
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत छ।
- बागमती प्रदेशले ३६.५२ प्रतिशत योगदान र २२ खर्ब ३० अर्ब रुपैयाँको अर्थतन्त्रको आकार रहेको अनुमान गरिएको छ।
- प्रदेशगत प्रतिव्यक्ति आयमा बागमती सबैभन्दा उच्च र मधेस सबैभन्दा कम रहेको देखिन्छ।
१२ जेठ, काठमाडौं । सात प्रदेशमध्ये गण्डकीको अर्थतन्त्र सबैभन्दा धेरै विस्तार भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर ५.५१ प्रतिशत छ । यो अन्य प्रदेशको तुलनामा धेरै हो । साथै, मुलुकको कुल आर्थिक वृद्धिदरको तुलनामा समेत माथि हो ।
चालु आव मुलुकको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने अनुमान कार्यालयले गरेको छ । प्रदेशगत आर्थिक वृद्धिदरको आँकडा हेर्दा दोस्रो स्थानमा बागमती प्रदेश छ । यस प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत हुने अनुमान कार्यालयले गरेको छ ।
५ प्रतिशतभन्दा माथिको अर्थतन्त्र विस्तार हुने यी दुई प्रदेशमात्र हुन् । तेस्रो स्थानमा कर्णाली छ । यसको वृद्धिदर ४.७४ प्रतिशत रहने अनुमान कार्यालय गरेको छ । चौथो स्थानमा लुम्बिनी छ । यसको ४.७० प्रतिशत वृद्धिदर छ ।
त्यस्तै मधेस पाँचौं स्थानमा छ । यसको ४.५० प्रतिशत वृद्धिदर हुने अनुमान छ । छैटौं स्थानमा कोशी रहने अनुमान छ । यसको वृद्धिदर ३.३४ प्रतिशत रहने अनुमान छ । सातौं स्थानमा सुदूरपश्चिम छ । जसको वृद्धिदर ३.३२ प्रतिशत छ ।
तथ्यांक अनुसार राष्ट्रिय औसतको तुलनामा चार प्रदेशको वृद्धिदर माथि छ भने तीन प्रदेशको तल रहन गएको छ । अघिल्लो आवको तुलनामा भने सबै प्रदेशको वृद्धिदर बढेको देखिन्छ । अघिल्लो वर्ष कोशी देखि सुदूरपश्चिमसम्मका प्रदेशको क्रमशः ३.३१, ३.७४, ३.७०, ३.८०, ३.९४, ३.२६, ३.२८ र ३.६७ प्रतिशतको वृद्धिदर देखिएको थियो ।
यस वर्ष सबै प्रदेशका सबै क्षेत्रको वृद्धिदर धनात्मक देखिएको छ । राष्ट्रिय स्तरमा सबैभन्दा ठूलो वृद्धिदर विद्युत् तथा ग्यासको छ । प्रदेश स्तरमा हेर्दा लुम्बिनी र कर्णालीबाहेक अन्य सबैमा यही क्षेत्रको वृद्धिदर माथि रहेको कार्यालयले जनाएको छ ।
अर्थतन्त्रमा बागमतीको एक्लैको योगदान एक तिहाइमाथि
बागमती प्रदेश एक्लैले नेपालको अर्थतन्त्रमा एक तिहाइभन्दा बढी योगदान गरिरहेको पाइएको छ । चालु आव २०८१/८२ मा बागमती प्रदेशले ३६.५२ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । यस आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ६१ खर्ब ७ अर्ब हुने अनुमान कार्यालयले गरेको छ ।
त्यसमा बागमतीको हिस्सा २२ खर्ब ३० अर्ब बराबर छ । दोस्रो स्थानमा कोशी छ । कोशीले १५.९० प्रतिशत हिस्सा ओगट्ने अनुमान छ । यस प्रदेशले ९ खर्ब ७१ अर्ब बराबर हिस्सा ओगटेको अनुमान कार्यालयको छ ।
तेस्रो स्थानमा लुम्बिनी छ । यसले अर्थतन्त्रमा १४.२३ प्रतिशत हिस्सा ओगट्छ । मधेसले १३.१६, गण्डकी ८.९८, सुदूरपश्चिम ७.०३ र कर्णालीले ४.१९ प्रतिशत हिस्सा आगेटेको कार्यालयको तथ्यांक छ ।
