+
+
आरबीबी एनभिए महिला तथा पुरुष च्याम्पियनसिप :

३ भारतीय खेलाडी सम्मिलित एभरेष्टमाथि पुलिसको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १३:३४

६ चैत्र, काठमाडौं । आठौं आरबीबी एनभिए महिला तथा पुरुष च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसँगै ३ भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबलाई ३-२ को सेटमा रोमाञ्चक जित हात पारेको छ ।

पुलिससँग पराजित भए पनि तीन खेलमा ७ अंकका साथ एभरेष्ट क्लब समूह एबाट सेमिफाइनलमा पुगेको छ ।

पुलिसले दोस्रो, चौथो र पाँचौं सेटमा हात पारेको हो । प्रतियोगितामा पाँचौं सेटमा पुगेको यो पहिलो खेल हो ।

मंगलबार राखेप कभर्ड हलमा एभरेष्टलाई २७-२५, १८-२५ र २५-१६, २५-२७, ९-१५ ले पुलिसले हराएको हो ।

निर्णायक पाँचौं सेटमा ३-१ ले पछि परेको पुलिसले एभरेष्टको कमजोर रिसिभको फाइदा उठाउँदै १५-९ ले जित्दै खेलमा २ महत्वपूर्ण अंक थपेको छ । त्यसअघि चौथो सेट भने निकै रोमाञ्चक रह्यो ।

चौथो सेटमा पुलिस एक समय १३-८ ले अघि थियो । तर, एभरेष्टले उत्कृष्ट पुनरागमन गर्दै १६-१६ को बराबरी गरेपछि पुलिसले टाइम आउट नै लिएको थियो ।

लगातार ९ अंक जोडेपछि एभरेष्ट एक समय २१-१६ को बलियो अवस्थामा थियो । पुलिसले पुन: उत्कृष्ट पुनरागमन गर्दै २२-२२ मा पुर्‍याउँदै खेललाई पुन: प्रतिस्पर्धा गराएको थियो । पुलिसले २७-२५ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।

समूह ए मा एभरेष्ट ३ खेलमा २ मा जित र १ मा हारसहित ७ अंकका साथ शीर्ष स्थानमा छ ।

एभरेष्टमा भारतीय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सूर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसन छन् ।

पुलिस २ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी २ खेलबाट एकमा जित र एकमा हार ब्यहोर्दै ३ अंकका साथ तेस्रो स्थानमा छ ।

कर्णाली तीनै खेलमा हारका साथ बाहिरिएको छ । आज भएको पहिलो खेलमा आर्मीले कर्णालीलाई २५-१६, २५-२३ र २५-७ ले हराएको थियो ।

बुधबार पुलिस र आर्मीबीच खेल हुनेछ । उक्त खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटमा हराएमा सेमिफाइनलमा पुग्नेछ । पाँचौं सेटमा पुगेर जित्दा भने सेमिफाइनलमा पुग्न सक्ने छैन । पुलिसलाई सेमिफाइनलमा पुग्न जित वा पाँचौं सेटमा हार्दा पनि पर्याप्त हुनेछ ।

समूह बी मा न्यू डायमण्ड एक खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । एपीएफ २ खेलमा एकमा जित र एकमा हारसहित तीन अंकका साथ दोस्रो स्थानमा छ । मधेश एक खेलमा पराजित हुँदै पुछारमा छ । भोलि न्यू डायमण्ड र मधेशबीच खेल हुनेछ । उक्त नतिजापछि सेमिफाइनलमा पुग्ने समूह बी का दुई टोलीको टुङ्गो लाग्नेछ ।

पुरुषतर्फ भने १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्टस क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।

समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब छन् । समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् ।

पुरुषतर्फ हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । समूह सी बाट पुलिस समूह विजेता र बूढानीलकण्ठ भलिबल क्लब उपविजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?