+
+

नेपालमा अब खर्चिला चिनियाँ पर्यटक भित्र्याऔं

हामीले नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ ।

निनाम लोवात्ती निनाम लोवात्ती
२०८० चैत १५ गते १०:५९
विमान चार्टर गरेर नेपाल आएका चाइनिज पर्यटकसँग एयर्पोर्टमा तत्कालीन पर्यटनमन्त्री सुदन किराँती

हुनत सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर सुरु भएको कोरोना महामारीपछि चीेन सरकारले आफ्ना देशका नागरिकहरुलाई पर्यटक भई घुम्न जान निषेध गरेको थियो । तर सन् २०२३ को सुरुताका दुई चरण गरेर आफ्ना देशका नागरिकहरुलाई विदेश भ्रमण गर्न अनुमति दिएको थियो । पहिलो चरणमा २० देशमा जान अनुमति दिएको थियो भने दोस्रो चरणमा ४० देशमा ।

पहिलो चरणमा चीन सरकारले आफ्ना देशका नागरिकहरुलाई पर्यटक भई विदेश भ्रमणमा जान दिएको २० वटा देशहरुमा हाम्रो देश नेपाल परेको थिएन । तर दोस्रो चरणमा चाहिँ चीन सरकारले आफ्ना देशका नागरिकहरुलाई विदेश भ्रमणमा जान योग्य देशमा नेपाललाई पनि पारेको थियो ।

जे होस् चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले पहिलो चरणमा आफ्ना देशका नागरिकहरुलाई सन् २०२३, पेब्रुअरी ६ तारिखदेखि विदेश भ्रमण गर्न योग्य देशका रुपमा अनुमति दिएका २० वटा देशहरु थिए । ती देशहरु थाइल्यान्ड इन्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, संयुक्त अरब इमिरेट्स, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्वीटजरल्यान्ड, हंगेरी, न्युजिल्यान्ड, फिजी, क्युबा र अर्जेन्टिना हुन् । चिनियाँ पर्यटकहरुको हालको प्रथम रोजाइका देशहरुमा जापान, दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया, नर्बे, फ्रान्स, जर्मनी, अष्ट्रिया, इटली, पोर्चुगल आदि परेका छन् ।

हालसालै चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित संस्था ‘चाइना आउटबाउन्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा एक सय ७० मिलियन चिनियाँ नागरिक पर्यटकको रुपमा विश्वका विभिन्न देश घुम्न गएका थिए भने, सन् २०२३ मा पनि एक सय १० मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विदेश भ्रमणमा निक्लिएको अनुमान छ । त्यस्तै सन् २०१९ मा चिनियाँ पर्यटकले विश्वका विभिन्न देश घुम्ने क्रममा दुई सय ५४ दशमलब ६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए ।

चिनियाँ नागरिक जो पर्यटक भएर विश्व भ्रमण गर्न जाने गरेका छन्, केही वर्षदेखि उनीहरु विश्वकै धेरै पर्यटकका रुपमा दरिएका छन् । त्यस्तै चिनियाँ पर्यटकहरु विश्वकै धेरै खर्च गर्ने पर्यटकका रुपमा पनि दरिन थालेका छन् । त्यही भएर पनि विश्वका विभिन्न देशले आ-आफ्नो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ बनाएका छन् । जस्तो कि, पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले त केही वर्ष अघिदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’मा आफ्नो देश घुम्न दिने गरेको छ । त्यस्तै ट्रिप डट कमको, डाटा ग्रुपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बर अन्तिम ताका मात्रै दुई सय ५४ प्रतिशत चिनियाँ नागरिकले अन्य देशको भ्रमणमा जानका लागि एयर टिकट काटेका थिए ।

नेपालले पनि चिनियाँ पर्यटक धेरैभन्दा धेरै भित्र्याउनका लागि चीनको ठूलो र धेरै जनसंख्या बसोवास गर्ने सहरहरु चोङकिङ, साङघाई, बेइजिङ, छेङदु, ग्वाङझाओ, शेनजेन, तियानजिन, वुहान, शुझोउ, हार्बिन लगायत सहरमा चीन-नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ ।

त्यस्तै चिनियाँ एयरलाइन्सहरु साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयर, शाङ्घाई एयर, शेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा कम्तिमा हप्ताको एक-एक उडान गराउन पहल गर्नुपर्ने देखिन्छ । अझ संभव भएदेखि हप्तामै २०-२२ उडान गर्न सके झनै राम्रो हुन्छ ।

हुनत १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी बेइजिङमा आफ्नो उडान फेरि सुरु गरिसकेको छ । त्यस्तै नेपाल एयरलाइन्सले पनि चीनको राजधानी बेजिङ, गुइयाङ, चाङसा, शेनजेन लगायत सहरमा उडान गर्ने तयारी गरिरहेको भन्ने समाचार आएको छ ।

खासमा सन् २००३ देखि मात्रै चिनियाँ नागरिकहरु पर्यटकका रुपमा नेपाल आउन थालेका हुन् । सो वर्ष ७ हजार ५ सय ६२ जना चिनियाँ पर्यटकहरु नेपाल भित्रिएका थिए । त्यसयता चिनियाँले पर्यटकको संख्या लगातार बढेको थियो, गएको दुई/तीन वर्ष (सन् २०२०, २०२१, २०२२ मा) बाहेक । त्यसैले हामीले अबको नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ ।

धेरै वर्ष अघिदेखि नै नेपाल आउने विदेशी पर्यटक खर्चालु पनि होस् भनेर बहस र छलफल चलाइएको भएपनि हालसम्म त्यसरी मन फुकाएर खर्च गर्न सक्ने पर्यटक धेरै कम संख्यामा मात्रै आइरहेका छन् । स्थानीय रुपमा होटल, होमस्टे, गेस्टहाउस तथा लज चलाउने व्यवसायीहरुका अनुभवमा आजभोलि बरु आन्तरिक पर्यटक -नेपालीहरु) ले पो विदेशी पर्यटकहरुले भन्दा बढी खर्च गर्ने गरेका छन् ।

विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रुपमा विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरुले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ ।

त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तै चिनियाँ पर्यटकहरु नेपालमा ४/५ दिनदेखि ९/१० दिनसम्म बिताउनेहरु बढी देखिन्छन् । हुन त चिनियाँ पर्यटकहरु ट्रेकिङ, र्‍याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरुलाई आर्थिक रुपमा भने भारतीय एवम् अन्य देशका पर्यटकहरु भन्दा चिनियाँ पर्यटकहरुबाट धेरै फाइदा भइरहेको देखिन्छ । तापनि हामीले सकेसम्म धेरैभन्दा धेरै डिलक्स, लक्जरियस र सक्दो खर्च गर्न सक्ने खालका चिनियाँ पर्यटक भित्र्याउने प्रयासमा लाग्नु पर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?