+
+
राष्ट्रिय भलिबल :

आर्मीसँग गण्डकी सोझो सेटमा पराजित, पुलिस र कोशीको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १८:०७
नेपाल प्रहरीको भलिबल क्लब ।

चैत ३, काठमाडौं । आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पहिलो दिन त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि सोझो सेटको जित हात पारेको छ । त्यस्तै नेपाल पुलिस क्लब, कोशी प्रदेश र महिलातर्फ एभरेष्ट भलिबल क्लबले पनि विजयी सुरुवात गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको शनिबारको अन्तिम खेलमा आर्मीले गण्डकीलाई २९–२७, २५–१९ र २५–१८ को सोझो सेटमा पराजित गर्‍यो ।

प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २९–२७ ले जितेको थियो । बराबरी अवस्थाबाट स्पाइकर धनबहादुर भट्टले लगातार दुई अंक जोड्दै आर्मीलाई पहिलो सेटमा जित दिलाए ।

दोस्रो सेट पनि सुरुवातदेखि नै उच्च प्रतिस्पर्धा भयो । दुई अंकले पछि परेको आर्मीले लगातार पाँच अंक बटुल्दै १५–१२ को अग्रता लिएको थियो । त्यसअघि आर्मीले लगातार चार अंक गुमाएपछि ९–७ ले पछि परेको थियो ।

आर्मीले पाँच अंकको अग्रता लिँदै २१–१६ को अवस्थामा पुगेपछि जितको सम्भावना सहज बनेको थियो । यो सेटमा आर्मीले २५–१९ को सहज जित हात पार्‍यो । तेस्रो सेटमा भने आर्मी हाबी भयो । २५–१८ को सहज जित हात पारेको थियो ।

त्यसअघि शनिबारको पहिलो खेलमा महिलातर्फ एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एभरेष्ट २५–१२,२५–७,२५–११ ले एकतर्फी जित हात पारेको थियो । एभरेष्टमा अरुणा शाही, भारतीय राष्ट्रिय टोलीकी स्टार मिडल ब्लकर सूर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसन छन् ।

पुरुषतर्फ पहिलो खेलमा उपाधि दाबेदार नेपाल पुलिस क्लबले कर्णालीलाई ३–० को सोझो सेटमा पाखा लगायो । पुलिसले २५–९,२५–१३, २५–१३ को जित दर्ता गरेको थियो ।

दिनको तेस्रो खेलमा कोशी प्रदेशले ढोरपाटन क्लबलाई ३–१ ले हराएको थियो । कोशीले २३–२५,२५–२०,२५–१८,२५–१९ ले जितेको थियो ।

महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश छन् । समूह बी मा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, नेपाल एपीएफ क्लब र मधेश प्रदेश छन् ।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् ।

च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुनेछन् । प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?