+
+

जता सत्ता, उतै मनाङे

कुनै पनि दलको प्रष्ट बहुमत नभएको ‘हङ्ग पार्लियामेन्ट’मा ‘जता मनाङे उतै सत्ता, जता सत्ता उतै मनाङे’ जस्तो विम्ब बन्न पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १८:५६

२५ चैत, पोखरा । गण्डकी प्रदेश सभा सांसद दीपक मनाङे २० दिनको अन्तरालमै दोस्रोपटक मन्त्री बन्न सफल भएका छन् । नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा मनाङे पनि मन्त्री भएका हुन् ।

रणनीतिका साथ गत ५ चैतमा मनाङे सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री बनेका थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी मन्त्रीहरुलाई बर्खास्त गरेका तत्कालीन मुख्यमन्त्री पाण्डेले सरकार जोगाउने प्रयासमा मनाङलाई एकीकृत समाजवादी छाड्न लगाएर मन्त्री बनाएका थिए ।

बहुमत जुटाउन नसकेपछि कांग्रेस संसदीय दलका नेता समेत रहेका पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरे ।

२ सांसद भएको राप्रपा वा मनाङेले साथ नदिएसम्म एमाले–माओवादीको सरकार बन्ने सम्भावना थिएन । राप्रपाले यो गठबन्धनलाई साथ नदिने निर्णय गरिसकेको थियो भने मनाङेले आफ्नो क्याबिनेट सदस्य भएकाले पाण्डे आशावादी थिए ।

तर एमाले–माओावादीका नेताले निरत्तर छलफल गरिरहेकै थिए र मनाङेले ३० जना सांसद पुर्‍याए आफूले ३१ पुर्‍याउन वचन दिएका थिए । नभन्दै आइतबार एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न जाँदा मनाङे पनि उपस्थित भए । एमालेका २२, माओवादीका सभामुखसहित ८ र मनाङेको समर्थन रहेको भन्दै अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरे ।

एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेका डिल्लीराज भट्टले आइतबार नै अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरे । आइतबार नै मुख्यमन्त्री पदको सपथ लिएका अधिकारीले माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र मनाङेलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरे । दुवै विना विभागीय मन्त्री बनेका हुन् ।

सत्ताको जोड घटाउका बेला निर्णायक बन्दै मनाङेले गण्डकीमा धेरै पटक मन्त्री हुनेको रेकर्ड नै राखेका छन् । उनी दोस्रो कार्यकालसम्म आइपुग्दा पाँचौ पटक मन्त्री भइसके । अझै पनि खगराज नेतृत्वको सरकार सुरक्षित छैन । खगराजको सरकार तलमाथि भयो भने पनि मनाङेले संसद जोगाउनका लागि भन्दै जता ३० पुग्छ, उतै मत दिने आफैंले भनिरहेका छन् ।

अर्थात कुनै पनि दलको प्रष्ट बहुमत नभएको ‘हङ्ग पार्लियामेन्ट’मा ‘जता मनाङे उतै सत्ता, जता सत्ता उतै मनाङे’ जस्तो विम्ब बन्न पुगेको छ ।

मनाङेले पहिलो कार्यकालमा पनि यस्तै गरेका थिए । स्वतन्त्र रुपमा सांसद निर्वाचित भए पनि पुरानो मुद्दाका कारण शपथ लिन नपाई जेल परेका उनी छुटेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरी प्रदेश सभामा प्रवेश गरेका थिए ।

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दुईतिहाई मत पुर्‍याइदिएका मनाङेले नेकपा विभाजनपछि भने एकाएक स्वतन्त्र सांसदमा हैसियतमा फर्किए । सरकार अल्पमतमा परेपछि २०७८ वैशाख १६ गते पृथ्वीसुब्बाले पहिलो पटक युवा तथा खेलकुद मन्त्री बनाएर सत्ता टिकाउने प्रयत्न गरेका थिए ।

तत्कालीन जनमोर्चाको विवादका कारण उनले बहुमतको सरकार टिकाउन सकेनन् । तर ठूलो दलको नेताको हैसियतमा २९ वैशाख २०७८ मा गुरुङ फेरि मुख्यमन्त्री बनेपछि मनाङेलाई दोस्रो पटक खेलकुद मन्त्री नै बनाएका थिए । आफूले मत दिंदा पनि पृथ्वीसुब्बाको बहुमत नपुग्ने, बरु कांग्रेस–माओवादी केन्द्रको बहुमत पुग्ने अवस्थामा रातारात मनाङे गठबन्धनतिर लागेका थिए ।

मनाङकै जगमा २०७८ जेठ २९ गते सरकार बनेपछि सोही दिन विना विभागीय मन्त्री भए । उनले युवा तथा खेलकुद मन्त्रालयकै जिम्मेवारी पाए । मन्त्री भएपछि पनि स्वकीय सचिव (पीए) लाई कार्यवाहक मन्त्री दिनेदेखि बेलगाम अभिव्यक्तिका कारण विवादमा परिरहे । तर सत्ताको खेलमा उनी चरिरहे ।

यो पटक पनि कांग्रेस–माओवादी गठबन्धन रहँदासम्म उनले एकीकृत समावजादी प्रवेश गर्दा पनि मन्त्री हुन पाएनन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दवाव दिंदा समेत तत्कालीन मुख्यमन्त्री पाण्डेले उनलाई मन्त्री बनाएका थिएनन् । तर अल्पमतमा परेपछि उनै मनाङेको सहारा खोजे ।

अहिले उनकै समर्थनको गजमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्री बनेका छन् । उनले पनि पहिलो क्याबिनेटमा मनाङेलाई मन्त्री बनाएर गुण तिरेका छन् ।

तर एमाले नेतृत्वको सरकार टिक्नेमा शंका छ । सभामुखलाई समेत जोडेर बहुमत पुर्‍याउनु असंवैधानिक भएको दाबी गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे अदालत जाने तयारीमा छन् । अदालतबाट आउने निर्णयबारे अनुमान गर्नु हतार होला, तर मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

राप्रपाले साथ नदिएमा सरकार जोगिने सम्भावना कम छ । किनकि सभामुखले मत दिन पाउने छैनन्, त्यो अवस्थामा अधिकारीसँग अधिकतम् ३० मत मात्र हुनेछ । नयाँ सरकार बन्ने अवस्थामा आएर मनाङे त्यतातिर लाग्नेमा शंका छैन ।

‘अस्थिर राजनीतिको फाइदा कसैले उठाएको छ भने त्यो मनाङे हो’ एमालेकै एक सांसद भन्छन्, ‘सत्ताको जोड घटाउनमा उनी जता पनि जान सक्छन् तर, मन्त्री भने बन्नैपर्छ । अझै अर्को पटक पनि मनाङे मन्त्री बने अचम्म नमाने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?