+

घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)

२०८० फागुन  २९ गते १७:३५ २०८० फागुन २९ गते १७:३५
घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)

पहिले कसैलाई घुँडा दुख्ने समस्या देखा परे औषधि खाने, घुँडा सुन्निएको छ भने स्टेरोइड सुई लगाउने, फिजियोथेरापी गर्ने र यतिले समस्या समाधान नभए शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो । अहिले चिकित्सा विज्ञानले औषधि, फिजियोथेरापी र शल्यक्रियाबाहेक पनि घुँडा दुखाइको उपचारमा विभिन्न विकल्प विकास गरेको छ ।

घुँडाको दीर्घकालीन दुखाइ, घुँडा खिइने समस्यामा शल्यक्रिया मात्र समाधान होइन । यस्तो समस्यामा प्लेटलेट रिच प्लाज्मा (पीआरपी) थेरापी पनि विकल्प हुनसक्छ । प्लेटलेट रिच प्लाज्मा थेरापी सुरक्षित र प्रभावकारी उपचार हो, जुन चोटपटक निको पार्न र दीर्घकालीन दुखाइ कम गर्न गर्न प्रयोग गरिन्छ ।

यो उपचारमा बिरामीको शरीरबाट रगत निकालिन्छ । एउटा प्रक्रियामार्फत प्लाज्मा प्लेटलेट ट्युबमा संकलन गरिन्छ । त्यसपछि यसलाई बिरामीको घुँडामा राखिन्छ । यो प्लाज्मामा प्लेटलेट्स र ग्रोर्थ फ्याक्टर धेरै मात्रामा हुन्छ । जुन क्षतिग्रस्त तन्तुहरूको विकास गर्न उपयोगी हुन्छ । ८० प्रतिशत बिरामीलाई यसले फाइदा हुन्छ ।

पीआरपी थेरापीसँगै बिरामीको अवस्था हेरेर हाइड्रोलिक एसिड इन्जेक्सन दिइन्छ । साथै रेडियो फ्रिक्वेन्सी एबलेसन र क्रायोएबलेसन भन्ने मेसिनको सहायताले दुखाइ हुने नसालाई तातो तथा चिसोको माध्यमबाट मार्ने प्रविधिबाट पनि उपचार गरिन्छ । यो प्रविधिमा दुखाइ हुने नसालाई मात्र मारिन्छ ।

कस्तो अवस्थामा यो उपचार उपयोगी ? 

बिरामीको घुँडाको भिडियो एक्सरे गर्दा घुँडा कति खिइएको छ,  पानी जमेको छ कि छैन, कति जमेको छ, सुन्निएको छ कि छैन भन्ने कुरा पत्ता लाग्छ । एक्सरे हेरेर ग्रेडिङ गरिन्छ पहिलो, दोस्रो, तेस्रो र चौथो ।  घुँडा पूरै खिइएको छैन केही मात्रामा कुरकुरे हड्डी बाँकी छ भने पीआरपी थेरापी उपयोगी हुन्छ ।

विशेष गरेर पहिलो, दोस्रो र तेस्रो चरणको समस्यामा रहेका बिरामीलाई प्लेटलेट रिच प्लाज्माले घुँडा थप बिग्रिनबाट जोगाउँछ भने दुखाइ समेत कम हुन्छ । घुँडा पूरै खिइएको छ, धेरै सुन्निएको छ भने पीआरपी उपयोगी नहुन सक्छ शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

घुँडा खिइएको र लिगामेन्ट च्यातिएको लगायत समस्यामा यो उपचार उपयोगी हुन्छ । कति बिरामीहरूमा शल्यक्रियापछि पनि यो उपचार गरिन्छ । सबै बिरामीको घुँडाको जोर्नी प्रत्यारोपण गर्न सम्भव हुँदैन । कसैको आर्थिक कारणले होला, कसैलाई विभिन्न खालका दीर्घरोग लागेर हुनसक्छ ।  दीर्घरोग लागेका व्यक्तिलाई घुँडाको प्रत्यारोपण गर्न कठिन हुन्छ । यस्ता बिरामीका लागि प्लाज्मा थेरापी अझै उपयुक्त हुन्छ ।

