+
+

राष्ट्रिय सभा र प्रतिनिधि सभाले एकैपटक अर्थमन्त्री खोज्दा …

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० चैत ७ गते १९:०७

७ चैत, काठमाडौं । बुधबार संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल थियो ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १५ मिनेमा बोलाइएको थियो । दुवै सभाको बैठक लगभग निर्धारित समयमै सुरू भयो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावलीअनुसार यो छलफलमा दुवै सभामा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । पहिले प्रतिनिधि सभामा आएका अर्थमन्त्री पुनले एक घण्टा १५ मिनेट सांसदहरूको कुरा सुनेर हिंडे ।

लगत्तै रोष्ट्रममा पुगेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले प्रि-बजेट छलफलमा अर्थमन्त्री चाहिने भन्दै सभाको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानालाई सोधिन्, ‘अर्थमन्त्री नहुँदा कसलाई सुनाउने ?’

उपसभामुख रानाले अर्थमन्त्री प्रतिनिधि राखेर बाहिर गएको बताइन् । तर सांसद लामाले राप्रपा बोल्न आउँदा अर्थमन्त्री नबसेको भन्दै असन्तुष्टि जनाइन् ।

संसद सचिवालयका कर्मचारीले अर्थमन्त्रीलाई प्रतिनिधि सभामा खोजी भएको भनी बोलाए । सचिवालयका अनुसार त्यतिबेला अर्थमन्त्री पुन राष्ट्रिय सभाको बैठकमा जाँदै थिए, प्रतिनिधि सभामा बोलाएपछि फर्किए ।

उता राष्ट्रिय सभामा पनि प्रि-बजेट छलफल हुँदा अर्थमन्त्रीको खोजी भयो । राष्ट्रिय सभामा भएको छलफल सुन्दै नसुनी अर्थमन्त्रीले कसरी जवाफ दिन्छन् भन्दै सांसदहरूले प्रश्न उठाए ।

प्रतिनिधि सभाको बैठकमा छलफल सुनिरहेका अर्थमन्त्रीलाई राष्ट्रिय सभा सचिवालयबाट फेरि खबर आयो– राष्ट्रिय सभामा बोल्ने सांसदहरूको संख्या सकिन लाग्यो, जवाफ दिन आउनुपर्‍यो ।

अर्थमन्त्री पुन प्रतिनिधि सभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीलाई प्रतिनिधि तोकेर राष्ट्रिय सभाको बैठकमा गए ।

सभाध्यक्ष गरिरहेकी उपसभामुख रानाले बैठकमा सूचना दिइन् ‘यसै विषयमाथिको छलफलबारे जवाफ दिन अर्थमन्त्री राष्ट्रिय सभामा जानुभएको छ । उहाँको प्रतिनिधिको रुपमा यहाँ कानुन न्याय तथा संसदीय मामिलामन्त्री हुनुहुन्छ ।’

त्यसबेला जनता समाजवादी पार्टी (जसपा) की सांसद रञ्जुकुमारी झा रोष्ट्रममा बोल्दै थिइन् । उपसभामुखको सूचना सुनेपछि उनले प्रतिक्रिया जनाइन्, ‘ए, ठीकै छ कानुनमन्त्री हुनुहुन्छ ।’

यता, राष्ट्रिय सभामा जवाफ दिन रोष्ट्रममा उभिएका अर्थमन्त्री पुनले सुरुमै स्पष्टीकरण दिए, ‘राष्ट्रिय सभामा भएको बहस सुन्न, सहभागी हुन र टिपोट गर्न केही व्यावहारिक कठिनाइ भयो । प्रतिनिधि सभामा थिएँ । राष्ट्रिय सभा आउन निस्केको थिएँ खोजी भएपछि बाटोबाटै फर्किएँ ।’

प्रतिनिधि सभामा जसपा सांसद झापछि बोलेका कांग्रेस सांसद रामहरि खतिवडाले फेरि अर्थमन्त्री खोजे ।

‘प्रतिनिधि सभा नियमावली अनुसार सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य छ । त्यसैले बरु म पनि वेट (पर्खिन्छु) गर्छु’, सांसद खतिवडाले अर्थमन्त्रीको उपस्थिति नभइ नबोल्ने अडान लिए ।

