+
+

बागमतीमा सत्ता गठबन्धनलाई हाम्रो नेपाली पार्टीको डर

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० फागुन २९ गते २०:२६
हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्रमान बज्राचार्य ।

२९ फागुन, हेटौंडा । बागमतीमासत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउन निर्णायक भूमिकामा रहेको हाम्रो नेपाली पार्टी सत्ता बार्गेनिङमा सहभागी भएको छ ।

आफूबिना सत्ता गठबन्धनले बहुमत पुर्‍याउन नसक्ने देखेपछि हाम्रो नेपाली पार्टीले सरकारमा सहभागी गराउनुपर्ने शर्त राखेको छ ।

माओवादीका एक सांसदका अनुसार प्रदेशसभामा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले दुई मन्त्री वा एक मन्त्री र एक संसदीय समितिको सभापति मागेको छ । ‘कांग्रेसले पनि विश्वासको मत नदिन फकाइरहेको थाहा पाएका छौं’, माओवादीका ती सांसदले भने ।

२१ फागुनमा एमाले–माओवादीसहितको गठबन्धन बनेपछि बागमतीमा माओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ र उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री जम्कट्टेलले आफूलाई प्रदेशसभाका बहुमत सदस्यको समर्थन रहेको प्रमाणित गर्नुपर्छ ।

११० सदस्यीय प्रदेशसभामा सरकारले बहुमत सिद्ध गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३ (सभामुखसहित), एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीका २ प्रदेशसभा सदस्य छन् ।

कांग्रेस, राप्रपा र नेपाल मजदुर किसान पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताइसकेका छन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको मत जोड्दा ५५ सांसद मात्र पुग्छ । बहुमत पुर्‍याउन हाम्रो नेपाली पार्टीको पनि समर्थन अनिवार्यजस्तै छ । यसअघि हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको थियो ।

अहिले हाम्रो नेपाली पार्टीलाई मनाउन मुख्यमन्त्री जम्कट्टेलले उसलाई सरकारमा ल्याउन चाहेका छन् । तर उक्त पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य काठमाडौंबाट हेटौंडा नआएका कारण सत्ता गठबन्धनमा चिसो पसेको छ ।

स्रोतका अनुसार विगतमा सरकारलाई समर्थन गरेवापत हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालय मागेको थियो । गठबन्धनमा भागबण्डा मिलाउँदा हाम्रो नेपाली पार्टी सरकारबाहिरै पर्‍यो ।

‘हामीलाई उहाँहरुले बाहिरै राख्नुभयो । पाँचवटा संसदीय समितिमध्ये एउटा सभापति दिनु भन्दा पनि दिनुभएन । जनताका आवश्यकताका योजना माग्दा बजेट दिइएन । सानो दल भएकाले हेपियो’, बज्राचार्यले एक हप्ताअघि अनलाइनखबरसँग भनेका थिए ।

बागमतीमा हालसम्म संसदीय समितिका सभापति चयन भएका छैनन् । माओवादी केन्द्रका एक सांसदका अनुसार गठबन्धन फेरिनुअघि कांग्रेसले २, एमाले, माओवादी र एकीकृत समाजवादी १–१ वटा समितिको सभापति लिने सहमति भएको थियो । आफूहरुलाई समितिको सभापति पनि नदिएपछि हाम्रो नेपाली पार्टीका नेता बज्राचार्यले १५ फागुनको सर्वदलीय बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए ।

‘उहाँहरुलाई नै चाहिने सबै । मन्त्रालय पनि ठूलो पार्टीलाई चहिने रहेछ । संसद चल्नुपर्‍यो, विधेयकहरु आउनपर्‍यो भनेको हो । नआउने भए किन सहकार्य गर्नुपर्‍यो भनेर म सहकार्यमा हुन्न भनेको हो’ बज्राचार्यले स्वीकार गरे ।

बज्राचार्यले अहिले आफूलाई सरकारमा सहभागी हुन प्रस्ताव आएको तर स्वीकार गरिनसकेको बताए । ‘मैले केही निर्णय गरिसकेको छैन’, बज्राचार्यले भने, ‘काठमाडौंमा बुवाको उपचार गराइरहेको छु । भोलि बिहानै हेटौंडा जान्छु’, बज्राचार्यले सोमबार साँझ अनलाइनखबरसँग भनेका थिए ।

तर मंगलबार पनि बज्राचार्य हेटौंडा नआउँदा सत्ता गठबन्धनमा उनको खोजी भएको छ ।

बज्राचार्यलाई सरकारमा जानबाट रोक्न नेपाली कांग्रेसले प्रयास गरिरहेको छ । कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले मंगलबार प्रदेशसभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा हाम्रो नेपाली पार्टीसँग छलफल भइरहेको बताए ।

उनले भने, ‘हामी अहिले सरकार बनाउने पक्षमा छैनौं । मुख्यमन्त्रीज्यूले राजीनामा नदिएकाले उहाँ विश्वासको मत लिने पक्षमा देखिनुभएको छ । विश्वासको मत लिन सक्नुभयो भने…, शुभकामना दिन्छौं।’

बागमतीको १२ सदस्यीय मन्त्रिपरिषदमा हाल सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार, नेकपा (एकीकृत समाजवादी) का दुई जना मन्त्री छन् ।

नेपाली कांग्रेसले छोडेको ६ वटा मन्त्रालयमा भागबण्डा गर्ने तयारीमा मुख्यमन्त्री जम्कट्टेल देखिन्छन् । एमाले संसदीय दलका मुख्य सचेतक मधुसुदन पौडेल भने भागबण्डाको विषयमा दलहरुबीच छलफल सुरु भइनसकेको बताउँछन् ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?