 
																			४ चैत, चितवन । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माविमा राहत करार शिक्षक नियुक्तिको विज्ञापनमा बदनियतको शंका गरिएको छ । सोही शंका बमोजिम भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले विद्यालयलाई सो विज्ञापनबाट शिक्षक नियुक्ति प्रक्रिया रोक्न निर्देशन दिएको छ ।
विद्यालयले गत फागुन १४ गते १५ दिनको म्याद राखेर प्राथमिक तह तृतीय राहत करार शिक्षक (अनुदान) को विज्ञापन प्रकाशन गरेको थियो । तर, सो विज्ञापन संशोधन गरेर सोही पदमा फागुन ३० गते नयाँ विज्ञापन प्रकाशन गरेपछि विद्यालयले बदनियत राखेको देखिएको भन्दै भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले विद्यालयलाई सो रोक्न आग्रह गरेको हो ।
महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले पुरानो विज्ञापनको म्याद सकिएपछि त्यसलाई विना कारण रोकेर नयाँ संशोधित विज्ञापन प्रकाशन गर्नुको कारण माग गरिएको तर, विद्यालयले रोक्छु भने पनि नरोकेको बताए ।
विद्यालयले फागुन १४ मा नै एक जना बालविकास शिक्षकको पनि विज्ञापन गरेको थियो । तर, एउटै मितिमा प्रकाशित विज्ञापनमध्ये प्राथमिक तहको नयाँ विज्ञापन निकालेर बालविकास शिक्षकको मात्रै नियुक्ति प्रक्रिया अगाडि बढाएपछि महानगरले बालविकास शिक्षकको विज्ञापन पनि रोक्न भनेको छ ।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख पौडेलले विद्यालयलाई मौखिक रुपमा पुरानो मितिको विज्ञापन अनुसार नै शिक्षक चयन गर्न भनिएको तर अहिलेसम्म नगरेकाले आज (आइतबार) नै पत्र पठाउने तयारी गरिएको बताए ।
महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पनि संशोधन भन्दै नयाँ विज्ञापन प्रकाशन गरिएकोमा असन्तुष्टि जनाउँदै पुरानै विज्ञापन अनुसार गर्न विद्यालयलाई आग्रह गरेका छन् ।
पुरानो विज्ञापनमा पर्याप्त दरखास्तहरु परे पनि विद्यालय व्यवस्थापन समितिले निश्चित व्यक्तिको अनुहार हेरेर विज्ञापन रद्द गरेको विद्यालयका एक शिक्षकले बताए ।
शिक्षा सेवा नियमावली २०५९ को नवौं संशाेधन २०७७ को नियम ९७ को उपनियम १ मा स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ति हुन नसकी तत्काल करार शिक्षक नियुक्ति गर्नुपर्ने भएमा व्यवस्थापन समितिले शिक्षा विकास तथा समन्वय इकाइ मार्फत शिक्षक सेवा आयोगबाट करार नियुक्तिका लागि प्रकाशित भएको सूचीको प्राथमिकता क्रम अनुसार गर्नुपर्ने व्यवस्था छ ।
शिक्षक सेवा आयोगबाट करार सूचीमा रहेका आवेदकहरूले निवेदन दिएमा प्राथमिकतामा आधारमा विद्यालयले यस्ता आवेदकलाई स्वतः नियुक्ति दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
विद्यालयमा २ जना करार सूचीमा रहेका शिक्षक र बाँकी अन्यले आवेदन दिएका छन् । यस नियम बमोजिम विद्यालयले शिक्षक नियुक्ति नगरे शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले यस्तो नियुक्ति बदर गर्ने सक्ने सोही नियमको दफा १० मा उल्लेख गरिएको छ । ‘नियमसंगत तरिकाबाट भएको विज्ञापन र परेको आवेदनमाथि प्रकृया सुरु नगरेर नयाँ विज्ञापन किन गरिएको हो भन्ने कुरा विद्यालयले खुलाएको छैन, आलटाल कुरा गरेको छ’ महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख पौडेलले भने, ‘दोस्रोपटक पुनः विज्ञापन लिने विषयमासमेत हामीलाई जानकारी छैन ।’
विद्यालयका प्रधानाध्यापक रामजी अधिकारीले पुरानो विज्ञापनमा केही कुराहरु छुटेकाले संशोधन गरेर नयाँ विज्ञापन प्रकाशन गरिएको बताए । ‘शिक्षक सेवा आयोगको करार सूचीमा रहेकालाई प्राथमिकतामा दिने र अन्यको हकमा दस्तुर फिर्ता गर्ने भन्ने कुरा छुटेछ’ अधिकारीले भने, ‘नयाँ विज्ञापन गर्दा पहिलाको भन्दा अझै माथिल्लो योग्यताक्रम भएका करारका शिक्षक पनि आउन सक्छन् नि !’
विद्यालयका एक शिक्षकले नियमावलीमा नै उल्लेख भएका सबै कुरा विज्ञापनमा समावेश गर्न सम्भव नहुने बताए ।
विद्यालयले १५ दिनको म्याद गुजारेर मात्रै संशोधनको नयाँ सूचना निकालेको हो । ‘गल्ती नै लागेको भए १५ दिन भित्रै सच्याउनुपर्दथ्यो, सो समय कटाउनुका पछाडि नियत नै गलत हो’ ती शिक्षकले भने, ‘आवेदकहरूको अनुहार हेरेर संशोधनको सूचना निकालेको देखिन्छ ।’
सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष वडा नं. १ का वडाध्यक्ष केशव महर्जन छन् । विद्यालय व्यवस्थापन समिति चयन हुन नसकेपछि उनी नै विद्यालयको अस्थायी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् । अस्थायी समितिको म्याद चैत १२ गते सकिंदैछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4