
News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले माघ महिनामा भएको सडक आन्दोलन र केबलकार विरोधको प्रभाव वर्णन गरे।
- उहाँले मुक्कुमलुङको प्राकृतिक सौन्दर्य र स्थानीय परम्पराको महत्त्वमा चर्चा गरे।
- अन्त्यमा, लेखकले विकास र परम्पराको संरक्षण आवश्यकतामा जोड दिए।
माघको ठिहीमा नङ्छुरी लागेर मेरा हात कठ्याङ्ग्रिएका थिए। झिसमिसे उज्यालैमा नाइटबसले बिर्तामोड बसपार्कमा झारिदिएको थियो। सधैं चहलपहल हुने टिकट काउन्टर सुनसान थियो। पहिले पहिले गाडीबाट झर्न नपाई ‘काँ जाने, तपाईं काँ जाने ?’ भन्दै सोध्ने चालक, सहचालकहरू त्यो दिन चुपचाप थिए ।
जब म फुङलिङ जाने गाडी खोज्न थालें तब बल्ल थाहा पाएँ, म जानुपर्ने ठाउँमा हिजैदेखि सवारी साधन आवतजावत बन्द रहेछ। मुक्कुमलुङमा केबलकार बन्ने भएपछि स्थानीयहरूले त्यसको विरोधमा हड्ताल गरेका रहेछन्। त्यसको प्रभाव ताप्लेजुङमा मात्रै होइन पाँचथर, इलाम र झापासम्मै परेको रहेछ।
मलाई स्थानीयहरूको विरोधसँग कुनै लिनुदिनु थिएन न त केबलकार बन्नु नबन्नुमा कुनै रुचि थियो। मलाई त मात्रै समयमै कार्यक्षेत्रमा पुग्नु थियो। बिर्तामोड बसपार्कमा कहिले यता त कहिले उता गरिरहेको थिएँ। मैले त्यहाँबाट फुङलिङ पुग्ने केही उपाय वा साधन पाइएला भन्ने आशा गरेको थिएँ। कहिले काउन्टरमा त कहिले पार्किङ गरिराखेका
बोलेरोतिर पुगेर मैले दुई घण्टा बिताएँ। तथापि निराशा बाहेक केही मिलेन।
खबर मिल्यो, ‘फुङलिङमा त आगो बलेको छ रे !’
‘बिहानैदेखि स्थानीयहरू आन्दोलनमा उत्रिएका छन्। कुनै हालतमा पाथीभरामा केबलकार बन्न नदिने रे !’ ‘ल बदाम आयो, बदाम’ भन्दै आएको सेतै कपाल र दाह्री फुलेका बुढासँग बदाम किनेर म कुत्रुक–कुत्रुक खान थालें।
एकछिनपछि नजिकैको होटलमा गएँ र विना चिनीको चिया पिउन थालें । बानी परेपछि खल्लो चिया पनि मीठै हुँदोरहेछ। दूध डढाएर उमालेको तात्तातो चिया सुरुप्प पार्दै मैले बसपार्कतिर नियालें। बदाम बेच्ने बुढा, जता जता मान्छे छन् त्यतैत्यतै जान्थे। चालक र सहचालकहरू गलल्ल हाँस्दै कुरा गर्दै थिए। सार्वजनिक शौचालयको अगाडि
प्लाष्टिकको रङ खुइलिएको कुर्सीमा बसेर एउटी किशोरी मोबाइल चलाउँदै थिइन् ।
‘सर कहाँसम्म जाने हो ?’ वेटरले मलाई सोध्यो।
‘फुङलिङसम्म जानुपर्ने भाइ, कहिलेसम्म खुल्ला भाइ ?’ उसैले बन्द गरेको र खुलाउने पनि उही हो जसरी मैले बुझ्न खोजें।
‘अनिश्चितकालीन बन्द हो सर, खुल्ने कुनै टुङ्गो छैन’, उसले दृढ भएर दिएको उत्तरले म अक्क न बक्क भइगएँ।
‘सर, अहिले माथि नजानुस्, बरू घरै फर्किनुस्..’ वेटरले कप उठाउँदै थप्यो।
‘होइन भाइ, कहिले जानु, कहिले आउनू ? फेरि मेरो त बिदा सकियो, जसरी नि भोलि त अफिस पुग्नुपर्छ’, मैले आफ्नो विवसता ओकलें ।
‘त्यसो भए त खर्च हुने भो सर !’ उसले हाँस्दै भन्यो।
मैले सोचें, ‘होटलमा बसेपछि खर्च त बढ्ने भइगयो नि !’
