+
+

सीआईबीलाई बयान दिएपछि विनोद चौधरीले भने-मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन पर्दैन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १०:१४
सीआईबीलाई बयान दिएपछि उद्योगी एवम् सांसद विनोद चौधरी । फोटो : आर्यन धिमाल/अनलाइनखबर

८ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले आफूमाथि राजनीतीकरण गरिएको आरोप लगाएका छन् ।

सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतीकरण गरिएको आरोप लगाएका हुन् ।

बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले भने, ‘उद्यमलाई राजनीतीकरण गर्ने, उद्यमीलाई राजनीतीकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतीकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’

यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने चौधरीको भनाइ छ ।

आफू सीआईबीमा बयानका लागि उभिंदा विश्वभर गलत सन्देश गएको बताउँदै उनले भने, ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरिका र विश्वभरिका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन ।’

आफू नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएको र आफ्नो भूमिका त्यही रुपमा अगाडि बढाएको चौधरीले बताए ।

सरकारको नाममा रहेको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा विनोद चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा गैरकानुनी रुपमा ल्याएको खुलेपछि विनोद चौधरी पनि अनुसन्धानमा तानिएका हुन् ।

सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको औपचारिक जानकारी सभामुख देवराज घिमिरेलाई पत्र लेखेरै गराएको थियो । लगत्तै बिहीबार बिहान उनी सीआईबीको सम्पर्कमा आएका थिए । उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपछि सीआईबीले सरकारी वकिलको रोहबरमा बयान लिएको हो ।

बाँसबारी जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?