+
+
रेशम-रञ्जिता सम्बन्ध :

प्रचण्डलाई विश्वास, एक-अर्कालाई अविश्वास

यतिबेला नाउपाभित्र पैदा भएको संकट विचित्रको छ । रेशम, जसले पछिल्ला दिनमा पार्टीमा कार्यकारी अधिकार प्रयोग गर्दैथिए उनीसँग यति बेला कुनै वैधानिक अधिकार छैन । रञ्जिता, जोसँग कार्यकारी अधिकार छ तर पार्टीको दुई तिहाइ बहुमत उनको प्रतिकूल छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० फागुन ३० गते २१:२८

३० फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी बानेश्वरस्थित संघीय संसद भवनमा जाँदै गर्दा छेवैको अनामनगरमा कार्यकर्ताहरु मलीन देखिन्थे ।

पार्टीका संरक्षक रेशम चौधरी र पत्नी रञ्जिता प्रचण्डलाई विश्वास गरिरहेका छन्, र एकअर्कालाई अविश्वास ।

कैलालीको टीकापुरमा रहेको नाउपाको केन्द्रीय कार्यालय २०७९ को आमचुनावपछि सरेर संघीय राजधानीको अनामनगरमा आइपुगेको छ । यस पार्टीका संरक्षक रेशम चौधरीको हातमा रहेको शक्ति पनि सरेर जेठी पत्नी रञ्जिताको हातमा फर्केको छ ।

२१ फागुनमा कांग्रेस–माओवादी गठबन्धन भत्किएसँगै मन्त्री पद गुमाएकी अध्यक्ष रञ्जिता अनि पति रेशमलाई बुधबार बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले केही आश्वासन दिएसँगै नाउपाका ४ सांसदले विश्वासको मत दिए ।

संसदमा विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डसँग नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (रातो कोटमा) ।

नाउपाले विश्वासको मत दिएसँगै संघीय सरकारमा सहभागिता, सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा महत्वपूर्ण मन्त्रालयको मोटामोटी समझदारी भएको नाउपाका नेताहरु बताउँछन् । यसरी एकपछि अर्को अवसरको नजिक आउँदा पनि नाउपाको पार्टी पंक्तिमा जोश भर्न सकेको देखिएन ।

बुधबार एकाबिहानै नाउपाका संरक्षक रेशम चौधरीले फेसबुकमा जुन स्टाटस लेखे, त्यसले उनकी पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जितासँगको झगडा छताछुल्ल गराइदिएको थियो ।

त्यसको केही घण्टापछि प्रधानमन्त्री निवासमा भएको सहमतिले ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ उखान सम्झाउन त सम्झाइदियो, तर अनेक पत्रपत्रमा जेलिएको रेशम–रञ्जिता द्वन्द्व त्यत्तिको आधारमा बैठान हुने कुनै लक्षण देखिँदैन ।

उसो त रञ्जिताले संसद भवनमा बुधबार दिउँसो पत्रकार भेट्दै बिहानको गडबडीमा सक्दो रफ्फु भर्न खोजिन् । उनले रेशमले त्यो स्टाटस लेख्दा आफू सँगै रहेको जिकिर पनि गरिन् । तर त्यति कुरा पत्नीका कानमा नभनेर किन फेसबुकमा नै छताछुल्ल हुन पुग्यो भन्ने प्रश्नको ठीकठाक प्रत्युत्तर भने दिन सकिनन् ।

टीकापुरमा मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठक, जहाँ अध्यक्ष रञ्जिता अनुपस्थित थिइन्, संस्थापक २१ सदस्यीय केन्द्रीय समितिको दुई तिहाई अर्थात् १६ जना राखेर रेशमले प्रचण्डको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गराएका थिए ।

कार्यकारिणी अधिकार आफूसँग रहेको भन्दै रञ्जिताले उक्त निर्णयलाई चुनौती दिँदै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने घोषणा गरेकी थिइन् । फेसबुकमा बिहानै घरझगडा दन्किनुको मुख्य कारण यही थियो ।

‘भाउजुलाई सञ्चो भएन भनेर रेशम दाइले ज्येष्ठ सदस्य दामोदर पण्डितको अध्यक्षतामा टीकापुरमा बैठक राखेर निर्णय गराउनुभयो । हामी पनि पार्टी बैठकले गरेकै निर्णय अनुसार अहिलेको एमाले–माओवादी गठबन्धनलाई समर्थन गरिँदैन भन्ने बुझाइमा थियौं,’ नाउपा पार्टी कार्यालय अनामनगरमा भेटिएका एक पदाधिकारीले भने, ‘आज बिहान पनि रेशम दाइले फेसबुकमा सरकारबारे कडै कुरा लेख्नुभएको थियो, तर फेरि के भएछ कुन्नि, उहाँले भाउजुकै कुरा मानेको देखियो ।’

