+
+

डा. महतले खुलाए प्रधानमन्त्रीसँग असहमतिका विषय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १९:४७

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोड्नुमा आफूलाई पनि कारक ठानेपछि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार स्पष्टीकरण दिए ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले आफूले राज्य स्रोतमा मितव्ययिता अपनाएको र प्रधानमन्त्रीबाट आएका केही अनुचित प्रस्तावमा बजेट दिन इन्कार गरेको जिकिर गरे ।

सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएकाहरुलाई मन्त्रिपरिषदबाट शहीद घोषणा गर्ने निर्णयमा असहमति रहेको र प्रमाणीकरणमा नपरेका लडाकुलाई आर्थिक प्याकेज दिन अस्वीकार गरेको महतको भनाइ छ ।

सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका र ज्यान गुमाएकाहरुलाई आर्थिक सहायता दिने विषय एउटा कार्यदलले टुंग्याइसकेको बेला प्रधानमन्त्रीले फेरि त्यही विषय उठाएको महतले बताए । त्यस्तै शहीद घोषणामा पनि प्रधानमन्त्रीले केही छुटपुट रहेको भन्दै मन्त्रिपरिषदमा ल्याए पनि धेरै ठूलो संख्या देखिएको उनको भनाइ छ ।

मन्त्रिपरिषद बैठकले गरेको निर्णयका आधारमा गत शुक्रबार २६७४ जना शहीदको नाम राजपत्रमा प्रकाशित गरिएको छ । ‘केही छुट भएछ भन्ने कुरा होे । अहिले आउँदा त २६/२७ सयको नाम आएको छ’, महतले भने ।

आर्थिक सहयोगका लागि प्रधानमन्त्रीले नाम दिएपनि निकै कममात्र सिफारिस गरेको महतले बताए । सुशासनको कुरा गर्दा प्रधानमन्त्रीले कुरा ठीक हो भन्ने तर व्यवहारमा त्यसको विपरीत गर्ने गरेको महतको भनाइ छ ।

‘राजश्व दुरुपयोग गर्न दिनुहुँदैन भनेर लागेँ, आर्थिक सहायता जथाभावी बाँड्न हुँदैन भनेर मितव्ययिता अपनाएँ’, कांग्रेस प्रवक्ता समेत रहेका महतले भने, ‘यो गर्नु गलत हो, पाप हो ? मितव्ययी हुँदा उपलब्धि नहुने हो ?’

विधि र प्रक्रियासँग नभएका प्रस्तावलाई आफूले रोकेको महतले स्पष्टीकरण दिए । ‘साधन र स्रोतलाई जथाभावी खर्च गर्ने हो भने हामी अठ्यारोमा पर्ने निश्चित छ,’ महतले भने ।

प्रधानमन्त्री प्रचण्ड र पूर्वअर्थमन्त्री महतको सम्बन्धमा तिक्तता हुनुमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने विषय पनि जोडिएको छ । संसदको अर्थ समितिले गत कात्तिकमा नै नयाँ स्टक एकसचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । तर यो प्रक्रिया विवादित बनेपछि सरकारले रोकेको थियो ।

प्रधानमन्त्रीले नै प्रक्रिया रोकेको उल्लेख गर्दै महतले नयाँ स्टक एक्सचेञ्ज दिने/नदिने विषय आफ्नो क्षेत्राधिकारभित्र नभएकोे स्पष्टीकरण दिए ।

‘प्रधानमन्त्रीले नै प्रक्रिया रोक्नुभएको हो । मन्त्रिपरिषदले गरेको निर्णय खोल्ने नखोल्ने निर्णय हुने मन्त्रिपरिषद्‍बाट’, महतले भने, ‘जहाँबाट रोकिएको त्यहीँबाट निर्णय हुने हो । हामीले खोल्न पनि भनेनौं । नखोल्न पनि भनेनौं ।’

चीनसँग ऋण र अनुदान लिन समेत डा. महत सहयोगी नभएको उनीमाथि आरोप लागेको थियो । तर महतले प्रधानमन्त्री चीन भ्रमणमा जाँदा किन अनुदान नलिएको भनी प्रश्न गरेका छन् । ऋण भने कम शर्त भएको र सस्तो ब्याजदरको लिनुपर्ने आफ्नो धारणा रहेको उनको भनाइ छ ।

‘म चाहिँ अर्थमन्त्री नभएर प्रधानमन्त्री थिएँ कि भनेको जस्तो भयो,’ महतले भने । आफू परराष्ट्रमन्त्री भएको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआईआर) मा नेपालले हस्ताक्षर गरेको भएपनि प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको उनले बताए ।

‘हामीले भनेको यति मात्र हो कि ऋण लिँदा प्राथमिकताको क्षेत्र पहिचान गरौं । विश्व बैंक, एडीबीले एक प्रतिशतभन्दा सस्तो ब्याजमा ऋण दिन्छ’, डा. महतले भने, ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन्छ, कम शर्त राखिएको सहुलियत पूर्ण ऋण वा अनुदान भयो भने मात्र स्वीकार गर्नुपर्छ भनेका हौं ।’

प्रचण्ड सरकारले हालसम्म गरेको उपलब्धि कांग्रेसकै कारण भएको महतको दाबी छ । प्रधानमन्त्री प्रचण्डले गत आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दा कांग्रेससहितको सरकारले नतिजा दिन नसकेपछि गठबन्धन छाडेको स्पष्टीकरण दिएका थिए । महतले प्रधानमन्त्रीलाई भने, ‘मितव्ययी हुँदा, सुशासन सुनिश्चित गर्दा, दुरुपयोग नगर्दा उपलब्धि नहुने हो ? यो कुरामा सहमत हुन सकिन्न ।’

पूर्वअर्थमन्त्री महतले आगामी वैशाखमा आयोजना गरिएको लगानी सम्मेलनमा ठूलो संख्यामा लगानीकर्ता आउने वातावरण आफूले बनाएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?