+
+

स्थल र हवाई नाका सबै खुले, बढेनन् चिनियाँ पर्यटक

सी एन्ड के नेपाल ट्राभल्सका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठका अनुसार सरकारले २०२३–३३ लाई पर्यटक दशक घोषणा गरे पनि यसबीच के कार्यक्रम गर्ने, कहाँ गर्ने, पर्यटक कसरी भित्र्याउने जस्ता कुनै पनि तयारी सरकारले गरेको छैन ।

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन २२ गते २०:००

२२ फागुन, काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच स्थल तथा हवाई नाका पूर्णक्षमतामा चल्दा पनि चिनियाँ पर्यटक आगमन अपेक्षित बढ्न सकेको छैन ।

कोभिड-१९ महामारीका कारण चीनले हवाई र स्थल दुवै नाकाबाट आवतजावत रोकेको थियो । सन् २०२३ सुरुबाटै नाका सुचारु भए पनि चीनबाट आउने पर्यटक अझै अपेक्षित वृद्धि हुन सकेको छैन ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२३ मा ६ हजार ८ सय ८० चिनियाँ नेपाल भ्रमणमा आएका थिए । त्यसको पाँच महिनापछि फेब्रुअरी २०२४ मा ९ हजार १ सय ८० आए ।

यो संख्या आगमनका दृष्टिले दोस्रो ठूलो रहे पनि चिनियाँ र अमेरिकी पर्यटकबीच ठूलो अन्तर छैन । यो महिना अमेरिकाबाट ९ हजार ८९ जना नेपाल आएका छन् ।

यसमा चिनियाँ पर्यटक भित्र्याउन नेपालको कमजोर पहल र चिनियाँ अर्थतन्त्रमा पछिल्लो समय देखिएको सुस्तता मुख्य कारण रहेको सरोकारवाला बताउँछन् ।

कोभिड महामारीपछि नेपालका तर्फबाट चीनमा एउटा पनि प्रवर्द्धनको काम भएको छैन । अहिले जति पर्यटक आएका छन्, त्यो निजी ट्राभल कम्पनीको पहल र चिनियाँ पर्यटकको आफ्नै रोजाइमा आइरहेको सी एन्ड के नेपाल ट्राभल्सका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ बताउँछन् ।

‘नेपालको सबैभन्दा ठूलो स्रोत बजारमा प्रवर्द्धनको काम ठप्प छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘जति आएका छन्, त्यसमा निजी क्षेत्र र पर्यटक स्वयम्को पहलमा आएका हुन् ।’

चीनमा नेपाल प्रवर्द्धनको काम ठप्प रहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछाने स्वीकार्छन् ।

‘चीनमा कोभिडयता कुनै पनि प्रवद्र्धनको काम भएकै छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रवर्द्धनमा लगानी गर्न नसक्दा अपेक्षित संख्या बढ्न नसकेको हो ।’

अहिले नेपाल प्रवर्द्धनमा नेपाल सरकारभन्दा बढी नेपालस्थित चिनियाँ दूतावास बढी सक्रिय रहेको देखिन्छ । दूतावासकै पहलमा काठमाडौंमा चिनियाँ नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएका थिए । यसबाहेक दूतावासकै पहलमा पोखरामा जहाज चार्टर्ड गरी खेलाडी ल्याएर ड्र्यागन रेससमेत आयोजना गरिएको थियो ।

अहिले नेपालबाट चीनको छेन्दु, बेइजिङ, ग्वाङझाउ, ल्हासा, साङ्‍घाईसहित सहरमा सिधा उडान सुचारु भइसकेको छ । एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न, हिमालय एयरलाइन्स, सिचुआन एयरलाइन्स र तिब्बत एयरलाइन्सले नेपाल उडान सुचारु गरिसकेका छन् । स्थलतर्फ रसुवागढी नाकाबाट पनि पर्यटक भित्रिन सक्ने गरी सुचारु भएको छ । मुस्ताङको कोरला नाकासमेत खुला भएको छ ।

प्रवर्द्धनमा लाग्ने निकाय नै नेतृत्वविहीन, राज्यको प्राथमिकतामा परेन पर्यटन

कोभिड महामारीपछि आक्रामक बजार प्रवर्द्धनमा लाग्नुपर्ने नेपाल अहिले पनि सुस्ताइरहेको छ । पर्यटन बोर्ड यतिबेला नेतृत्वविहीन छ । अघिल्लो नेतृत्वमा रहेका धनञ्जय रेग्मीको प्राथमिकतामा नेपाल गन्तव्य प्राथमिकतामा थिएन । उनले पर्यटनभन्दा फरक विधाका कार्यक्रम नेपालमा आयोजना गर्दै बजेट सकेका थिए । अर्कातर्फ, बोर्डले बजेट अभावकै कारण प्रमुख गन्तव्यमा प्रवर्द्धनका कार्यक्रम लैजान सकेको छैन ।

सरकारको अस्थिर नीति, नेतृत्वले पर्यटनलाई प्राथमिकता नदिनु र चिनियाँ पर्यटक लक्षित कुनै पनि कार्यक्रम र प्याकेज ल्याउन नसक्दा समेत चीनबाट अपेक्षित पर्यटक आउन नसकेको निजी क्षेत्रको गुनासो छ ।

‘पर्यटन मुलुकको अर्थतन्त्रको मुख्य आधार हो, तर सबैभन्दा नजिकका छिमेकी मुलुकबाट पर्यटक ल्याउन राज्यको खाका खै ?,’ सी एन्ड के नेपाल ट्राभल्सका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ भन्छन्, ‘नेपाल सरकारले २०२३–३३ लाई पर्यटक दशकका रूपमा घोषणा गरेको छ । तर, यसबीच के कार्यक्रम गर्ने, कहाँ गर्ने, पर्यटक कसरी भित्र्याउने जस्ता कुनै पनि तयारी सरकारले गरेको छैन ।’

चिनियाँ अर्थतन्त्रमा आएको सुस्तताको भूमिका कति ?

पछिल्लो समय चिनियाँ अर्थतन्त्रमा सुस्तता आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरिरहेका छन् । यसले स्वभाविक रूपमा नागरिकमा समेत प्रभाव पारेको देखिन्छ ।

सी एन्ड केका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार अहिले चीनमा धेरैजसो उडान नियमितभन्दा पनि ‘चार्टर्ड बेस’ मा भएका छन् । यस्तो उडान सामान्यभन्दा महँगो हुन्छ । यसले आमपर्यटक सजिलै आउने वातावरण बन्न सक्दैन ।

अर्कातर्फ, नेपालबाट उडान गरिरहेका चिनियाँ एयरलाइन्सले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली र युरोप तथा अमेरिकी पर्यटकलाई नेपालमा सेवा दिइरहेका छन् ।

नेपालबाट युरोपको सिधा उडान टर्किस एयरलाइन्सले मात्र गर्छ । अन्य युरोपेली र अमेरिकी देशमा नेपालबाट सिधा उडान नहुँदा चीन वा खाडी राष्ट्र ‘ट्रान्जिट’ गरी जानुपर्छ ।

अहिले नेपालमा भारतीय पर्यटक आगमन भने उत्साहजक छ । यसमा भारतको उदाउँदो अर्थतन्त्रले समेत काम गरेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?