यो सार्वजनिक जानकारीमै छ कि ०७२ भदौ ७ को टीकापुर काण्डमा संलग्नताको अभियोगमा दोषी ठहर भएर जेल परेका थरुहट आन्दोलन अगुवा रेशम चौधरीलाई छुटाउने एजेन्डासहित नागरिक उन्मुक्ति पार्टी ०७८ फागुन ३ मा गठन भएको थियो ।

त्यसअघि क्रमशः राजपा, जसपाको केन्द्रीय समितिमा राखिएका रेशमलाई छुटाउन तत् तत् दलहरुले पहल लिन नसकेको हुँदा नयाँ पार्टीको खाँचो देखेर रेशमकी जेठी पत्नी रञ्जिताको अध्यक्षतामा खुलेको थियो नाउपा ।

रेशम गत जेठ १५ गते राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर जेलबाट छुटेसँगै पार्टीको कार्यकारी अधिकारमा हस्तक्षेप गर्न थाले । उनको शैलीसँग असन्तुष्ट रहेकी अध्यक्ष रञ्जिताले त्यसपछि पार्टीमा आफ्नो सक्रियता घटाउँदै लगिन् । भन्नलाई पार्टीका साथीहरुलाई भनिएको थियो, ‘अध्यक्षज्यू मन्त्री पदमा समेत रहेकाले सरकारको पर्फर्मेन्समा केन्द्रित रहने, रेशम दाइले पार्टी चलाउने ।’

पार्टीको वास्तविक शक्ति कसले प्रयोग गर्छ भनी प्रत्यक्ष परीक्षण हुनेगरी महत्वपूर्ण मोडहरु क्रमशः दृश्यमा देखा पर्दै गए । पुसको १४–१५ मा काठमाडौंमा आयोजित विधान महाधिवेशनबाट रेशमले आफ्नो कार्यकारी हैसियत बढ्नेगरी दस्तावेज तयार गर्न लगाए ।

पुसकै २६–२८ मा कैलालीमा आयोजित पहिलो राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्ष चुनिए । रेशमको अध्यक्षतामा बसेको बैठकले रञ्जितालाई सहअध्यक्ष मनोनित गर्‍यो । प्रचण्ड–कांग्रेस लगायतको सरकारमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी रञ्जिता महाधिवेशनपछि पार्टीमा थप निष्क्रिय भइन् । यतिञ्जेलसम्म पनि पार्टीपंक्तिलाई उनीहरुबीच बढ्दो मनमुटावबारे ठ्याक्कै किटेर थाहा थिएन ।

महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि रेशम चौधरी ।

‘रेशम दाइलाई छुटाउनैका लागि पार्टी खुलेको हो, उहाँ जिल्ला–जिल्लामा दौडँदा हामी उहाँसँगै हुन्थ्यौं’, पार्टीका सहमहासचिव रहेका निरबहादुर श्रेष्ठले भने, ‘महाधिवेशनपछि पार्टी अब ट्र्याकमा आउँछ होला भन्ने थियो, तर हामी त उहाँहरुको पारिवारिक कचिंगलमा झन्–झन् फस्दै गयौं ।’

पार्टी खुलेको दुई महिनामै स्थानीय चुनावमा भाग लिएको नाउपाले कैलालीको चार स्थानीय तहमा प्रमुख र तीनवटामा उपप्रमुख जितेको थियो । वडाअध्यक्ष, सदस्य लगायत पदसहित एक सय जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

त्यसै वर्ष ४ मंसिरमा भएको आमचुनावबाट प्रतिनिधिसभामा ४ सांसद, सुदूरपश्चिम प्रदेशसभामा ७, लुम्बिनीमा ४ र मधेशमा १ सांसद निर्वाचित भए ।

रास्वपा, जनमतसँगै नयाँ पार्टीका रुपमा संसद तथा सत्तामा प्रवेश गरेको नाउपाभित्र पति र पत्नीभित्र बढ्दो झगडाले तनाव थपि‌ंदो छ ।

केही समयअघि रेशमको पार्टीबाट निस्किएका डा. सुरेन्द्र चौधरीका अनुसार पारिवारिक झगडाकै शिकार भएर पार्टीपंक्ति थलिन पुगेको छ । आफूहरुले राजनीतिक एजेन्डामा काम गर्न खोज्दा पनि रेशमका बाबु प्रतिनिधिसभा सांसद लालवीर चौधरी, रेशम तथा रञ्जिता लगायतको पारिवारिक लफडाका कारण नवगठित पार्टीमा सुरुवातमै शिथिलता आउन थालेको उनले बताए ।