सामान्यतया दुई पटक यो थेरापी गर्नुपर्छ । तर शल्यक्रिया गर्नुपर्ने अवस्थामा छ, तर शल्यक्रिया नगरी पीआरपी गर्छु भन्नेहरूले भने सात पटकसम्म पनि गर्नुपर्ने हुन्छ ।

दीर्घकालीन रूपमा केही साइडइफेक्ट पो हुन्छ कि ?

यो उपचार पद्धतिको सबैभन्दा राम्रो पक्ष भनेकै साइड-इफेक्ट नहुने हो । यो उपचारमा औषधिको प्रयोग हुँदैन, जसले गर्दा साइड-इफेक्ट पनि नहुने भयो । कहिलेकाहीं इन्जेक्सन लगाउँदा इन्फेक्सन हुने सम्भावना हुन्छ । तर विशेषज्ञ चिकित्सकबाट उपचार गरियो भने यो समस्या पनि देखा पर्दैन ।

रेडियो फ्रिक्वेन्सी एबलेसन मेसिनले दुखाइ हुने नसा मार्न ‘हिट जेनरेट’ तातो निक्लिने भएकाले नसाको वरपरको तन्तुलाई पनि क्षति पराउने भएकाले १० देखि १५ दिन दुख्ने पोल्ने समस्या हुन्छ । क्रायोएबलेसनमा भने चिसोको माध्यमबाट त्यो नसालाई नष्ट गरिने हुँदा यस्ता समस्या देखा पर्दैन ।

बिरामीलाई यो प्रविधिको बारेमा खासै जानकारी छैन

घुँडा दुखाइ लगायत शरीरको अन्य भागको दीर्घकालीन दुखाइमा औषधि, फिजियोथेरापी र शल्यक्रियाबाहेक अन्य उपचार विधि पनि छ भन्ने जानकारी धेरै बिरामीलाई छैन । कोही बिरामीले उपचार गएर गए भने उनीहरूको आफन्त पनि यो उपचार गर्न आउँछन् । यो थेरापी पटक-पटक गरिरहनुपर्छ भन्ने पनि धेरैलाई लाग्छ । तर सामान्यतया दुई पटक गरे पुग्छ ।

पहिले भन्दा यो उपचार गर्ने बिरामीको संख्या तुलनात्मक रूपमा बढ्दो छ । २०१६ मा यो उपचार गर्न महिनामा एक जना बिरामी आउँथे भने अहिले दैनिक १० देखि १२ जना बिरामी आउँछन् ।

घुँडाबाहेक अन्य ठाउँको दुखाइमा पनि उपयोगी

घुँडाबाहेक पैताला पोल्ने, दुख्ने, कुर्कुच्चाको दुखाइ, ढाडको दुखाइ, कुमको दुखाइ लगायत जहाँ जहाँ मासंपेशी दुखाइ छ त्यो ठाउँमा यो उपचार विधि उपयोगी हुन्छ ।

दुखाइबाहेक जनै खटिराको उपचार र  कपाल उमार्न पनि पीआरपी थेरापी प्रयोग हुन्छ ।

कति लाग्छ खर्च ?

पीआरपी उपचार सजिलो र कम खर्चिलो उपचार पद्धति हो । एउटा घुँडामा पीआरपी गर्दा करिब तीन हजार रुपैयाँ खर्च लाग्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

घुँडा दुखाइ डा. अनुजजंग रायमाझी
डा. अनुजजंग रायमाझी
लेखक
डा. अनुजजंग रायमाझी
दुखाइ विशेषज्ञ

डा. रायमाझी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)मा कार्यरत छन् । उनले एनेस्थेसियोलोजी र क्रिटिकल केयरमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ४९९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय