+
+

परशु प्रधान : विमोचनको संस्कृति भित्र्याए, क्रान्तिकारी जीवन बाँचे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ८:५१

६ चैत, काठमाडौं । नेपाली साहित्य क्षेत्रका एक शिखर स्रष्टा परशु प्रधानको निधन भएको छ । सोमबार राति काठमाडौंको नयाँबानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनको निधन भएको हो ।

लेखेर कहिल्यै नथाक्ने र सधैं चलायमान रहिरहने परशु प्रधानको सक्रियता प्रोस्टेटको शल्यक्रियापछि केही वर्षयता सुस्ताएको थियो ।

साहित्य क्षेत्रको विधाको हिसाबले उनी धेरै विधामा बाँडिएका छन् । कथा, बालकथा, निबन्ध, समीक्षा, समालोचनाबाट उनलाई धेरैले चिन्ने गरेका छन् । उनको बहुआयामिक परिचय छ । यद्यपि उनमा कथाकै आधिपत्य छ ।

सरकारी जागिर खान पूर्वतयारी गर्नेहरुले उनलाई सामान्य ज्ञान लेख्ने लेखकको रुपमा चिन्ने गर्दछन् । उनका सामान्य ज्ञान डाइजेस्ट २९ संस्करणसम्म प्रकाशित छन् । यसैगरी पुस्तक विमोचनको संस्कृति नेपालमा भित्र्याउने श्रेय पनि परशु प्रधानलाई नै जाने गर्दछ ।

त्यसैले श्रीओम श्रेष्ठ रोदनले गोरखापत्रमा उनीबारे लेखेका छन्, ‘परशु प्रधानलाई कथाकार भनेर मात्र पुग्दैन । कञ्जुस्याइँ गरेको जस्तो हुन्छ । सिद्धहस्त आख्यानपुरुष नै भन्नुपर्छ ।’

भोजपुरको माटोमा जन्मिएका धेरै सिर्जनशील व्यक्तित्वमध्ये परशु प्रधान पनि एक हुन् । २००० सालमा भोजपुरमा जन्मिएका परशु नेवारको छोरा भए पनि बाहुनकी छोरी जानुकादेवी रेग्मी (साहित्यमा कल्पना प्रधान) लाई भगाएर बिहे गरेर क्रान्तिकारी जीवनको शुरुवात गरेका थिए ।

जात नमिलाएर अन्तरजातीय विवाह गरेकाले उनलाई त्यतिबेलाको कानुन अनुसार १२ वर्ष जेल र उनकी श्रीमतीलाई ६ वर्षसम्म जेल सजाय हुन सक्थ्यो, त्यसैले आफूले मन पराएकी जानुकादेवीलाई लिएर उनी भोजपुरबाट भागेर मोरङहुँदै भारतको बनारससम्म पुगेर लुकेका थिए । २०२० साल भदौ १ गते नयाँ मुलुकी ऐन आएपछि मात्र उनी आफ्नै देशमा सार्वजनिक रुपमा हिंडडुल गर्न पाएका थिए ।

परशु प्रधानसँग संगत गरेका साहित्यकार तथा लेखक गोविन्द गिरी प्रेरणाका अनुसार उनलाई काठमाडौंसम्म डोर्‍याउने काम कवि केदारमान व्यथितले गरेका थिए । उनले व्यथितलाई पितावत् मानेका छन् । ‘गड फादर’ भनेका छन् । व्यथितले पनि परशुलाई पुत्रवत् व्यवहार र स्नेह गर्थे । व्यथितको जीवनकालभरि यो सम्बन्ध यथावत् थियो ।

भोजपुरबाट काठमाडौंसम्म डोर्‍याउने केदारमान व्यथित भए पनि काठमाडौंमा स्थापित गर्न र आर्थिक मेरुदण्डलाई सम्हाल्ने काम भने रत्न पुस्तक भण्डारले गरेको थियो । परशु प्रधान गाइड बुक लेख्दथे । जसको बर्सेनि परिमार्जित संस्करण निस्किन्थ्यो । उनले लेखेका ‘सामान्य ज्ञान डाइजेस्ट’ २९ संस्करणसम्म प्रकाशित छन् ।

सरकारी सेवा प्रवेश गर्नुअघि पूर्वतयारी गर्नेहरुका लागि त्यो अपरिहार्य पुस्तक थियो । त्यसले प्रधानलाई काठमाडौंमा जागिरे साहित्यकार भएर टिक्न त्यसले भरथेग गरेको थियो ।

विमोचनको संस्कृति भित्र्याउने श्रेय

खासमा विमोचनको संस्कृति नेपालमा भित्र्याउने श्रेय परशु प्रधानलाई जाने गोविन्द गिरी प्रेरणा बताउँछन् । उनले भारतमा पुस्तक विमोचन हुने गरेको हिन्दी अखबारमा समाचारहरु पढेका थिए । त्यसैलाई उनले नेपाल भित्र्याएका थिए ।

२०३४ सालमा प्रकाशित ऋषिराज बरालको पहिलो उपन्यास ‘भावना’ बागबजारको राम दाइको भट्टीमा विमोचन भएपछि विमोचन शब्दको व्यापक प्रयोग र विमोचन संस्कृतिको आरम्भ भएको हो । यसका सूत्रधार परशु प्रधान नै थिए । त्यस कार्यक्रममा हरि अधिकारी, ध्रुव सापकोटा लगायतका तत्कालीन समयका साहित्यकारहरुको मिल्ने जमात थियो । यसरी राम दाइको भट्टीबाट शुरु भएको विमोचन संस्कृतिको चरमोत्कर्ष पाँचतारे होटलसम्म पुग्यो ।

परशु प्रधान राष्ट्रिय समाचार समितिको जागिरे पनि हुन् । पछि उनी साझा प्रकाशनको जागिरे भए । २०२६ सालदेखि उनी प्रशासन सेवामा लागे । २०४६ सालपछि उनको जागिरे जीवन सुखद रहेन । त्यसैले उनले जागिरे जीवनबाट २०५१ सालमा अवकाश लिए । त्यसपछि उनी अझ स्वतन्त्र रुपमा साहित्य क्षेत्रमा सक्रिय रहे ।

उनले पञ्चायतकालमा हुने भ्रष्टाचारको सुन्दर कथा ‘डल्ले खोला’मा लेखेका थिए । सरकारी पदमै रहेर उनले लेखेको त्यो कथा गरिमामा छापिएको थियो । त्यसले हलचल मच्चाएको थियो ।

उनका रचना अंग्रेजी, जापानी, बंगाली लगायत भाषामा पनि छापिएका छन् । स्नातक तहको अनिवार्य अंग्रेजी विषयको पाठ्यपुस्तकमा उनले लेखेको कथा ‘टेलिग्राम अन द टेबल’ चर्चित थियो । ‘टोकियोमा लिटिल बुद्ध’बाट पारेको प्रभावलाई उनको लेखकीय जीवनका शिलालेख सरह मानिन्छन् ।

साहित्य क्षेत्रमा पी.आर. प्रधान नामले समेत चिनिने परशु प्रधानको पहिलो रचना २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने छहारीमा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा प्रकाशित भएको थियो । उनले विराटनगरस्थित वाणी प्रकाशनको एक दशकसम्म नेतृत्व गरेका थिए ।

शुरुमा उनले कविता लेख्ने गरे पनि पहिलो कविता संग्रह ‘जीवनपथ’ प्रकाशित भएपछि भने कवितालाई चटक्कै छाडेर कथालाई मूल विधाका रुपमा अपनाएका थिए ।

उनका १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । उनका बक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह प्रकाशित छन् ।

आकाश विभाजित छ र विसर्ग उपन्यास पनि प्रकाशित भएका छन् ।

प्रधानले बाल साहित्यमा पनि कलम चलाएका थिए । उनका नानीको कथा, सुनको छाती, रीताको स्कूल लगायत बालकथा संग्रह प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?