+
+

भगाएर लैजान नपाएपछि हत्या

धीरेनले सम्झनासँग इमोमार्फत चिनजान भएको दाबी गरेका छन् । करिब एक वर्षअघि नेपाल फर्किएका धीरेनले १३ असारमा सम्झनालाई भगाएर लैजाने प्रयार गरेका थिए ।

हरि अधिकारी हरि अधिकारी
२०८० फागुन २२ गते २०:००
हत्या आरोपमा पक्राउ परेका धीरेन चौधरी ।

२२ फागुन, विराटनगर । मोरङको पथरी शनिश्चरेमा एक किशोरीको विभत्स हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरामा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरी छन् ।

पथरी शनिश्चरे नगरपालिका– ७ लामा टोल बस्दै आएकी १५ वर्षीय सम्झना भनिने ज्ञानमती थुलुङ राईको सोमबार राति करिब साढे १० बजेतिर शौचालय जान घरबाहिर निस्किएको बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा चौधरीलाई राति करिब साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

भगाएर लैजाने प्रयास

खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी किशोरीका बुबा छैनन् । दुई वर्षअघि मामाका छोरा दाजु विनोद राईको घरमा बसेर पढ्न पथरी आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने उनले बाँकी समय दाजुको घरमै भएको पसलमा काम सघाउँदै आएकी थिइन् ।

प्रहरीका अनुसार घर पछाडिको आँगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या अभियोगमा पक्राउ परेका धीरेन भने सिमराका हुन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार उनी वैदेशिक रोजगारीका लागि कुवेत गएका थिए भने उनकी श्रीमती पनि वैदेशिक रोजगारीका क्रममा कतारमा छिन् ।

पछिल्लो समय श्रीमतीसँग राम्रो सम्बन्ध नभएका धीरेनले सम्झनासँग इमोमार्फत चिनजान भएको दाबी गरेका छन् । करिब एक वर्षअघि नेपाल फर्किएका धीरेनले १३ असारमा सम्झनालाई भगाएर लैजाने प्रयार गरे ।

विराटनगर रानी बोर्डर हुँदै भारत जाँदै गर्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था ‘सुनौला हातहरु’का प्रतिनिधिले दुबैलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो ।

प्रहरीले दुबैलाई कागज गरेर परिवारको जिम्मा लगायो । परिवारका सदस्यले सम्झनालाई पनि धीरेनबाट टाढा रहन सम्झाए । धीरेनलाई पनि फोन गरेर पिछा नगर्न भनेका थिए, तर उनी रोकिएनन् । सम्झनाको नाममा फेसबुक, इस्टाग्राम र इमो खोलेर जथाभावी पोष्ट गर्न थाले । परिवारका सदस्यलाई पनि आपत्तिजनक तस्वीरहरु पठाएर तनाव दिए ।

सोमबार बाराको जितपुर सिमराबाट पथरी आइपुगेका चौधरीले सम्झानाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घर पछाडिको आगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जुत्ताको डामले खुल्यो कारण

हत्याको सूचनापछि राति ११ बजे प्रहरी उपरीक्षक कार्कीसहितको टोली घटनास्थल पुगेको थियो । परिवारका सदस्यहरुसँग सोधपुछ गर्दा असारमा धीरेनले लिएर गएको बताए । लगतै प्रहरीले सम्भावित नाकामा कडाइ गर्‍यो, घरमा टोली पठायो । तर धीरेन तीन महिनादेखि गएका थिएनन् ।

प्रहरी गस्तीमै थियो, राति साढे २ बजेतिर पूर्वपश्चिम राजमार्गको भाउन्ने चोकमा सडक किनारमा एक व्यक्ति हिँडिरहेका देखिए । प्रहरी देखेपछि उनी जंगलतर्फ भागे । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिर्तामोडबाट फर्किएको बताए । प्रहरीले उनी नै घटनामा संलग्न अभियुक्त हुनसक्छ भनेर शंका गरेको थिएन, तर स्पष्ट जवाफ नदिएका कारण नियन्त्रणमा लियो ।

सम्झनाको हत्याको अनुसन्धान गरिरहेको टोलीले भने घटनास्थल क्षेत्रमा तरकारी रोप्न तयार गरिएको बारीमा जुत्ताको डाम देख्यो । चौधरीले लगाएको जुत्ता र घटनास्थलमा डाम देखिएको जुत्ता ठ्याक्कै मिल्यो ।

त्यसपछि धीरेनले मृतक आफ्नो पे्रमिका भएको स्वीकार गरे । केरकार गर्दा हत्या आफैंले गरेको बयान दिए ।

‘घटना घटाउँदा लगाएको कपडा पनि फेरेर हिँडेको देखिन्छ’, प्रहरी उपरीक्षक कार्कीले भने, ‘लगाएको जुत्ता र घटनास्थल छेउको जुत्ताको डाम मिल्यो, कनेक्सन केलाउँदै जादा उसैले गरेको देखियो ।’ उनका अनुसार बालिकालाई बोलाएर हत्या गरेको हो वा शौचालय जाँदा ढुकेर हत्या गरेको हो भन्ने स्पष्ट खुलेको छैन ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?