+
+

प्रतिपक्षमा कांग्रेसले परिपक्वता देखाओस् : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १३:१६

३० फागुन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्ष र प्रतिपक्ष दलहरुका लागि अस्थायी भूमिका भएको भन्दै मुलुकका समस्या समाधानमा रचनात्मक बन्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसलाई परिपक्वता देखाउन आग्रह गरेका हुन् ।

‘हामी साच्चै रचनात्मक प्रतिपक्ष, सिर्जनात्मक सहिष्णु र उदार सत्ता पक्ष भएर चल्नुपर्छ । कांग्रेस अस्ति सत्ता पक्षमा हुँदा त्यो भूमिकामा कमी भयो’, ओलीले भने, ‘त्यो रियलाइज गर्दा पनि हुन्छ । अहिले प्रतिपक्षमा यत्तिको छिप्पिएको कांग्रेसले म्याचुरिटी देखाउनुपर्छ ।’

उनले मुलुक आर्थिक मन्दीको अवस्थामा रहेको भन्दै समस्या समाधानमा एक ठाउँमा आउनु पर्ने आवश्यकता औंल्याए ।

‘को सरकारमा छ भन्ने कुरा अस्थायी हो । घाम जुन रहुञ्जेल, कोही दश बीस वर्ष रहँदैन । भएका बेला सकेसम्म राम्रो काम गर्ने हो । रचनात्मक बनोस् भन्ने मेरो कामना हो’, ओलीले भने ।

उनले मुलुकको आर्थिक समस्या सहज बनाउन र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कांग्रेसको सहयोग मागे । कांग्रेस नेताहरुले एमालोक कारण संक्रमणकालीन न्यायसम्बन्धी ऐन प्रतिनिधिसभाबाट पारित हुन नसकेको आरोप लगाइरहेका बेला ओलीले विगतमा आफू प्रधानमन्त्री हुँदा कांग्रेसले सहयोग नगरेको आरोप लगाए ।

‘म प्रधानमन्त्री हुँदा टुंग्याऔं भन्दा नुटुंग्याएको कसले ? अनि सभापति कसका भए आयोगमा ? काम नगरेको कसले ? काम नगर्न तिनलाई निर्देशन मैले दिएको हो र ?’, ओलीले भने ।

संसदमा विचाराधीन बेपत्ता पारिएका ब्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा एमालेको धारणा विगतदेखि नै एउटै रहँदै आएको दाबी गरे ।

‘लगातार मैले एउटै कुरा भनिरहेको छु । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले जे भन्नुभयो त्यही कुरा भनिरहेको त हो । प्रायः कुरा टुंगिसकेका छन् । अब एक दुई कुरा छन् । टुंग्याऔं’, ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?