको आँखामा पर्यो ।
बिहीबार भएको मतदानमा यो क्षेत्रमा ६४ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट छ । निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार कतै केही अन्यथा नभइ मतदान सकियो ।
‘शान्तिपूर्ण उत्साहका साथ मतदान भयो ।अब सर्वदलीय बैठक बसेर गणना सुरु गर्छौं,’ उनले भने । तर बिहान ७ बजे दमक ९ को सरस्वती माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेका थियौं । जहाँ स्थिति फरक थियो । साँझ आइपुग्दा अर्कै बन्यो ।
झापा ५ को सुरक्षालाई लिएर बिहान मतदान केन्द्रमा संशय भइरहेको थियो । ‘बिन्ती मेरो दु:ख बुझ्नुहोस् । गाह्रो छ,’ एक प्रहरीले मतदान केन्द्रभित्र जान दिएनन् । उनले सुरक्षाको कारण भन्दै दुई हात जोडेर फोटो भिडियो नखिच्न अनुरोध गरे ।

तर ‘माथिल्लो निकायबाट भनेपछि’ चाहिँ उनले अनुमति दिए । दिउँसो सिंहदेवी माध्यमिक विद्यालय दमक १० को मतदान केन्द्रमा पुग्यौं । जहाँ एक मतदान स्थलका प्रतिनिधि भनिरहेका थिए, ‘यो क्षेत्रमा संधै बढी हल्ला गरिन्छ । तर सबैभन्दा शान्त चुनाव हुने क्षेत्र झापा ५ हो ।’
कमल गाउँपालिका– ६ को वाणी माध्यमिक विद्यालय गोहाबारी, दमक नगरपालिका–७ श्री पृथ्वी माध्यमिक विद्यालय, दमक ९ को पाणिनी माध्यमिक विद्यालय लगायतको मतदान केन्द्रमा पनि पुग्यौं । जहाँ शान्तिपूर्ण मतदान भयो। बिहान ७ बजेदेखि खटिएका कर्मचारीहरू थकानमा देखिन्थे । तर मतदान सफल भएकोमा खुसी साटिरहेका थिए ।
‘गलेको शरीर भएपनि मतदान सफल भएकोमा बढी खुसी लागेको छ,’ पृथ्वी माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका एक कर्मचारी भनिरहेका थिए । सुरक्षा आशंका र भएकाबीच मतदान सम्पन्न भएकोमा सबै उत्साहित देखिन्थे । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी सुरक्षाको लागि तैनाथ थिए ।
झापा क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण मतदान भयो । यतिसम्म कि बिहान संशयबाट सुरु भएको दिन साँझ उल्लासका साथ सम्पन्न भयो । मतदान सकिएपछि मतदान केन्द्रमा कर्मचारीले ताली बझाएर मतपेटिकाको बिदाइ गरे । लाहाछाप लगाएको मतपेटिका त्यसपछि मतगणना स्थलमा पुर्याइयो । ओली र बालेनको टक्कर हामी ५ वटा मतदान केन्द्रमा पुगेका थियौं ।

युवादेखि ज्येष्ठ नागरिकसम्मका मतदातासँग संवाद गर्यौ । प्रत्येक बुथमा १०/१५ जनासँग कुरा गर्दा धेरैजसो मतदाताले परिवर्तनको पक्षमा मत दिएको बताए । उनीहरूको स्पष्ट संकेत थियो कोहीले केपी ओली र कोहीले बालेनतर्फ इंगित गरेका थिए । दुई उम्मेदवार मध्ये जसले जिते पनि झापाले नै प्रधानमन्त्री पाउनेमा उत्साहित देखिन्थे झापा ५ का मतदाता । ओली र बालेनले आफूलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर प्रतिस्पर्धा गरेका छन् ।
यो क्षेत्रका मतदाताले सांसद मात्र होइन प्रधानमन्त्री नै चुन्न लागेको टिप्पणी गरे । ‘जसले जिते पनि झापाकै प्रधानमन्त्री हो । भोट हाल्ने शौभाग्य पायौं । सांसद मात्र होइन प्रधानमन्त्री पनि चुन्ने अवसर पायौं,’ २८ वर्षीय सन्देश मोतेले दाबीका साथ भने ।
८६ वर्षीय सोमनाथ गिरी र ६२ वर्षीया सुलोचना अग्रवालले पनि यहि तर्क गरे । यतिसम्म कि यसपटक भोटै दिनको लागि मात्र विदेशबाट आएका युवा पनि भेटिए ।
‘म बाहिर बस्छु । भोट दिन मात्र आएको हुँ । राजनीतिक स्थिरता होस् भनेर भोट दिएको छु,’ नर्वेबाट आएका ३० वर्षीय कृष्णमोहन साहले भने ।

पहिलो पटक भोट दिन लागेको जेनजीहरू पनि उत्साहित देखिन्थे । पहिलो पटक मतदान गरेककी १८ वर्षीया लक्ष्मी साहले जेनजी आन्दोलनपछि मतदाता नामावलीमा नाम लेखाएकी थिइन् ।
‘अब जेनजी आन्दोलन अनुसार काम हुन्छ भन्ने विश्वास छ,’ उनले भने । युवा पुस्ताले नयाँ अनुहार हेर्न चाहेको खुलेर भने । धेरैजसो ज्येष्ठ नागरिक पनि नयाँ पुस्ता आउनु पर्नेमा उभिए ।
तर ३५–५० वर्षका भने मौन देखिन्थे धेरैजसो मतदाताले सुशान कायम, भ्रष्टाचार अन्त्य, देशमै रोजगारीका अवसर सिर्जना गर्नेगरी उम्मेदवारलाई मत दिएको बताए । यो क्षेत्रमा रहेको सुकुम्बासी समस्या, नागरिकता, जग्गाधनी प्रमाणपूर्जा, अस्पताल, शिक्षा लगायतका समस्या समाधान गर्न मत दिएको बताए । यो क्षेत्रमा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तर धेरैजसोले बालेन र ओलीको पक्षमा उभिएको भेटियो । तर नेपाली कांग्रेसबाट मन्धरा चिमरिया र नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङ प्रतिस्पर्धामा छन् । त्यसैगरी श्रम संस्कृति पार्टीका समीर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौला, मंगोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पङ राई छन् ।
त्यसैगरी जनमत पार्टीका अमृतलाल महतो, जनता समाजवादी पार्टी, नेपालका धिरेन सुब्बा, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टी सविन राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) संजय राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अमृत रसाइली, पिपुल पार्टी धर्मराज गुरागाई प्रतिस्पर्धामा छन् ।
अन्य ९ जना स्वतन्त्र उम्मेदवार छन् । डम्बर शाहु, खेमनाथ शिवाकोटी,मातृका भट्टराई,रञ्जना गौतम,शोभा भण्डारी,प्रकाश नेपाल,अर्जुन सापकोटा विपुल गुरागाई र पुष्कर खतिवडा रहेका छन् । यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता रहेका छन् । अब कसको जित हार हुने हो त्यो ब्यालेटले निर्णय लिने छ ।
प्रतिक्रिया 4