+
+

वीरेन्द्रनगरमा नगरपालिकाले डोजर चलाउँदा व्यवसायीले गरे ढुंगामुढा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १३:५६

३० फागुन, सुर्खेत । वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो ।

व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो ।

नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन थालेका छन् भने केही व्यापारीहरु प्रतिकारमा उत्रिएका छन् । सुरुमा शान्त रहेका व्यापारीहरु डोजरले संरचना भत्काउन थालेपछि एक्कासी ढुङ्गा मुढामा उत्रिएका थिए ।

ढुङ्गामुढापछि एकछिन भागदौड नै मच्चिएको थियो भने झडपको स्थिति नै आएको थियो ।

स्थानीयबासिन्दाको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने सो क्रममा एक कर्मचारी समेत घाइते भएका छन् । त्यसपछि नगरपालिकाको डोजर पछि हटेको छ ।

झडपमा स्थानीयबासिन्दाले नगरपालिकाका कर्मचारी र डोजरमाथि आक्रमण गरे पनि प्रहरी भने त्यो सबै घटना हेरेर बसिरहेको थियो । माथिबाट आदेश नआएको आफूहरु एक्सनमा नगएको एक जना प्रहरी जवानले बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी लक्ष्मणबहादुर शाहीले प्रशासनले निर्देशन नदिँदा एक्सन लिन नसकेको बताए ।

‘जिल्लाको सुरक्षा संयन्त्र प्रमुख सिडिओ साब हँुनुहुन्छ । प्रशासनले निर्देशन नदिएसम्म हामी एक्सनमा जान मिल्दैन्,’ स्थानीयले ढुङ्गा मुढा गर्दा प्रहरी किन दर्शक बनेर बसेको ? भन्ने अनलाइनखबरको प्रश्नमा डीएसपी शाहीले भने, ‘यो प्रश्न हामीलाई हैन्, प्रशासनलाई गर्नुस ।’

माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए ।

नगरपालिकाले पटक–पटक संरचना हटाउन आग्रह गरे पनि अटेर गरिरहेकाले आज नगर आफैँले भत्काइदिने गरी एक्सनमा उत्रिएको हो ।

नगरप्रमुख मोहनमाया ढकालले उक्त क्षेत्रमा पार्किङ, बगैँचा लगायतका संरचना बनाइने बताउँदै आएकी छिन् । पटक–पटक आग्रह गर्दापनि अटेर गरेपछि नगर आफैँले भत्काइदिने ढकालले चेतावनी दिँदै आएकी थिइन् ।

नगरले डोजर चलाएपछि उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुनेछन् । ५० को दशकयता ती व्यवसायीहरू भाडामा जमिन प्रयोग गरेर संरचना बनाई व्यवसाय गरिरहेका थिए ।

व्यापारीहरुले भने आर्थिक मन्दीका बिचमा विकल्पै नदिइ हटाउन खोजिएको भन्दै बिरोधमा उत्रिएका थिए । व्यापारीहरुले करिब दुई वर्षलाई थप सम्झौता गरिनुपर्ने यात कुनै अर्को विकल्प दिइनु पर्ने माग गर्दै आएका थिए ।

‘हाम्रो म्याद दुई वर्षमात्र थपिदिए हुन्छ, त्यसपछि हामी आफैँ वाईवाई गरेर जान्छौँ,’ पीडित व्यवसायी संघर्ष समितिका अध्यक्ष विपीन ठाकुरले भने, ‘नगरपालिका व्यवसायीहरुको पनि अभिभावक भएकाले हाम्रो माग सुन्नुपर्ने हो । तर सुनेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?