सांसद खतिवडाले विगतमा सम्बन्धित मन्त्रीको अनुपस्थितिमा बैठक नै स्थगित गरिएको घटना सम्झाए, ‘यो परम्परा (मन्त्री अनुपस्थित हुँदा संसद बैठक स्थगित गर्ने) २०७० को संविधान सभामा सम्बन्धित मन्त्री उपस्थित नहुँदा संसद स्थगन गरेर मन्त्री उपस्थित भएपछि चलाउने प्रचलन छ । त्यतातिर ध्यान दिइयोस् ।’

सभाध्यक्ष गरिरहेकी रानाले अर्थमन्त्री राष्ट्रिय सभामा जवाफ दिन गएको भनेर सूचना दिइएको स्मरण गरिन् ।

यस्तो समस्या मिलाउने जिम्मा संसद सचिवालयको हो भन्दै सांसद खतिवडाले अड्डी कसे, ‘सभामुख महोदय प्रतिनिधि सभामा मन्त्रीको उपस्थिति चाहियो ।’

त्यसपछि सभाध्यक्ष रानाले पनि पर्खि बस्न सुझाइन्, ‘अब पर्खि बस्ने नै होला ।’

सांसद खतिवडाले थपे, ‘ठीक छ सभामुख महोदय रातिसम्म पर्खनुहुन्छ हामी पनि पर्खन्छौं केही छैन ।’

रोष्ट्रममा उभिएका खतिवडा र सभाध्यक्ष गरिरहेकी रानाबीच केहीबेर सवालजवाफ जस्तै भयो ।

नियमावलीको नियम ६ मा प्रतिनिधि सभाको बैठकको सञ्चालन र स्थगन सम्बन्धी व्यवस्था छ । नियम ६ को उपनियम ५ मा भनिएको छ, ‘बैठक (प्रतिनिधि सभाको बैठक)मा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्नेछ ।’

सांसद खतिवडाले मन्त्रीको अनुपस्थितिमा नबोल्ने अडान लिएर बसेपछि सभाध्यक्ष गरिरहेकी उपसभामुख रानाले बोल्न आग्रह गरिन् । ‘माननीय सदस्य बोल्न सुरु गर्दै गर्नुस्, आउँदै हुनुहुन्छ । बाटोमा आइसक्नुभएको छ’, उनले भनिन् ।

सांसद खतिवडाले जवाफ फर्काए, ‘ठीक छ, म पनि बाटोसम्मै पर्खन्छु ।’

सांसद खतिवडाले नमानेपछि सभाध्यक्ष रानाले ठट्टाको शैलीमा भनिन्, ‘हुन्छ पर्खिनुहुन्छ भने खाजाको पनि व्यवस्था गरौंला पछि ।’

प्रतिनिधि सभा कक्षमा सांसदहरुबीच हाँसो गुञ्जियो ।

सांसद खतिवडाले आफूलाई खाजाको व्यवस्था गर्छु भनेकी रानालाई जवाफ फर्काए, ‘सभामुख अलिकता भोकाएजस्तो लाग्यो, त्यसको व्यवस्था गर्न हामी पनि तयार छौं । बरु संसद् कोषबाटै निर्माण गर्नुपर्छ भने पनि तयार छौं ।’

त्यसपछि अर्थमन्त्री पुन आइसकेको भन्दै सभाध्यक्ष रानाले खतिवडालाई आफ्ना कुरा राख्न आग्रह गरिन् । त्यसपछि सांसद खतिवडा प्रि-बजेट माथिको छलफलमा आफ्ना धारणाहरू राख्न थाले ।

संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले अर्थमन्त्रीको समय व्यवस्थापनमा कठिनाइ भएकामा संसद सचिवालयको दोष नरहेको बताए । उनले प्रश्न गरे, ‘सभाको बैठक कहिले राख्ने भन्ने अधिकार संसद सचिवालयलाई दिइएको छ र ?’

सभाको बैठकको समय र विषय सम्बन्धित सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने गर्छ । जसमा सभामुख, दल र सरकारका प्रतिनिधिहरु रहन्छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?