+
+

संसदमा घण्टौं बहस गर्नुभन्दा एलिना चौहानको गीत बजाऔं : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १४:३०

३० फागुन, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफल गर्नुको अर्थ नभएको बताए ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले नेपालको राजनीतिमा धोकाको शृङ्खला चलिरहेको बताए ।

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलमा घण्टौं समय बिताउनुभन्दा गायिका एलिना चौहानले गाएको ‘धोकेबाज हौ तिमी’ भन्ने गीत बजाइदिए पुग्ने राउतले बताए ।

‘प्रधानमन्त्रीले विश्वासको मत माग्दाखेरि त्यसमा मत दिने कि नदिने विषयमा यहाँ जम्मा भएका छौं । सोही क्रममा हामीले सबै दलका कुरा सुन्यौं, घण्टौंसम्म कुरा सुन्दाखेरि लाग्छ, बरु एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो, लामो फेहरिस्त दिनै पर्दैनथ्यो’, उनले भने ।

पटक पटक गठबन्धन बन्ने र भत्किने क्रम चलिरहेको भन्दै राउतले यसबाट जनताले के पाए भन्ने प्रश्न गरे । ‘संसदमा यो बहसबाट जनताले के पाइरहेका छन् ?’, उनले प्रश्न गरे ।

अब निर्वाचनअघि गठबन्धन गर्न नपाइने कानुनी व्यवस्था गर्नुपर्ने भन्दै राउतले नभए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए । ‘जनताले दिएको विश्वासको मत हामीले बचाउन सकेका छैनौं । कहिले यता हाल्नुपरेको छ, कहिले उता हाल्नुपरेको छ । बरु विश्वासको मत जनताकै हातमा सुम्पौं । जनताबाट प्रत्यक्ष प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?