१३ फागुन, रोल्पा । रोल्पामा मंगलबार बिहान भएको जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान घोराही–होलेरी सडकखण्ड अन्तर्गत रोल्पाको रुण्टीगढी गाउँपालिका–५ र घोराही उपमहानगरपालिका–१९ को सिमाना शहीद मार्गमा पर्ने खुमबासस्थित घोराहीबाट होलेरी हुँदै परिवर्तन गाउँपालिका–३ बागमारा जाँदै गरेको लु १ ज ४८५४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर घाइते भएका १० जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ लगिएको थियोे । घाइतेको उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले एक जना घाइतेलाई बुटवल रिफर गरेको थियो । उक्त घाइतेको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा माडी गाउँपालिका–३ निवासी ६० वर्षीया भिमु राना मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए । अन्य ९ जना घाइतेको अवस्था सुधारात्मक र सामान्य रहेकोे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङका प्रमुख डा. जनार्दन पन्थीले जानकारी दिए ।
‘सबै घाइतेको अवस्था सुधारात्मक र सामान्य छ, सबै जना खतरा मुक्त हुनुहुन्छ,’ पन्थीले भने । दुर्घटनास्थलमा परिवर्तन गाउँपालिका–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4