‘रेशम–रञ्जिता मिल्दा पनि कार्यकर्ताहरुलाई परिवारवादको चिन्ता, नमिल्दा पनि झगडाले पार्ने असरको चिन्ता’, सुरेन्द्र चौधरीले भने, ‘पारिवारिक बेमेललाई राजनीतिक तहमा ल्याउनु ठूलो कमजोरी हो । जनताको बलिदान र हिजोको इतिहासलाई अवमूल्यन गर्ने काम भयो ।’

नाउपाको स्थापनाकालमा अहोरात्र खटिनेमध्येका एक डा. सुरेन्द्र चौधरी त्यसअघिसम्म बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा सक्रिय थिए । उनले नाउपामा गएपछि पार्टीलाई जिल्ला–जिल्लामा विस्तार गर्न भूमिका खेल्दै गए । दाङ १ मा प्रतिनिधिसभा चुनाव हारे पनि सक्रियता घटाएका थिएनन् । पछिल्ला दिनमा भने पारिवारिक अन्तर्संंघर्ष बढ्दै जाँदा उनी र नाउपाका शीर्षस्थहरुबीच दूरी बढ्दै गयो ।

यतिबेला नागरिक उन्मुक्ति पार्टीभित्र पैदा भएको संकट विचित्रको छ । रेशम, जसले पार्टीलाई जन्म दिए अनि कार्यकारी अधिकार प्रयोग गर्दैथिए उनीसँग यति बेला कुनै वैधानिक अधिकार छैन । रञ्जिता, जोसँग कार्यकारी अधिकार छ तर पार्टीको दुई तिहाई बहुमत आफ्नो प्रतिकुल छ । अनि त्यसमाथि पति पत्नी रेशम रञ्जिताबीच सल्केको आगो परालको नभई भुसको रहेछ भनी बुधबार बिहानै आम जानकारीमा छताछुल्ल हुन पुगेको छ ।

रेशम चौधरी जेलमुक्त भएपछि पत्नी रञ्जितासँग ।

रेशम–रञ्जिताको पार्टी नाउपाका चार सांसदले प्रचण्डलाई विश्वासको मत दिएका छन् । आफ्नै पार्टीका दुई शीर्षहरुबीच भने योसमेत कारण थपिएर अविश्वास चुलिँदो छ । यसअघि सुदूरपश्चिमको प्रदेश सरकारमा आफ्ना मन्त्री पठाउने कि नपठाउने भन्नेमा रेशम र रञ्जिताको झगडा सबैले थाहा पाउने गरी बाहिरिएको थियो । पार्टी नेताहरुको दोहोरो पेलानमा परेका कार्यकर्ताहरु रनभुल्लमा परेको, तथा आगामी राजनीतिक भविष्य के होला भनी चिन्तामा परेको पार्टीका नेताहरुले बताए ।

रञ्जिताले पछिल्ला कुनै पनि पार्टी बैठकमा पूरा समय नदिएको, काठमाडौंमा बसेका बैठकमा समेत कुनैमा आंशिक हाजिर त कुनैमा गयल हुने गरेको नेताहरुले सुनाए । तत्काललाई विवाद साम्य भएजस्तो देखिए पनि मूल व्यक्तिगत दुश्मनी बाँकी नै रहेको भन्दै उनीहरुले पार्टी फुट्ने पो हो कि भन्ने आशंकासमेत गरे ।

बर्दियामा रहेका नाउपाका महासचिव ठाकुरसिं थारुले भने पार्टीभित्र खिचातानीहरु सामान्य रहेको भन्दै हाललाई यो साम्य भएको तर्क दिए । उनले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘रेशम चौधरीले कुन मुडमा फेसबुक स्टाटस लेख्नुभयो मैले पनि यकिन भन्न सकिनँ, तर आज संसदको विश्वासको मत सँगै पार्टी जन्मदाता र अध्यक्षबीचको विवाद टुंगियो भनेर मान्नुपर्छ ।’

पछिल्लो महाधिवेशनबाट अध्यक्ष चुनिएका रेशमलाई २४ फागुनमा निर्वाचन आयोगले ज्यान मुद्दामा दोषी ठहर भएको कारण दिएर अध्यक्षमा मान्यता दिएन । त्यतिमात्र होइन पार्टी सदस्यसमेत हुन अयोग्य रेशमको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको भन्दै आयोगले महाधिवेशनलाई नै वैधानिकता दिन अस्वीकार गरेको छ ।

निर्वाचन आयोगको यो निर्णयसँगै रञ्जिता स्वतः अध्यक्षमा फर्किएपछि यो पार्टीको भविष्यलाई लिएर प्रश्नहरु बाँकी नै छन् ।

महासचिव थारुले भने, ‘पार्टीभित्र यी कुराहरुलाई लिएर अन्यौल र चिन्ता पक्कै पनि छ । तर विधान मस्यौदा समिति गठन गरेर, अनि राष्ट्रिय भेला गरेर हामी यो अन्योल चिर्छौं ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?