+
+

काठमाडौं महानगरमा प्रत्येक दिन पौने १० बजे विभागीय प्रमुख बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १८:४०
प्रदीप परियार

७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हरेक दिन विहान ९ः४५ बजे विभागीय प्रमुखहरूसँग प्रगति बैठक राख्ने तालिका बनाएका छन् ।

विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, यसका लागि आन्तरिक समन्वय र प्रगतिबारे थाहा पाउन यस प्रकारको तालिका बनाइएको उनले जानकारी दिए ।

‘बैठक संक्षिप्त हुनेछ । बैठक भएकै कारण काममा वा सेवा प्रवाहमा बाधा हुनेछैन । बैठकलाई औपचारिकता भन्दा विषयमा केन्द्रित गरिने छ,’ बैठक योजनाबारे उनले भने, ‘यसबाट प्राप्त हुने सूचनाले प्रगतिमा पुग्न सघाउ पुग्ने छ । यस्तै देखिएका बाधा फुकाउन सहज वातावरण बन्ने छ ।’

बुधबार उनकै कार्यकक्षमा बसेको आर्थिक वर्ष २०७९/८० को आयव्यय स्रेस्ताको अन्तिम लेखापरीक्षण, प्रारम्भिक प्रतिवेदनले औंल्याएको अवस्थाबारे विभागीय प्रमुखहरूसँग छलफल गर्दै योजना सुनाएका हुन् ।

खर्च बढाउन र बेरुजु घटाउन विभागीय प्रमुखले सक्रिय भएर काम गर्नुपर्नेमा उनको जोड छ ।

बैठकमा वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले प्रारम्भिक प्रतिवेदनका विषयमा प्रस्तुतीकरण गरेका थिए । यस्तै आन्तरिक लेखा परीक्षण एकाइ प्रमुख यादव घिमिरेले विषयसँग सम्बन्धित विगतका कामबारे जानकारी गराए ।

विभागीय प्रमुखहरूलाई वडा सहजीकरण जिम्मेवारी

बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले आजसम्ममा वडाहरूले प्राप्त गरेको वित्तीय प्रगतिको ग्राफ प्रस्तुत गरेका थिए । ‘वडाका काम महानगरबाट अलग छैनन्, अलग होइनन् । यसकारण त्यहाँको सम्भावनालाई उपयोग गर्नुपर्छ,’ उनले भने, ‘चुनौती समाधान गर्नुपर्छ । समस्या समाधान गरिदिनुपर्छ । यसका लागि एकजना विभागीय प्रमुखलाई दुइटा वडाको जिम्मेवारी दिएको छु ।’

कसलाई कुन वडाको जिम्मेवारी ?

प्रशासन विभाग प्रमुख दीपक अधिकारीलाई वडा नम्बर ६ र १६, सूचना प्रविधि विभाग प्रमुख महेश काफ्लेलाई ५ र ७, सहरी विकास विभाग प्रमुख अर्चना श्रेष्ठलाई २ र १७, कानुन तथा मानव अधिकार विभाग प्रमुख वसन्त आचार्यलाई १२ र १५, राजस्व विभाग प्रमुख ध्रुव काफ्लेलाई ८ र १४ र वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीलाई वडा नम्बर ९ र १० को जिम्मेवारी दिइएको छ ।

त्यस्तै खरिद एकाइ प्रमुख नमराज ढकाललाई वडा नम्बर ३ र ११, सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख नरेन्द्रबिलास बज्राचार्यलाई २१ र २९, योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीलाई २० र ३०, आन्तरिक लेखा परीक्षण एकाइ प्रमुख यादव घिमिरेलाई १ र ३१, वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठलाई ४ र २६ तथा सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यलाई वडा नम्बर २२ र ३२ को जिम्मेवारी दिइएको छ ।

त्यसैगरी सामाजिक विकास विभाग निमित्त प्रमुख विमला कोइरालालाई वडा नम्बर १३ र १९, सम्पदा तथा पर्यटन विभाग निमित्त प्रमुख कुमारी राईलाई २५ र २८, स्वास्थ्य विभाग निमित्त प्रमुख सजिना महर्जनलाई १८ र २७ तथा शिक्षा विभाग निमित्त प्रमुख सरस्वती पोखरेललाई वडा नम्बर २३ र २४ को जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?