+
+

सत्ता गठबन्धनको विपक्षमा बस्ने राप्रपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १९:१९

२८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेको सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।

२६ फागुनदेखि ३ दिनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहलेको गठबन्धनको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‍

‘राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश सरकारमा पनि तत्त्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ’, राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

२१ फागुनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ गठबन्धन बनाएका छन् । गठबन्धनका नेताहरुका अनुसार यो गठबन्धनमा राप्रपालाई सहभागी नगराउने सहमति भएको छ । तर केही प्रदेशमा गठबन्धनको सरकार निर्माणका लागि राप्रपा निर्णायक छ । तर राप्राले केन्द्र र प्रदेश सबैतिर गठबन्धनको विपक्षमा रहने निर्णय गरेको छ ।

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे माग बुझाएर पूरा गराउन दबाब दिन १६ चैतमा काठमाडौंमा प्रदर्शनको कार्यक्रम राखेको थियो । माध्यमिक शिक्षा परीक्षा (एसईई) परेकाले विद्यार्थीको असुविधा र संवेदनशीलतालाई ध्यान दिएर काठमाडौं केन्द्रित प्रदर्शन २७ चैतमा सारिएको राप्रपाले जनाएको छ ।

‘पार्टीले गर्न लागेको बृहत जनप्रदर्शनको स्वरूप तय गर्न पार्टीका बरिष्ठ नेता उपाध्यक्षहरू र सबै उपाध्यक्षहरु रहने गरी समिति गठन गर्ने र सो समितिले तीन दिनभित्र अध्यक्षलाई प्रतिवेदन दिने निर्णय गरिएको छ’, वैठकपछि प्रचार विभाग प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले कोशीको सभामुख चयनका क्रममा प्रदेशस्तरबाट निर्णय गर्नु कमजोरी भएको स्वीकार गरेको छ । ‘राष्ट्रिय राजनीतिमा केन्द्रीय स्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु, गरिनु उपयुत्त होइन यो दृष्टिकोणलाई हाल कोसी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएको छ। भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय भएको छ’ निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?