+
+

एमाले कास्की अध्यक्षमा दुई प्यानलको प्रतिस्पर्धा, अध्यक्षमा ३ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १३:०४

१३ चैत, पोखरा । नेकपा एमालेको कास्की जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्यानलसहित उम्मेदवारी परेको छ ।

अध्यक्षमा खगराज समूहबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री र पृथ्वीसुब्बा समूहबाट माधव बास्तोलाले मनोनयन गर्दा गराएका छन् । दुबै गुटभन्दा बाहिरबाट विवेक त्रिपाठीले उम्मेदवारी दिएका छन् ।

खगराज समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् ।

वैनबहादुर प्यानलबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा सन्तु सुवेदी र लालबहादुर परियार छन् भने माधब बास्तोला समूहबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ र उपसचिवमा राधिका शाही योगी र सीता विकले उम्मेदवारी दिएका छन् । उपसचिवमै प्यानल बाहेकबाट संगीता सुवेदीले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेकोे अधिवेशनमा सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएको थियो ।

अध्यक्षका उम्मेदवारहरुले आफू गुटको नभइ एमालेका प्रतिनिधिको भावनाअनुसार नेतृत्वमा दाबी गरेको बताएका छन् । अध्यक्षका उम्मेदवार बैनबहादुरले अनेरास्ववियु र पार्टीको गाउँ कमिटी, क्षेत्रीय कमिटी, कार्यालय सचिव, जिल्ला सचिव हुँदै स्वभाविक रुपमा अध्यक्षमा दाबी गर्ने ठाउँमा आफू आइपुगेको बताए ।

‘मै कुनै गुटको फुर्को समाएर उम्मेदवारी दिएको छैन । ९२५ जना प्रतिनिधिको सहानुभूति छ’, उनले भने, ‘सबै अग्रज नेताहरुको प्रिय पात्रका रुपमा चिनिएको र प्रत्येक अधिवेशनमा लोकप्रिय मत ल्याएर जित्ने व्यक्ति पनि हुँ । म सबै गुटको हुँ ।’

अर्का अध्यक्षका उम्मेदवार माधव बास्तोलाले एमाले कास्कीलाई सुदृढ गराउनका लागि नेतृत्वमा आउन चाहेको बताए । युवादेखि पार्टीका विभिन्न तहमा रहेर काम गरेको अनुभव आफूसँग रहेको र अहिले राजनीतिमा युवाको विकर्षणलाई सम्बोधन गर्न आफूले नेतृत्वका लागि मनोनय दर्ता गराएको बास्तोलाले बताए ।

‘यो गुटको प्रतिस्पर्धा भन्नुभन्दा पनि यो दुई टा समूह निर्वाचनमा गएका हुन्, म कुनै गुटबाट उठेको होइन’, बास्तोलाले भने, ‘पार्टीलाई बलियो र सुदृढ गराउन सबै प्रतिनिधिको सल्लाह तथा रायअनुसार नै उम्मेदवार बनेको हुँ ।’

अध्यक्षकै उम्मेदवार विवेक त्रिपाठी यसअघिका जिल्ला कमिटी सदस्य हुन् । उनले गुटको राजनीतिका विरुद्ध आफूले उम्मेदवारी दिएको बताए । ‘एमालेको निष्ठा र आचरण गुटका कारणले मर्दै आएको छ । प्रतिशोध यतिधेरै बनेको छ, त्यो गुटकै कारणले बनेको छ’, त्रिपाठीले भने, ‘म युवा हुँ, मसँग दृष्टिकोण छ । उम्मेदवार बन्न चाहिने योग्यता पनि मैले पूरा गरेको छु ।’

अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको गराउने तयारी भइरहेको छ । यो अधिवेशनले १२० सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्टीबाट आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?