+
+

जेएनयुमा वामपन्थी संगठनकै दबदबा, दलित समुदायका धनञ्जय बने अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते ८:२४

काठमाडौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा छात्र संघको निर्वाचनमा फेरि पनि वामपन्थीको जित भएको छ ।

जेएनयुको निर्वाचन कमिटीका अध्यक्ष शैलेन्द्र कुमारका अनुसार अध्यक्ष पदमा धनञ्जय कुमार, उपाध्यक्षमा अविजित घोष, महासचिव पदमा प्रियांशी आर्या र सचिव पदमा मोहम्मद साजिद विजयी भएका छन् ।

यसपटक पनि वामपन्थी संगठनहरु मिलेर चुनाव लडेका थिए । अध्यक्षमा विजयी धनञ्जय अल इण्डिया स्टुडेन्स एशोसिएसन (आइसा)का हुन् । उनले अर्का प्रतिस्पर्धी अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) का उम्मेदवार उमेश चन्द्र अजमिरालाई हराए । धनञ्जयले २ हजार ५९८ भोट पाउँदा उमेशचन्द्रले १ हजार ६७६ भोट पाए ।

छात्रसंघको अध्यक्ष, उपाध्यक्ष, महासचिव र संयुक्त सचिव पदमा गत शुक्रबार मतदान भएको थियो । तीमध्ये तीन पदमा वामपन्थी संगठनहरुले जिते भने एक पद बिरसा अम्बडेकर फुले स्टुडेन्ट्स एशोसिएसन (बाप्सा)ले जितेको छ ।

निर्वाचनमा वामपन्थी संगठनहरुका साथै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस), भारतीय कांग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टीका विद्यार्थी संगठनहरु पनि निर्वाचनमा थिए ।

दलित समुदायका विद्यार्थीको नेतृत्व

अध्यक्षमा विजयी धनञ्जय बिहार निवासी हुन् । उनी दलित समुदायका हुन् । उनको संगठन आइसाका अनुसार २७ वर्षपछि दलित समुदायको विद्यार्थी जेएनयु छात्र संघको अध्यक्ष बनेको हो ।

धनञ्जयका निकटतम प्रतिस्पर्धी उमेशचन्द्र नक्सलवादी समूहबाट पीडित विद्यार्थी हुन् । नक्सलवादीको आक्रमणबाट उनले आफ्ना आमा–बुवालाई गुमाएका थिए ।

जेएनयुमा चार वर्षको अन्तरालमा छात्र संघको चुनाव भएको थियो । कोभिड महामारीका कारण बीचमा चुनाव भएको थिएन । अघिल्लोपटक सन् २०१९ मा भएको चुनावमा पनि वामपन्थी संगठनकै जित भएको थियो । उक्त चुनावमा स्टुडेन्ट्स फेडरेसन अफ इन्डियाकी आइशी घोष अध्यक्ष चुनिएकी थिइन् । उनलाई वामपन्थी संगठनहरुले समर्थन गरेका थिए ।

शुक्रबार भएको मतदानमा करिब ७३ प्रतिशत भोट खसेको थियो । यो विगत १२ वर्षयताकै सबैभन्दा धेरै हो । सन् २०१९ मा भएको निर्वाचनमा ६७.८ प्रतिशत मत खसेको थियो ।

जेएनयुमा सुरुदेखि नै वामपन्थीको पकड

बीबीसी हिन्दीका अनुसार जेएनयुमा सुरुदेखि नै वामपन्थी संगठनकै दबदबा रहँदै आएको छ । हालसम्म स्टुडेन्ट्स फेडरेसन अफ इन्डियाले २२ पटक र अल इण्डिया स्टुडेन्ट्स एशोसिएसन (आइसा)ले ११ पटक अध्यक्ष पद जितेको छ ।

यसैगरी आरएसएसको छात्र संगठन एबीवीपीले केबल एकपटक मात्र अध्यक्ष पद जितेको छ । सन् २००० मा एबीवीपीका सन्दीप महापात्रा जेएनयु छात्र संघको अध्यक्ष चुनिएका थिए ।

सन् १९७१ मा जेएनयुमा पहिलोपटक छात्रसंघको चुनाव भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?