+
+

कांग्रेसको निष्कर्ष : माओवादी अस्थिर, प्रचण्ड राजनीतिक बेइमान

लिलु डुम्रे लिलु डुम्रे
२०८० फागुन २२ गते २१:२८

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धन तोडेको माओवादी केन्द्रलाई सबभन्दा अविश्वसीय शक्ति, अनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको छ । साथै भावी दिनमा माओवादीसँग सहज सहकार्य नहुने समेत कांग्रेस नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीले एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेस केन्द्रदेखि प्रदेशमा सरकारबाट बाहिरिएको छ । विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवासमा कार्यसम्पादन समिति बैठक बसेको थियो ।

बैठकले गठबन्धनप्रति प्रतिवद्ध हुँदाहुँदै प्रचण्डले २०७९ पुस र अहिले गरी दुई पटक धोका दिएको निष्कर्ष निकालेको छ । माओवादीले गठबन्धनसँगै निर्वाचनका बेला जनतासमक्ष गरेका वाचा समेत तोड्ने काम गरेको कांग्रेसले बताएको छ ।

‘निर्वाचनमार्फत मतदाताले दिएको म्याण्डेटप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो । तर त्यो म्याण्डेटलाई कुठाराघात गर्दै दोस्रो पटक पनि उहाँ (प्रचण्ड) अविश्वसनीय ढंगले अग्रसर हुनु भएपछि नेपाली कांग्रेस सहमत रहनसक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन’, कांग्रेसको निर्णयमा भनिएको छ, ‘कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै प्रधानमन्त्रीको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको छ ।’

बैठकले प्रचण्ड सरकारलाई २६ पुस २०७९ मा दिएको दिएको समर्थन फिर्ता लिएको छ ।

बैठकमा नेताहरुले गठबन्धन टुट्नुमा कांग्रेसको भूमिका नरहेको बताएका छन् । गठबन्धन ताड्नुको कारण भनेर माओवादीले देखाएको कोशी प्रदेश प्रकरण, मन्त्री हेरफेर गर्न नदिएको, महासमितिमा पेश भएको प्रतिवेदन बहाना मात्र भएको नेताहरुले बताए ।

‘माओवादीले गठबन्धन तोड्न पर्नुका जति कारण भनेको छ, सबै बहाना हुन्’ बैठकमा उठेका विषयबारे महामन्त्री गगन थापाले भने, ‘आज नभए भोलि कुनै न कुनै बेला प्रचण्डले धोका दिन्थे भन्ने मत आएको छ ।’

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको बाक्लो भेटघाटमा आफूहरुले प्रश्न गर्दा प्रचण्डले ढाँटेको सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले सुनाए । प्रचण्डले नयाँ गठबन्धन बनाउन लागेको सुइँको पाएर पटक पटक भेटेर कुरा गरेको बैठकमा उपसभापति खड्काले सुनाएका थिए ।

प्रत्येक भेटमा प्रचण्डले आश्वस्त पारेको भन्दै देउवाले भने, ‘प्रधानमन्त्रीले गठबन्धन तलमाथि नहुने भन्नुभयो, हामीले पत्यायौं । तर प्रचण्डले ढाँटेका रहेछन् ।’

पछिल्लो समय आइतबार विहान पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा भेट भएको थियो । त्यसैदिन प्रधानमन्त्री प्रचण्डसँग भेट्न रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । ‘उनीहरुलाई भेट्दा हामीलाई थप सूचना आए । प्रधानमन्त्रीलाई गठबन्धन केही हुन लागेको हो र भनि सोध्यौं । उनले टीआरसीको विषय भनेर ढाँटे,’ बैठकमा सभापति देउवा र खड्काको भनाइ थियो ।

गठबन्धन भत्किनुको कारणबारे समीक्षा गर्दै कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक इमान्दारिता नभएको व्यक्तका रुपमा चित्रण गरेको छ । ‘प्रचण्ड धोकवाज मात्रै होइनन्, राजनीतिक बेइमान पनि हुन् भन्ने बैठकको सार रह्यो,’ कांग्रेसका नेता भन्छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार कतिपयले नयाँ गठबन्धन धेरै नटिक्ने विश्लेषण गरेका थिए । तर कांग्रेस सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने अर्जुननरसिंह केसी बताउँछन् । उनले भने, ‘प्रतिपक्षमा बस्छौं, जनसरोकारका विषय संसददेखि सडकसम्म प्रभावकारी रुपले उठाउँछौं’ केसीले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?