+
+

गृहले कामु नतोक्दा सिर्दिबासको इलाका प्रशासन कार्यालयमा सेवा ठप्प

विकास मरहट्टा विकास मरहट्टा
२०८० फागुन २१ गते १९:३८

२१ फागुन, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका सिर्दिबासस्थित इलाका प्रशासन कार्यालयको सेवा विगत एक सातादेखि ठप्प जस्तै छ ।

त्यहाँ कायममुकायम प्रमुखको रुपमा रहेका नायब सुब्बा रामप्रसाद शर्माको कार्यबाहक जिम्मेवारी नवीकरण नभएपछि सेवा प्रभावित भएको हो । यसअघि ६/६ महिनामा नवीकरण हुँदै आएको उनको कार्यबाहक पद १२ फागुनयता नवीकरण भएको छैन ।

‘६/६ महिनामा म्याद थप हुने गरी २०७७ साल पुस १६ गतेबाट मैले कामु शाखा अधिकृतको जिम्मेवारी पाउँदै आएको थिए, अन्तिम पटकको म्याद यही फागुन १२ गते सकियो’, शर्माले भने, ‘यसअघि म्याद सकिएको एक दिनमै गृह मन्त्रालयबाट थप गरिएको पत्र आउथ्यो तर यसपटक एक सातासम्म पनि केही जानकारी आएको छैन ।’

कायममुकायमको जिम्मेवारी नपाएका कारण उनी हाल गोरखा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा आएका छन् । मन्त्रालयको पत्रको पर्खाइमा रहेको बताउँदै शर्माले भने, ‘पत्र आयो भने माथि जाउँला अनि सेवा दिउला भनेर कुरिराखेको छु तर पत्र आएको छैन ।’

सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले इलाका प्रशासन कार्यालयका कामु प्रमुखको म्याद थप गरिदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको  बताए ।

उनका अनुसार धार्चे गाउँपालिकाको वडा नम्वर १, २, ३ र चुमनुब्री गाउँपालिकाका सातै वटा वडाका बासिन्दालाई नागरिकता, सीमा पास, नाबालक परिचयपत्र वितरण र अन्य केही सिफारिस प्रमाणित सोही कार्यालयबाट हुने गर्थ्यो । तर अहिले यी सबै सेवाका लागि त्यस क्षेत्रका बासिन्दा दुई दिन धाएर सदरमुकाम आउनुपर्छ ।

सिर्दिबासबाटै पाउने सेवाका लागि जिल्ला सदरमुकाम धाउनुपर्दा स्थानीयले निकै सास्ती खेप्नुपर्ने चुमनुब्री गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कर्मा छेवाङ लामाले बताए ।

‘एक त बाटो यसै लामो भयो, अर्काे बजार आउनुपर्दा खर्च पनि धेरै लाग्ने भयो’, उनले भने, ‘अब बर्षायाम पनि सुरु हुन लाग्यो, बाटोमा पहिरो जाने हुँदा हिँड्न पनि जोखिम हुन्छ ।’ त्यस क्षेत्रका बासिन्दाको नागरिकतालगायतका विवरण ढड्डा पनि सिर्दिबास कार्यालयमै भएकाले जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन झञ्झट हुने उनले गुनासो गरे ।

पत्र नआएपनि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउन बाध्य भएका माथिल्लो क्षेत्रका स्थानीयलाई आवश्यक सहयोग र सहजीकरण गरिहेको शर्मा बताउछन् । ‘नागरिकता वा प्रतिलिपी बनाउन आउनेहरुलाई माथि कार्यालयमा भएको ढड्डाको फोटो हेरेर यहाँ प्रशासन कार्यालयमा पनि सहजीकरण गरिरहेको छु’, उनले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले इलाका प्रशासन कार्यालयका कामु प्रमुखको म्याद थप गरिदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको  बताए । ‘कामु म्याद थप गर्नका लागी भन्दै हामीले फागुन ११ गते नै मन्त्रालयमा पत्राचार गरेका हौ, तर अहिलेसम्म केही जवाफ आएको छैन’, उनले भने ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २०६८ चैतमा गोरखाको सिर्दिबासमा एकीकृत सेवा केन्द्र स्थापना गरिएको थियो । २०३५–०३६ सालमा स्थापित सीमा प्रशासन कार्यालयलाई नै एकीकृत सेवा केन्द्र नाम दिइएको थियो ।

२०६९ सालमा शाखा अधिकृतस्तरका कार्यालय प्रमुखको दरबन्दी राखेर नागरिकता वितरण, चीन जाने सीमा पास वितरण लगायतका काम सुरु गरिएको थियो ।

२०७५ साउन १ गते एकीकृत सेवा केन्द्रको नाम परिवर्तन गरेर इलाका प्रशासन कार्यालय बनाइएको थियो । २०६९ सालदेखि शाखा अधिकृतस्तरका कर्मचारी बसे पनि २०७४ पुसदेखि भने यहाँ शाखा अधिकृत पद रिक्त छ । नायब सुब्बा तहका कर्मचारीलाई कायम मुकाम प्रमुखको जिम्मेवारी दिँदै काम चलाउने गरिएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?