+
+

विनोद चौधरीको बयान : बाँसबारीको जग्गा कानुन अनुसार नै ल्याएका हौं

नारायण अधिकारी नारायण अधिकारी
२०८० चैत ८ गते १६:०३

८ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा उद्योगी विनोद चौधरीले इन्कारी बयान दिएका छन् ।

उनले बाँसबारी छालाजुत्ताको सरकारी जग्गा कानुन बमोजिम नै हालको सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको बयान दिएका जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा अनुसन्धानका लागि चौधरीलाई बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बोलाएको थियो ।

उनले बिहीबार विहान ८ देखि करिब १० बजेसम्म रामशाहपथस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन् । जसमा उनले बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिको निर्णय अनुसार नै उक्त जग्गा तत्कालिन च्याम्पियन फुटवेयर प्रालि (हालको सीजी चाँदबाग रेसिडेन्सी) को नाममा आएको बयान दिएका सरकारी वकिल कार्यालय स्रोतले बतायो ।

चौधरीको बयान उधृत गर्दै स्रोतले भन्यो, ‘कानुन बमोजिम बाहेक केही पनि गडबड गरिएको छैन । सरकारको सञ्चालक समितिले निर्णय गरेकाले कानुनसम्मत ढंगले जग्गा खरिद गरिएको हो ।’

बयानका क्रममा चौधरीलाई जग्गा फिर्ता प्रक्रिया अघि बढाए मुद्दा नचल्ने भनिएको थियो । तर चौधरीले भने आफ्नो तर्फबाट कुनै गल्ती नभएकाले कानुन बमोजिम भोग्न तयार रहेको बयान दिएका स्रोतको भनाइ छ ।

चौधरीका भिनाजुसँग पनि बयान 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उद्योगी विनोद चौधरीका भिनाजु महेश अग्रवाल र भाइ वसन्त चौधरीकी पत्नी शीलासँग पनि बयान लिएको छ ।

‘मूल मुद्धालाई सपोर्ट गर्न घटना विवरण कागज गराइन्छ । उक्त जग्गाका बारेमा उहाँहरु पनि जानकार हुने भएकाले घटना विवरण कागज गराइएको हो’, सीआईबी स्रोतले भन्यो । यसअ३ि सीआईबीले बुधबार विनोदका भाइ वसन्तसँग बयान लिएको थियो ।

चक्रपथस्थित बाँसबारी छालाजुत्ताको करिब १० रोपनी जग्गा हाल सीजी चाँदबाग रेसिडेन्सीको नाममा छ । बाँसबारी छालाजुत्ताको जग्गा पहिले च्याम्पियन फुटवेयरको नाममा ल्याइएको थियो । त्यसपछि उक्त फुटवेयर बन्द भएपछि त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सीको नाममा सारिएको थियो ।

यही प्रकरणमा १८ माघमा सीआईबीले विनोदका अर्का भाइ तथा सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेर बयान लिएको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए ।

च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १ सय कित्ता शेयर थियो भने विनोदकुमार चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २–२ सय कित्ता शेयर थियो । गंगा चौधरीको नाममा १ सय कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो ।

अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिमा सञ्जय ठाकुर अध्यक्ष र सेयरधनीमा अरुण चौधरी र उनकी पत्नी छन् । अहिले जग्गाको स्वामित्व विनोद चौधरीको नाममा नभए पनि बाँसबारी छालाजुत्ताको जग्गा निजी कम्पनीमा ल्याउने क्रममा उनको संलग्नता देखिने भएकाले बयान लिइएको सीआईबीको भनाइ छ ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा मालपोतका कर्मचारी पनि दोषी हुन सक्ने भन्दै सीआईबीले मालपोतका कर्मचारीमाथि पनि अनुसन्धान अघि बढाएको छ । तर अहिलेसम्म एक जनासँग पनि सोधपुछ र बयान नलिइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।

‘अहिलेसम्मको अनुसन्धानले मालापोतका कर्मचारी पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको छ । तर पुरानो घटना भएकाले केहीको निधन भइसकेको, केहीलाई भने सम्पर्क गर्ने प्रयास भइरहेको छ’ प्रवक्ता बोगटीले भने ।

यो प्रकरणमा सीआईबीले बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको सञ्चालक समितिका चार जनाको बयान लिने तयारी गरेको छ । तर चारै जना भने फरार रहेको खुलेको छ ।

फरार हुनेहरुमा तत्कालीन सञ्चालक समितिका सदस्यहरु अर्थ र उद्योग मन्त्रालयका कर्मचारी र उद्योग विभागका कर्मचारीहरु रहेको सीआईबी स्रोतले जनाएको छ ।

बाँसबारी जग्गा प्रकरण
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?