+
+

तराई मधेशमा दिनदिनै होलीको रौनक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते ७:२४

१२ चैत, काठमाडौं । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइएको थियो ।

पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी जिल्लाहरुमा भने आइतबार सार्वजनिक बिदा थियो ।

त्यसो त तराई मधेशमा दिनदिनै होली पर्वको रौनक छ । आइतबारदेखि सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेशमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवर्त्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू समुदायले आइतबार नै होली मनाएका छन् ।

साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा छ । यसअनुसार तराई मधेशका अधिकांश ठाउँमा सोमबार (आज) होली पर्व मनाइँदैछ ।

मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मंगलबार होली खेलिनेछ ।

स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेगमा ‘फागु पूणिर्मा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

तराई-मधेशका अधिकांश क्षेत्रमा पूणिर्माको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।

पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ-आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?