ऊ फेरि मेरो नजिक आयो र भन्यो, ‘बाइकमा जानुस् सर, बाइकलाई रोक्दैन।’
‘बाइक ! कसको छ र बाइक ? तिमी मिलाउन सक्छौ ?’ मैले सोधें।
‘पैसाको लागि यहाँ के गर्दैनन् र सर ! म बोलाइदिऊँ बाइकवाला ?’
‘कति लिन्छ ?’
‘त्यो त उसैलाई सोध्नुस् न। बोलाइदिऊँ ?’
‘बोलाऊ न त।’
बाइकको पछाडि बसेर म गन्तव्यतिर लागें।
बुधबारे पुगेपछि हामीलाई रोकियो । हातमा प्लेकार्ड बोकेर केही युवाहरू चिच्याइरहेका थिए, ‘केबलकार चाहिँदैन, चाहिँदैन !’
उनीहरूले काँ जान लागेको ? जान मिल्दैन … भनेर केरकार गरे। बाइक चालक भाइले दिएको उत्तरले चित्त नबुझाएर हो कि मलाई नि केही प्रश्न सोधे।
सोचें, ‘जान दिंदैनन् कि क्या हो ! अलिकति मिलाएर कुरो गर्नुपर्यो।’
‘त्यहीं इलामसम्म मात्रै हो। अर्जेन्ट छ। तपाईंहरूको आन्दोलनप्रति मेरो पनि समर्थन छ।’
बल्ल उनीहरूले जान दिए । बाटो खाली थियो। त्यसैले हामी तीव्र गतिमा अगाडि बढ्यौं।
ठाउँठाउँमा चिया पिउन, खाजा खान रोकियौं। थाहा भयो, इलाम, राँके र फिदिमबाट तराई झर्नुपर्ने मानिसहरू त्यतै रोकिएका रहेछन्।
फुङलिङमा आन्दोलनको रापताप निकै चर्किएको रहेछ। गएको राति नो केबलकार समूहले मसाल जुलुस निकालेको रहेछ। केही उग्र युवाहरूले मसालको पुल्ठो व्यक्तिका घर र बैंक ताकेर हानेका रहेछन्। धन्न आगलागी भने हुन पाएनछ।
‘मुक्कुमलुङ बचाउन हामी एक हौं, एक हौं !’
‘आदिवासी माथिको ज्यादती बन्द गर, बन्द गर !’
‘प्रहरी ज्यादती बन्द गर, बन्द गर !’
‘आदिवासी एकता जिन्दाबाद, जिन्दाबाद !’ आदि जस्ता गगनभेदी नारा लगाउँदै स्थानीय आदिवासीहरू सडकमा उत्रिएका रहेछन्। एकछिन त सडकपेटीमा बसेर म आन्दोलनकारीहरूलाई हेरेको हेर्यै भएँ।
ढुङ्गा टिपेर प्रहरीलाई ताकिरहेका आन्दोलनकारीहरूको जोश थामिनसक्नुको थियो । इलामको माङ्सेबुङ, पाँचथरको हिलिहाङ र कञ्चनजङ्घाको फेदी फक्ताङलुङदेखि मान्छेहरू आएका रहेछन्।
हुरीझैं हल्ला फैलियो, ‘फुङलिङ बजारदेखि केबलकारको बेस स्टेशन काफ्लेपाटीसम्म कर्फ्यू लाग्यो रे !’
