+

घिउ र तेलले शरीरमा खराब कोलेस्टेरोल बढ्छ ? (भिडियो)

२०८० चैत  ८ गते १६:१९ २०८० चैत ८ गते १६:१९
घिउ र तेलले शरीरमा खराब कोलेस्टेरोल बढ्छ ? (भिडियो)

कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । रगतमा कोलेस्टेरोल हुनु सामान्य हो तर यसको मात्रा अप्राकृतिक हुन गयो भने समस्या हुनसक्छ ।

रगतमा टोटल (कुल) कोलेस्टेरोल, ट्राइग्लाइसेराइड, राम्रो कोलेस्टेरोल (हाइ डेन्सिटी लिपोप्रोटिन ‘एचडीएल’), खराब कोलेस्टेरोल (लो डेन्सिटी लिपोप्रोटिन ‘एलडीएल’) हुने गर्छ ।

यी चारवटा कोलेस्टेरोलमध्ये ‘एलडीएल’ कोलेस्टेरोललाई सबैभन्दा खराब मानिन्छ । जुन व्यक्तिको शरीरमा ‘एलडीएल’ कोलेस्टेरोल बढ्छ, त्यस व्यक्तिको रक्तनलीहरु साँघुरिंदै जाने सम्भावना बढ्छ । त्यसैले यो खराब कोलेस्टेरोल मानिन्छ । जुन व्यक्तिमा एचडीएल कोलेस्टेरोल हुन्छ, त्यस व्यक्तिका रक्तनलीहरु साँघुरिने सम्भावना कम हुन्छ । त्यसैले यसलाई राम्रो कोलेस्टेरोल मानिन्छ ।

खराब कोलेस्टेरोल बढ्ने कारण

वंशाणुगत कारण, अस्वस्थ जीवनशैली, प्रशोधित खानेकुराको अत्यधिक सेवन, व्यायामको कमी,  मोटोपन, मुटुरोग भएका व्यक्तिमा कोलेस्टेरोल बढ्ने समस्या हुनसक्छ ।

खराब कोलेस्टेरोलले शरीरमा कसरी हानि गर्छ ?

खराब कोलेस्टेरोल रक्तनलीको भित्तामा बिस्तारै जम्दै जान्छ । जसरी खानेपानीको पाइपमा लेउ लाग्दै गएर पानी बग्न गाह्रो हुँदै जान्छ, त्यसरी नै रक्तनलीभित्र चिल्लो पदार्थ जम्दै गयो भने रक्तनलीहरु साँघुरिंदै जान्छ । कुनै अवस्थामा धेरै नै साँघुरो भएको ठाउँमा रक्तप्रवाह हुन गाह्रो हुन्छ, रक्तनली पूरै बन्द हुन सक्छ । मुटुको रक्तनलीमा यस्तो हुँदा हृदयघात हुने निकै सम्भावना हुन्छ ।

घिउ, तेल खाँदा खराब कोलेस्टेरोल बढ्ने जोखिम हुन्छ ?

ठिक्क मात्रामा तेल, घिउ खाँदा खराब कोलेस्टेरोल बढ्छ भन्ने छैन । पहिले मधुमेहको समस्या, कोलेस्टेरोलको समस्या भएका व्यक्तिले घिउ, चिल्लो खान हुँदैन भन्ने थियो ।

सामान्यतया: दैनिक एक चम्चा घिउ खान मिल्छ । तर धेरै मात्रामा तेल, घिउ खाइयो सँगै गुलियो खानेकुरा, ट्रान्सफ्याटयुक्त खानेकुरा खाइयो भने त्यसले चाहिं खराब कोलेस्टेरोल बढ्छ ।

सामान्य रूपमा तेल, घिउ खाइयो र सँगै फाइबरयुक्त खानेकुरा, बोक्रा भएका फलफूल, हरियो सागसब्जी खाइयो भने खराब कोलेस्टेरोल बढ्दैन ।

राम्रो कोलेस्टेरोल (एचडएल) भनेको चाहि के हो र यसले के काम गर्छ ?

राम्रो कोलेस्टेरोल (एचडीएल)ले रक्तनलीमा बोसो जम्नबाट बचाउँछ । बढी भएको नराम्रो कोलेस्टेरोललाई कलेजोमार्फत शरीरमा निष्क्रिय बनाइदिन्छ । शरीरका कोषहरूको बनावटका लागि राम्रो खालको कोलेस्टेरोल जरुरी हुन्छ । दैनिक व्यायाम गर्ने र स्वास्थकर खानपान अपनाउँदा राम्रो कोलेस्टोल बढ्छ ।

कस्तो अवस्थामा औषधि सुरु गर्नुपर्छ ?

सामान्य स्वस्थ व्यक्तिमा नराम्रो कोलेस्टेरोल (एलडीएल) १०० मिलिग्राम प्रतिडेसिलिटर भन्दा कम हुनु राम्रो हो । कसैलाई केही दीर्घकालीन रोग लागेको छ भने ७० मिलिग्राम प्रतिडेसिलिटर भएको राम्रो हो भने मुटुको समस्या भएकाहरूमा ५० मिलिग्राम प्रतिडेसिलिटर भन्दा कम भएको राम्रो हो ।

कसैलाई मधुमेह नियन्त्रणमा छैन, मुटुको समस्या छ भने उनीहरूमा कोलेस्टेरोल नियन्त्रणमा राख्न औषधि नै खानुपर्ने हुन्छ ।

कसैलाई मधुमेहको समस्या छ वा पहिले हृदयघात भएको छ भने कोलेस्टेरोल विरुद्धको औषधि छोड्न मिल्दैन । तर कसैमा थोरै मात्रामा खराब कोलेस्टेरोल बढेर औषधि दिइएको छ भने व्यायाम र खानपान नियन्त्रण गरेर औषधि छोड्न पनि मिल्न सक्छ ।

कोलेस्टेरोल नियन्त्रण गर्न व्यायाम उपयोगी

कोलेस्टेरोल, उच्च रक्तचाप होस् या मधुमेह लगायतको समस्या हुनै नदिन र भइहाले नियन्त्रणमा राख्न खानपान र व्यायाम महत्त्वपूर्ण छ । कामकाजी व्यक्तिहरूले हामीसँग व्यायाम गर्ने समय नै छैन भन्ने गुनासो गरिरहेका हुन्छन् । तर व्यायाम भने बिहान वा बेलुका नै गर्नुपर्छ भन्ने छैन ।

बिहान बेलुका हिंड्ने फुर्सद छैन भने अफिसमा धेरै समय कुर्सीमा बसेर काम नगर्ने, उभिएर काम गर्ने, उभिएर मिटिङ गर्ने, लिफ्टको प्रयोग नगरी भर्‍याङको प्रयोग गर्ने, समय मिल्ने बित्तिकै यसो हिंडडुल गरिहाल्ने गरेर शारीरिक व्यायाम गर्न सक्छन् ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

कोलेस्टेरोल प्रा. डा. राजेन्द्र कोजु स्वास्थ्य
प्रा. डा. राजेन्द्र कोजु
लेखक
प्रा. डा. राजेन्द्र कोजु
मुटुरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २०१६ कार्डियोलोजीमा एमडी धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय