+
+

सभामुखलाई सीआईबीको पत्र : विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १७:४८

७ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।

‘…बाँसबारी छाला जुत्ता कारखाना लि.को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सीआईबीको पत्रमा उल्लेख छ ।

यसअघि १८ माघमा सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए ।

बाँसबारी छालाजुत्ता कारखाना घाटामा गएको भन्दै त्यसको केही जग्गा तत्कालीन च्याम्पियन फुटवेयर कम्पनीलाई बिक्री गरिएको थियो । पछि उक्त कम्पनी बन्द भएपछि जग्गा सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको थियो । च्याम्पियन फुटवेयरमा सांसद विनोद चौधरीको पनि सेयर रहेको आधारमा सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको संसदलाई जानकारी गराएको हो ।

बाँसबारी जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?