म डराउँदै छिट्छिटो कोठामा पुगें र चैनको सास फेरें। कोठाको झ्याल आधा खोलें र आधा मुन्टो बाहिर निकालेर बाहिर हेर्न थालें। स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम राख्न भन्दै निषेधाज्ञा जारी गरे पनि आन्दोलनकारीहरूले टेरपुच्छर लगाएका थिएनन्। प्रहरीहरू उनीहरूलाई रोक्न खोज्थे। के मान्थे ! उल्टै प्रहरीमाथि ढुङ्गा टिपेर बर्साउन थाले।
‘मुन्धुमी धार्मिक स्थलको अतिक्रमण बन्द गर’, ‘मुक्कुमलुङमा सैन्यकरण बन्द गर !’
‘असक्षम सिडियोलाई कारबाही गर, कारबाही गर !’, ‘केबलकार खारेज गर !’ भन्दै, चिच्याउँदै आदिवासी किरातहरू उफ्रिरहेका थिए।
प्रहरीले अश्रुग्यास छोड्यो, मान्छेहरू आँशु पुछ्दै तितरबितर भए र छिनमै जम्मा भइहाले। उस्तै उग्र नाराहरू घन्काउन थाले।
अचानक गोली पड्केको आवाज आयो, ‘गड्याम्म, गड्याम्म’ !
आन्दोलनकारीहरूको भागदौड भयो।
केहीबेरमै आन्दोलनकारीहरू पुन: भेला भएर बीच सडकमा आगो बालेर चर्का नाराहरू लगाउन थालिहाले, ‘राज्य आतंक बन्द गर’, ‘अक्षम गृहमन्त्री राजीनामा दे’, ‘अक्षम सिडियोलाई बर्खास्त गर’, …..!
दिनप्रतिदिन आन्दोलन झन् उग्र हुँदै गइरहेको थियो। केही दिन निकै चासोपूर्वक हेरें मैले पनि। यताबाट उता घुम्दै, छलिंदै र भौंतारिंदै। केन्द्रबाट आदिवासी जातिका नेता, मधेशी नेता आएर आन्दोलनकारीको रगत उमाल्ने भाषण गरे र फर्किए।
शनिबार बिहान बिउँझिनेबित्तिकै मलाई पाथीभरा माताको दर्शन गर्न मन लाग्यो । केबलकार नबनिकन मुक्कुमलुङलाई आँखाभित्र सजाउने उत्कट चाहले मलाई तान्यो । यदि बनिहाल्यो भने त यसको प्राकृतिक सुन्दरता रहला नरहला ! कृत्रिम सौन्दर्यले ढाकेपछि यहाँको मौलिकता चुँडिएको फूल जसरी ओइलाउँदै जाला !
यस्तै सोच्दै, सम्झँदै म काफ्लेपाटीबाट उकालो लागें। तीन घण्टा पैदल हिँडिसकेको मलाई थकाइले भने गाँजिसकेको थिएन। छ्याङ्ग खुलेको आकाशतिर हेरें, सीमाहीन आकाश जस्तै चिसोको पनि सीमा छैन कि जस्तै लाग्यो मलाई। घाम पनि यति चिसो हुन्छ र थाहा थिएन। बल्ल थाहा भयो। अन्यत्र थाहा नभएका धेरै कुरा मुक्कुमलुङमै थाहा हुने रहेछ।
चुन्द्रीमा हालेर ढाडमा बूढीआमालाई बोकेर एउटा भरिया ओरालो झर्दै थिए । ढुङ्गेनी उकालो बाटो थियो। माथ्लो फेदीमा पुगेपछि म सुस्ताउन एकछिन् बसें। त्यहाँ पनि पिठ्युँमा बोकेर/बोकिएर माताकोमा पुग्ने र फर्किनेहरू थिए।
मलाई पनि पाथीभरा दर्शन गर्न एकपटक बूढीआमालाई ल्याउन मन लागेको थियो । सायद, रोगले खोक्रो बन्दै गएकी बूढीआमा यो चार–पाँच किलोमिटर उकालो हिंड्न सक्दिनन् । त्यही भएर भरियाहरूसँग कुरा गर्न मन लाग्यो, ‘दाजु, काफ्लेपाटीदेखि मन्दिरसम्म पुर्याएको कति लिनुहुन्छ ?’