लुम्बिनीको अर्थतन्त्रको आकार ८ अर्ब ६९ अर्ब, मधेस ८ खर्ब ४ अर्ब, गण्डकी ५ खर्ब ४८ अर्ब, सुदूरपश्चिम ४ खर्ब ३० अर्ब र कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ५६ अर्ब रुपैयाँ बराबर छ ।
बागमती बाहेक सबै प्रदेशमा अर्थतन्त्रको मुख्य आधार कृषि
नेपालका प्रदेशमध्ये बागमती बाहेकका सबैमा अर्थतन्त्रको मुख्य खम्बा कृषि रहेको पाइएको छ । बाँकी ६ प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै देखिएको छ । बागमतीमा भने थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा अगाडि छ ।
राष्ट्रिय स्तरमा दोस्रो स्थानमा रहेको व्यापार क्षेत्र कोशी र मधेसको पनि दोस्रो स्थानमा छ । बागमतीमा भने दोस्रो स्थानमा घरजग्गा कारोबार छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने सार्वजनिक प्रशासन र रक्षा दोस्रो स्थानमा छ । बागमतीमा पानी आपूर्ति र फोहोर व्यवस्थापनको हिस्सा सबैभन्दा कम छ । मधेस र कर्णालीमा खानी तथा उत्खननको हिस्सा कम छ ।
कुन प्रदेशको अर्थतन्त्र कस्तो ?
कोशी प्रदेशको अर्थतन्त्रमा कृषि, वन र मत्स्य क्षेत्रको योगदान ३४.०५ प्रतिशत छ । यसको योगदान गत आवको तुलनामा बढेको पाइएको छ । सबैभन्दा धेरै वृद्धिदर भने विद्युत् तथा ग्यासको ९.३६ प्रतिशत छ । मधेसमा कृषिको योगदान ३६.७३ प्रतिशत रहने अनुमान छ । सबैभन्दा धेरै वृद्धिदर विद्युत् र ग्यास क्षेत्रको ९.८३ प्रतिशत रहने अनुमान छ ।
बागमतीमा थोक तथा खुद्रा व्यापारले सबैभन्दा धेरै २२.५५ प्रतिशत योगदान गर्छ । सबैभन्दा धेरै वृद्धिदर विद्युत् र ग्यासको १९.९५ प्रतिशत छ ।
गण्डकीमा कृषिको योगदान पहिलो स्थानमा (२७.१० प्रतिशत) छ । सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यासको १३.१२ प्रतिशत छ । लुम्बिनीमा सबैभन्दा धेरै योगदान कृषिको ३१.०२ प्रतिशत छ । यस प्रदेशमा सबैभन्दा धेरै वृद्धिदर यातायात तथा भण्डारण क्षेत्रको ९.७० प्रतिशत छ ।
त्यस्तै कर्णालीमा सबैभन्दा धेरै योगदान कृषिको ३०.१ प्रतिशत छ । सबैभन्दा धेरै वृद्धिदर यातायात तथा भण्डारण क्षेत्रको १०.५४ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो योगदान कृषिको ३४.७२ प्रतिशत छ । बढी वृद्धिदर विद्युत् तथा ग्यासको ८.७३ प्रतिशत छ ।
प्रतिव्यक्ति आयमा ठूलो असमानता
प्रदेशगत प्रतिव्यक्ति आय हेर्दा भने ठूलो असमानता देखिन्छ । यस आवमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन बागमतीमा सबैभन्दा धेरै र सबैभन्दा कम मधेसको देखिन्छ । त्यसो त अर्थतन्त्रमा योगदान समेत बागमतीको धेरै छ ।
यस वर्ष बागमतीको २ हजार ६ सय २ अमेरिकी डलर प्रतिव्यक्ति आय रहने अनुमान छ । राष्ट्रिय तहमा प्रतिव्यक्ति आय १ हजा ४ सय ९६ डलर छ । दोस्रो स्थानमा गण्डकी छ ।
यसको १ हजार ६ सय १९, कोशी १ हजार ४ सय १, लुम्बिनी १ हजार २ सय १, सुदूरपश्चिम १ हजार १ सय ५३ र कर्णालीको १ हजार ८९ रहने अनुमान छ । सबैभन्दा कम मधेसको ९ सय ३२ डलर रहने अनुमान छ ।
प्रतिक्रिया 4