+
+

शोकमा डुब्‍यो हतुवागढी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १३:११

४ चैत, विराटनगर । लगातार दुई दुर्घटना भोगेको भोजपुरको हतुवागढी गाउँपालिका शोकमा डुबेको छ । तीन दिनमा दुई दर्घटनामा १० जनालाई गुमाएको हतुवागढी शोकमा डुबेको हो ।

चैत १ गते उदयपुरको बेलका नगरपालिका-७ मेनामैनीमा बोलेर जीप दुर्घटना हुँदा मृत्यु भएका आठ मध्ये हतुवागढीका सात जना परेका थिए । शनिबार आगलागीमा हतुवागढी कै तीन बालबालिकाको मृत्यु भयो ।

लगातार दुई घटनाले पालिका शोकमा डुबेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । १ चैतमा पालिकाका सात जना बासिन्दाको मृत्यु भएपछि गाउँपालिकाले शुक्रबार पालिकामा शोक विदा दिएको थियो । शोक विदापछि कार्यलय खुल्न नपाउँदै अर्को शोक थपिएको अध्यक्ष राईले बताए ।

‘हतुवागढीमा कहिलेकाही ट्याक्टर दुर्घटनामा मृत्युका घटनाहरु हुन्थ्यो, एकै पटक ठूलो क्षति भएको पहिलो पटक हो,’ उनले भने,’दुई वटा घटनाले हतुवागढी अहिले शोकमा छ ।’

उनका अनुसार सवारी दुर्घटनामा ज्यान गुमाएका सात जना हतुवागढीका बासिन्दा मध्ये पाँच जना हतुवागढीमा नै बस्थे । दुई जना बाहिर बस्दै आएका थिए ।

हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा ५ वर्षीय प्रनिष कार्की, ७ वर्षकी  दीपशिखा कार्की र ३ वर्षीय दियुनिष कार्कीको मृत्यु भएको थियो । उनीहरु एकै परिवारका हुन् ।  बालबालिका खेलिरहेको ठाउँमा आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको हो । १ चैतमा उदयपुरमा बोलेर दुर्घटना हुँदा मृत्यु भएका ८  मध्ये ७ जना हतुवागढीका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा हतुवागढी गाउँपालिका-२ का ४२ वर्षीय मानबहादुर बस्नेत, ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, उनको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी-९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी-५ की ३० वर्षीया रामकुमारी राई र हतुवागढी-५ का ४२ वर्षीय किसान राईको मृत्यु भएको थियो ।

दुर्घटनामा परी हतुवागढी-२ कै ३२ वर्षीया शान्ति राई, हतुवागढी-१ का १७ वर्षीय सुनील परियार, १७ वर्षीया सविना परियारलगायत ९ जना घाइते छन् ।

अध्यक्ष राईका अनुसार आगलागीमा परी ज्यान गुमाएको परिवारलाई पालिकाले जनही ५० हजार रुपैयाँका दरले राहत रकम र केही खाद्यान्य सहयोग गरेको छ ।

सवारी  दुर्घटनमा ज्यान गुमाएको परिवारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?