+
+

माइक्रोसफ्ट एआईका सीईओ बनेका सुलेमान को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १३:२३

काठमाडौं। प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले प्रतिस्पर्धी कम्पनी गुगल मातहतको आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान प्रयोगशालाका सहसंस्थापक मुस्ताफा सुलेमानलाई भित्र्याएको छ ।

माइक्रोसफ्टका सीईओ सत्या नादेलाले एक परिपत्र जारी गर्दै यसको जानकारी गराएका हुन् । सुलेमान नेतृत्वको टिमले माइक्रोसफ्टको उपभोक्ता एआई प्रडक्ट विभाग सम्हाल्नेछ।

माइक्रोसफ्ट एआईसँग कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित विभिन्न ठूला प्रोजेक्टहरुको जिम्मेवारी हुनेछ। त्यसमा कोपाइलट, बिंग तथा एज जस्ता प्रडक्टहरु रहेका छन् ।

त्यसका साथै सुलेमानले माइक्रोसफ्ट एआईको कार्यकारी उपाध्यक्षको पनि जिम्मेवारी सम्हाल्नेछन् र कम्पनीको वरिष्ठ नेतृत्व तहको एक सदस्यको रुपमा रहनेछन् । उक्त टिमले सिधै माइक्रोसफ्टका सिइओ नाडेलालाई रिपोर्ट गर्नेछ।

रोचक त के भने माइक्रोसफ्ट एआईको जुन सिइओ पदमा अहिले मुस्ताफा सुलेमानलाई ल्याइएको छ, उक्त पदमा यसअघि ओपन एआईका साम अल्टम्यानलार्य ल्याउने चर्चा थियो । जब ओपन एआईले च्याट जिपिटी निर्माता तथा सिइओ अल्टम्यानलाई बर्खास्त गर्‍यो तब सत्य नाडेलाले उनैलाई माइक्रोसफ्टको एआई विभागको सिइओको भूमिका अफर गरेका थिए ।

अल्टम्यानले त्यसमा सहमति पनि जनाएका थिए । तर पछि ओपन एआईले पुनः साम अल्टम्यानलाई ओपन एआईमै पुनर्बहाली गर्‍यो।

गुगल डीप माइन्डका सह सस्थापक

मुस्ताफा सुलेमानले सन् २०१० मा एआई ल्याब डीपमाइन्डको स्थापना गरेका थिए । सो स्टार्टअपलाई सन् २०१४ मा गुगलले अधिग्रहण गरेको थियो । स्मरणीय त के छ भने गुगलले डीपमाइन्डकै माध्यमबाट आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा माइक्रोसफ्टसँग टक्कर लिने प्रयासमा छ ।

यद्यपि सुलेमान पछिल्लो केही वर्षदेखि गुगलको उक्त विभागको हिस्सा थिएनन् र उनलाई सन् २०१९ मै कम्पनीले विदा दिएको थियो ।

ब्लुम्बर्गको रिपोर्ट अनुसार त्यसबेला उनका धेरै खालका प्रोजेक्टका कारण उनलाई विदामा पठाइएको थियो । गुगल र डीपमाइन्डले सुलेमानको विरुद्धमा सहकर्मी कर्मचारीहरुलाई दुख दिएको आरोपमा अनुसन्धान पनि सुरु गरेको थियो । सुलेमानले सन् २०२२ मा गुगल छाडिदिएका थिए र इन्फ्लेक्सन एआई नामक स्टार्टअप सुरु गरेका थिए।

सुलेमानसँगै उनको उक्त कम्पनीका अन्य केही कर्मचारीहरुपनि माइक्रोसफ्ट एआईमा प्रवेश गरेका छन् । जसमा इन्फ्लेक्सनका सह संस्थापक करेन सिमोन्यान पनि छन् । उनले माइक्रोसफ्टमा कन्जुमर एआई ग्रुपका प्रमुख वैज्ञानिकका रुपमा काम गर्नेछन् ।

त्यस्तै केभिन स्टक चाहिँ माइक्रोसफ्टको प्रमुख प्राविधिक अधिकृत तथा एआई महाशाखाका कार्यकारी उपाध्यक्ष बन्नेछन् ।

माइक्रोसफ्ट एआईमा नयाँ सिइओ तथा कर्मचारी भित्राएको विषयमा माइक्रोसफ्ट सिइओले भनेका छन् , ‘मैले धेरै वर्षदेखि मुस्ताफालाई चिन्दछु। डीपमाइन्ड तथा इन्फ्लेक्सनका संस्थापकको रुपमा दूरदृष्टियुक्त, प्रडक्ट निर्माता तथा उत्कृष्ट टिम बनाउने मामिलामा उनको प्रशंसा गर्दछु।’

उनी भन्छन्, ‘हामीसँग एउटा यस्तो प्रविधि बनाउने अवसर छ, जुन कुनै समयमा असम्भव मानिन्थ्यो । यो प्रविधिले हाम्रो मिसनलाई अगाडि बढाउनेछ र सबै मानिससम्म एआईका फाइदालाई सुरक्षित तथा जिम्मेवार ढंगले पुर्‍याउनेछ।’

ट्याक्सी चालकका छोरा

मुस्ताफा सुलेमानको जन्म सन् १९८४ मा भएको हो, जो एकजना बेलायती आर्टिफिसियल इन्टेलिजेन्स उद्यमी हुन् ।

सुलेमानका पिता सिरियाका एकजना ट्याक्सी चालक थिए । जबकि आमा चाहीँ बेलायती नर्स थिइन् । सुलेमानले आफ्नो सुरुवाती अध्ययन थर्नहिल प्राथमिक विद्यालयबाट गरे । उनले डेमिस हास्साबिससँग मिलेर डीपमाइन्डको सुरुवात गरेका थिए।

एआई क्षेत्रका दिग्गज सुलेमानले विश्वविद्यालयको औपचारिक अध्ययन भने केवल १९ वर्षको उमेरमै छाडेका थिए । त्यसपछि उनले टेलिफोन परामर्श सेवा मुस्लिम युथ हेल्पलाइनको सुरुवात गरे ।

उक्त संस्था समयक्रममा बेलायतस्थित मुस्लिमहरुका मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने सबैभन्दा ठूलो संस्था बन्यो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?