‘त्यो त वेट हेरेर हुन्छ’, थाकेका दाइले छोटो उत्तर दिए। लागेको होला, यो अहिले मेरो ग्राहक होइन।
‘अलि बुझिनँ दाजु, राम्रोसँग बुझाइदिनु न है’, मैले विनम्र अनुरोध गरें। त्यसपछि उनले मलाई मजाले बुझाए, शब्दशक्ति र सम्मानको उपज होला शायद ।
‘साठी–सत्तरी किलोको मान्छे छ भने किलोको एक सयदेखि डेढ सयसम्म लिन्छौं। त्यहाँदेखि माथि वेट छ भने किलोको दुई सय लिन्छौं। अप एण्ड डाउनको हो है फेरि !’
अङ्ग्रेजी मिसाएर भरिया दाइले जवाफ दिए। पर्यटकहरूको संगतले होला । मैले मुन्टो हल्लाउँदै मनमनै हिसाब गरें, ‘आमालाई ल्याउँदा छ–सात हजार त लाग्नेरहेछ।’
यहाँभन्दा माथि होटल पसल केही पाइन्न रै’छ । पानी पनि नपाइने जानकारी बोर्डमा लेखिएको थियो । प्रहरी चौकीमा नाम लेखाएर मात्रै जान पाइने रहेछ। यात्रुहरूको सुविस्ताको लागि ठाँउठाउँमा प्रतीक्षालय बनाइएको थियो । कति मिटर उचाइमा आइपुगियो, माताको मन्दिरमा पुग्न कति समय लाग्छ सोको जानकारी समेत दिइएको रहेछ ।
पहिले आउँदा विभिन्न रङका गुराँस फुलेका थिए। अहिले त गुराँस फुल्ने समय पनि होइन तर फुल्नका लागि पर्खिरहेका गुराँसका बोट काटिएका रहेछन्। गुराँसका ठुटा आँखामा बिझाएर औंलाले कोसमा मिचें। निकैबेर दुखिरह्यो ।
थकित भएको म माताको मन्दिरमा पुगेपछि भने फुर्तिलो बनेको थिएँ। त्यहाँ पुग्दा अनायासै हृदय झङ्कृत भइदियो । आफूलाई कतै स्वर्गको एक टुक्रामा छु कि झैं आभास हुन थाल्यो। माताको दर्शन गर्दै मैले पुजारीसँग निकै कुरा गरें । देवी माताको बारेमा मैले धेरै कुरा थाहा पाएँ। आन्दोलनको कारण टाढाबाट दर्शनार्थीहरू नआएकाले चहलपहल निकै कम थियो ।
उकालो चढ्दा भन्दा ओरालो झर्न आधा समय मात्रै लाग्यो । कोठामा आएर निकै घोत्लिएँ, ‘मुक्कमलुङमा केबलकार बनाउनुपर्छ भन्ने र बन्नै हुँदैन भन्ने कुन पक्ष र तर्क ठिक छ ?’
निकै चिन्तन गरेपछि मैले सोचें, ‘मैले केबलकार बन्नुपर्छ भने पनि बन्नुहुँदैन भने पनि हुन्छ चाहिं के ? बनाउन सरकार पूरा शक्तिका साथ लागिपरेको छ। अश्रुग्यास र गोली बर्साइरहेको छ । उता आन्दोलनकारीहरू केबलकार चाहिंदैन भन्दै ज्यानको बाजी थापेर सडकमा उत्रिएका छन् । बन्द, हड्ताल, मसाल जुलुस र विभिन्न अभियान चलाइराखेका छन् ।
बुढापाका र असहायहरूलाई बोकेर भरियाहरूले जीविका चलाइराखेका छन्। तल्लो फेदीदेखि माथ्लो फेदीसम्म स–साना व्यापार व्यवसाय गर्नेहरूले पनि सेवाको साथसाथै अर्थोपार्जन गरिरहेकै छन् । फेरि केबलकार बनेपछि भरियालाई एक पैसा दिनु पनि पर्दैन । हिम्मत हारेकाहरू आशा बोकेर दर्शन गर्न आउने थिए होला !’
पाथीभराको ऐतिहासिकता के रहेछ ! त्यसबारे खोजी गर्न मन लाग्यो । स्थानीय बूढापाकाहरूका किंवदन्ती सुन्दा यस्ता कुरा थाहा पाएँ, ‘परापूर्व कालमा भेडा गोठालाहरूले स्थापना गरेको विश्वास, आस्था एवम् अलौकिक शक्तिकी देवी पाथीभरा शक्ति उपासकहरूको लागि विशेष छ।
हिंडाइ र बसाइ जतिसुकै कष्टदायी भए पनि पुगेपछि भने कल्पनातीत स्वर्गको आभास भई यात्राको दुःख, कष्ट सबै क्षणभरमै भुलिन्छ।’ त्यहाँबाट कञ्चनजङ्घा, फक्ताङलुङ, काङबाचेन, मकालु, नोत्से र डोम हिमालको दृश्यावलोकन गर्दै गर्दा यस्तो आभास स्वयं गरेको थिएँ।
अन्न भरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा उत्पत्ति हुनाले यसको महिमा गाएर सकिंदैन। लिम्बू समुदायमा पाथीभरालाई शक्तिको स्रोतको रूपमा लिने गरिन्छ। उनीहरूको भाषामा ‘मुकुम’ को अर्थ शक्ति वा बल र ‘लुङ’ को अर्थ ढुङ्गा हुँदोरहेछ। देवीको मन्दिर भवन नबने पनि किरातहरूले भने आफ्नै शैलीमा मन्दिर बनाएका रहेछन्, जसको प्राङ्गणमा महागुरु फाल्गुनन्दको प्रतिमा रहेछ।
यस्तै मन मन्थन गर्दै म ढल्किएँ। खै कसले हो मलाई चर्को स्वरमा सोध्यो, ‘तेरो कित्ता क्लियर गर्, न यताको न उताको पानीलौरो बनेर नबस्।’
हुट्टिट्याउँले आकाश थाम्ने कोसिस गरे झैं मैले पनि केही त गर्नैपर्छ। म जिउँदो लास बनेर बाँच्न चाहन्नँ। मभित्र अझै मानवता जीवित छ। मैले यस्तो महसुस गरें।
काठमाडौं छोडेको यो महिना दिनमा म, म रहिनँ । मुक्कुमलुङ कसैको पेवा होइन, यहाँ सबै किसिमका फूलहरू फुल्न पाउनुपर्छ। सबैको सहअस्तित्व स्वीकार गर्नुपर्छ । प्राकृतिक सम्पदा र मौलिक संस्कृति पनि जोगाउनुपर्छ । त्यसलाई जोगाउँदै विकास र समृद्धिको मार्गप्रशस्त पनि गर्नुपर्छ।
म सम्झनाको तरेलीमा बहँदै गएँ। चटक्क भुल्न नसक्ने गरी सुविधाभोगी पुस्ता जबरजस्त रूपले अघि बढिरहेको छ। जीवनयापन गर्ने सवालमा भौतिक र कुरामा प्रगतिशीलताको जमाना आएको छ।
पुस–माघको कठ्याङ्ग्रिदो ठण्डी र जेठ असारको प्रचण्ड गर्मी सधैं उस्तै रहँदैन। समय शून्य छ तर समयले छोडेका खत र चिह्नहरू पछिसम्म रहिरहन्छन्।
प्रतिक्रिया 4