 
																			४ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघको विवाद समाधान नभएपछि एकले अर्को पक्षलाई आरोप लगाएका छन् । संघको संस्थापन पक्षले विवाद समाधान भएको दाबी गरेको छ । संस्थापनइतरले भने विवाद यथावत् रहेको जनाएको छ ।
संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी ढंगले जिल्ला अध्यक्ष मनोनित गरेको भन्दै संस्थापइतरले १५ फागुनमा बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेको थियो । केन्द्रीय समिति बैठकमा एक समूह सहभागी नभएपछि एक दिन बसेर बैठक रोकिएको थियो । रोकिएको बैठक अघिल्लो साता सबै समूह सम्मिलित भएर बसे पनि औपचारिक अन्त्य भने हुन सकेको छैन ।
विवादित विषयको अध्ययन गरेर प्रतिवेदन बुझाउन कार्यदल गठन गर्ने निर्णय भएको संस्थापन पक्षका विद्यार्थी नेता नारायण पाण्डेले जानकारी गराए । सात सदस्यीय कार्यदलमा सबै समूहबाट सम्मिलित हुने भनिएपनि गठन भने गरिएको छैन । कार्यदलले कार्यसम्पादन समितिलाई प्रतिवेदन बुझाउने पाण्डेले बताए । तर, कार्यसम्पादन समिति नै भएको छैन ।
संघमा विवाद समाधान हुने गरी प्रक्रिया अघि नबढेको संस्थापनइतरका विद्यार्थी नेताहरुले बताएका छन् । शनिबार थप गरिएका ४१ जना केन्द्रीय सदस्य एकलौटी तरिकाले थप गरिएको संस्थापइतरका विद्यार्थी नेता सुवास पौडेलले जानकारी दिए ।
‘४१ जना एक पक्षीय रुपमा थपिएको छ । संघले आफ्ना गतिविधि गर्न सकेको छैन,’ पौडेलले भने,‘संघका अध्यक्षले काम गर्न नसकेको कुरा उठाउन पार्टी सभापतिलाई सोमबार भेट्छौं ।’ तदर्थ समिति गठन गर्दा असन्तुष्ट रहेकाहरुलाई सम्मिलित गर्ने गरी शनिबार ४१ जना थपिएको संस्थापन पक्षका पाण्डेको भनाई छ ।
संघको विवादले थप अन्योलता थपेको संस्थापनइतरकी विद्यार्थी नेता प्रेमिका रानामगर बताउँछिन् । ‘विवाद मिल्यो भनेर के भनिएको हो । हामीलाई केही थाहा छैन,’ उनले भनिन्,‘व्यक्ति पिच्छेको झुण्ड बनाइसके केही हुने थाहा छैन ।’
शनिबार थपिएको सहित गरेर संघको तदर्थ समिति ७५२ जनाको बनेको छ । पार्टीको गत केन्द्रीय समिति बैठकले ६ महिनाभित्र संघको अधिवेशन गर्न निर्देशन दिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4