+
+

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान   

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १६:५८

२१ फागुन, चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् ।

जिल्लामा उत्पादित दूधमध्ये दैनिक ६० हजार लिटर बिक्री हुन नसक्दा प्रतिलिटर ७० रुपैयाँको हिसाबले ४२ लाख रुपैयाँ किसानले घाटा व्यहोरेका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरुले सो मात्रामा दूध बिक्री गर्न नपाएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि सहकारीहरुले किसानबाट संकलन गरेका दूध बिक्री भएका छैनन् ।

साउन यताको भुक्तानी ५२ करोड रुपैयाँ पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ ।

दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दूध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दूध हिजोआज बिक्री हुन नसकेको हो ।

सरकारले किसानको पैसा दिने सहमति गरे पनि बिक्री भइसकेको दूधको पनि अहिलेसम्म किसानले पैसा नपाएको र अहिले दूध समेत बिक्री हुन छाडेको उनले गुनसो गरे । ‘सहमति भएको छ । तर कार्यान्वयनमा आएको छैन’, उनले भने, ‘सहमतिअनुसार आइतबारबाट दूध उठ्नुपर्ने भए पनि आजसम्म दूध उठेको छैन ।’

दूध लैजाने उद्योगहरुले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उनले उपभोक्ताले महङ्गो मूल्यमा दूध खानु परेको बताए । बगालेले भने, ‘दूध नउठ्ने र पैसा पनि नपाउने समस्या रहिरहे आन्दोलनमा जानुको विकल्प छैन ।’ चितवनसहित पाँच जिल्लाका किसानले एक साथ आन्दोलनमा जाने तयारी गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?